+
+
Shares

पोहोर असोजकै अवस्थामा पुग्यो बीपी राजमार्ग, रोशीले बगायो साढे चार किलोमिटर

गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा त्यो डाइभर्सनको अधिकांश हिस्सा पनि अहिलेको बाढीले बगाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १४:४५

१९ असोज, काठमाडौं । बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डको करिब साढे चार किलोमिटर डाइभर्सन सडक रोशी खोलाको बाढीले बगाएको छ ।

गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा त्यो डाइभर्सनको अधिकांश हिस्सा पनि अहिलेको बाढीले बगाएको डिभिजन सडक कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीले बताइन् ।

उनका अनुसार यो सडक कार्यालयले हेर्ने काभ्रे चौकीडाँडादेखि बर्खेखोलासम्म १६ ठाउँमा बाढीले डाइभर्सन बगाएको छ । ती सबै ठाउँ गरेर करिब साढे तीन किलोमिटर सडक रोशीले बगाएको कार्यालयले जनाएको छ ।

त्यस्तै बर्खे खोलादेखि नेपालथोकसम्म सिन्धुली जिल्लामा पर्ने सडकमा बनेको डाइर्भसन पनि तीन ठाउँमा बगेको डिभिजन सडक कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए ।

‘बगेको ठाउँमा गएर हेर्न सक्ने अवस्था छैन । तर, गत वर्ष बाढीले राजमार्ग बगाएपछि बनाएको डाइभर्सनमध्ये सबैजसो बाढीले कटान गरेको जस्तो देखिन्छ,’ उनले भने ।

करिब ८ सय मिटर डाइभर्सन आइतबारको बाढीले बगाएको हुन सक्ने उनको भनाइ छ ।

अहिले पनि रोशी खोलामा बाढीको सतह कम नभएकाले डाइभर्सन बगेको ठाउँमा पुनर्निर्माणको काम सुरु हुन नसकेको सडक डिभिजन भक्तपुरकी सूचना अधिकारी अधिकारीले बताइन् ।

‘७२ घण्टाभित्र सडक पुन: सुचारु गर्ने गरी काम गर्ने योजना बनाएका छौं । तर, बाढी घटी नसकेकाले काम सुरु गर्न सकिएको छैन । त्यसो हुँदा कहिलेबाट बीपी राजमार्गमा सवारी खुलाउन सकिन्छ, यसै भन्न सकिन्न,’ उनले भनिन्, ‘वर्षा हुन छाडेर खोलामा बाढी घट्ने बित्तिकै काम सुरु गरिहाल्छौं ।’

बीपी राजमार्ग पुननिर्माणका लागि दुई खण्डमा ठेक्का लिएका निर्माण व्यवसायीका उपकरण पनि साइटमै रहेकाले तिनीहरू र सरकारका उपकरण समेत प्रयोग गरेर यथाशक्य चाँडो राजमार्ग खुलाइने उनले बताइन् ।

‘आज पानी परेन र बाढी घट्यो भने आजै काम थालिहाल्छौं,’ उनले भनिन् ।

गत वर्ष असोजमा बीपी राजमार्ग बाढीले बगाएपछि त्यसको मर्मतमा सरकारले ठूलो मात्रामा खर्च गरेको छ ।

सडक विभागले आफ्नै यन्त्र उपकरण प्रयोग गरी तथा आफैंले आवश्यक सामग्री खरिद गरी यो डाइभर्सन निर्माण गरेको डिभिजन सडक भक्तपुरकी सूचना अधिकारी अधिकारीले बताइन् ।

‘ठेक्का लगाएर नभई कार्यालय आफैंले डाइभर्सन निर्माण गरेको हो,’ उनले भनिन् । आफू कार्यालय बाहिर रहेकाले डाइभर्सन बनाउन लागेको खर्चबारे अहिल्यै भन्न नसक्ने उनले बताइन् ।

गत वर्ष बाढीले बगाएको बीपी राजमार्गलाई काभ्रे जिल्लामा चार खण्डमा विभाजन गरेर पुननिर्माणको तयारी थालिएको छ । तर, त्यसमध्ये दुई खण्डको मात्रै पुन: ठेक्का लागेको छ । भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्म पुननिर्माणको ठेक्का लामा–नवकान्तिपुर जेभीले पाएको छ ।

चारसयबेँसीदेखि डालाबेँसीसम्मको सडक खण्ड निर्माणको ठेक्का खानी–कमलजित–एवान निर्माण सेवाले पाएको छ । बाँकी दुई खण्डमध्ये एक खण्डको पुननिर्माण जापान सरकारले गरिदिने आश्वासन दिएको छ भने अर्को एक खण्डको ठेक्का लाग्न नै बाँकी छ ।

राजमार्गको सिन्धुली जिल्लामा पर्ने बर्खेखोला–नेपालथोक खण्ड पुननिर्माणका लागि खरीढुंगा–घिसिङ–क्षितिज जेभीले ठेक्का पाएको छ । तर, ठेक्का लागेका खण्डमा पनि पुन:निर्माणको ठोस काम सुरु हुन सकेको छैन ।

कहाँ–कहाँ बगायो रोशीले बीपी राजमार्ग ?  

क्र.सं. ठाउँ बगेको अनुमानित दूरी
माम्ती खोला ४०० मिटर
माथिल्लो माम्ती २३० मिटर
पिप्ले सिरान ८१ मिटर
तल्लो पिप्ले २३५ मिटर
माथिल्लो पिप्ले २२० मिटर
सुक्खा पहिरो पिप्ले ३५० मिटर
डालाबेँसी ४०० मिटर
कालढुंगा (भ्याकुरे खोला) १७५ मिटर
बोक्सी कुना २०० मिटर
१० चिउरी बाँसझाङ १७५ मिटर
११ नार्के ७५ मिटर
१२ गिमतीबेँसी २०० मिटर
१३ चारसयबेँसी २५० मिटर
१४ कटौनीबेँसी १५० मिटर
१५ चौकीडाँडा ३५० मिटर
१६ दाप्चा पुल ८० मिटर
१७ सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म तीन ठाउँमा ८०० मि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?