
२४ असोज, काठमाडौं । मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२ राष्ट्रिय सभामा दर्ता भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले विधेयक राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता गरेका हुन् । जसमा गृहमन्त्री अर्यालले अध्यादेशको उद्देश्य र जारी गर्नु पर्नाको कारण उल्लेख गरेका छन् ।
उनका अनुसार मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा (२) मा आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्दा आयोगबाट निर्धारित स्थान र समयमा एकै पटक वा पटक पटक हुने गरी तोक्न सक्नेछ भन्ने व्यवस्था गरिएको छ । कुनै एक गाउँपालिका वा नगरपालिकाको कुनै एक वडाको मतदाता नामावली संकलन वा अद्यावधिक गर्दा एकै पटक गर्नु पर्ने प्रावधान छ ।
प्रचलित ऐनअनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि उक्त निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिँदैनथ्यो । मतदाता नामावली संकलन तथा अद्यावधिक पनि हुँदैनथ्यो । तर, जेनजीको आन्दोलनपछि बदलिएको परिस्थितिमा प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गतेका लागि चुनावको मिति घोषणा भएको छ । यो अवस्थामा छुट भएकाको हकमा मतदाता नामावलीमा नाम दर्ता सकिने गरी अध्यादेश ल्याइएको छ ।
जेनजीले गत भदौ २३ र २४ गते आन्दोलन गरेका थिए। उक्त आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अअन्तरिम सरकार बनेको छ । कार्की नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गरेका हुन् ।
उक्त निर्वाचनमा मतदानको लागि मतदाता नामावली संकलन, दर्ता तथा त्यसको अध्यावधिक गर्नु पर्ने भएकोले मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) मा थप व्यवस्था गर्नका लागि अध्यादेश ल्याइएको हो ।
अध्यादेशमार्फत प्रतिनिधि सभाको कार्यकाल पूरा हुनु अगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा त्यस्तो निर्वाचनको प्रयोजनको लागि आयोगले अवधि तोकी मतदाता नामावली संकलन, दर्ता तथा त्यसको अध्यावधिक गर्न सक्ने प्रावधान राखिएको छ ।
अब राष्ट्रिय सभाको अधिवेशन सुरु भएपछि पहिलो बैठकमा अध्यादेश सभामा टेबुल हुनेछ ।
प्रतिक्रिया 4