+
+
Shares

‘केन्द्रीय समिति बैठक सारेर हस्ताक्षर नगर्न दबाब दिन थाले’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १५:०३

२६ असोज, काठमाडौं । पार्टी केन्द्रीय समितिको बैठक दुईदिन सारेर हस्ताक्षर नगर्न दबाब दिने कार्यमा संस्थापन पक्षका नेताहरू लागेको विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।

आजदेखि बोलाइएको केन्द्रीय समिति बैठक पर्सिसम्मका लागि स्थगित गरिएको छ ।

बैठक सारेर विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गर्नेहरूलाई फिर्ता गर्न संस्थापन पक्षले दबाब दिइरहेको महामन्त्री गगन थापानिकट केन्द्रीय सदस्य मधु आचार्यले जानकारी गराए ।

कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवशेन प्रतिनिधिले हस्ताक्षर गरेर लिखित माग गरेमा विशेष महाधिवशेन बोलाउनुपर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार दुई महामन्त्री थापा र विश्वप्रकाश निकटका नेताहरू एवं डा. शेखर कोइराला पक्षका नेता गुरुराज घिमिरेको अगुवाईमा हस्ताक्षर संकलन भइरहेको छ । केन्द्रीय समिति बैठक अघि प्रतिनिधिहरूको हस्ताक्षर बुझाउने तयारी गरिएको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूका अनुसार पूर्व पदाधिकारीको समूहका नेताहले हस्ताक्षर नगर्न वा फिर्ता गर्न भन्दै दबाब दिइरहेका छन् । सभापति शेरबहादुर देउवा अप्ठ्यारो स्थितिमा रहेका बेला नेतृत्वलाई बचाउनुपर्ने भन्दै हस्ताक्षर फिर्ता गर्न लगाइएको विशेष महाधिवशेन पक्षधर नेताहरूले जानकारी गराएका छन् ।

केन्द्रीय सदस्य आचार्यका अनुसार, हस्ताक्षर नगर्न दबाब दिनका लागि विशेष महाधिवशेनले पार्टी विभाजित हुने अर्को भय पनि प्रतिनिधिहरूलाई देखाइएको छ ।

उनका अनुसार, चुनावमा टिकट वितरण गर्ने सभापति देउवाले नै भएको हुँदा विशेष महाधिवशेन हुन नसक्ने तर्क गर्दै फिर्ता गराउन दबाब दिने कार्य भएको छ ।

विशेष महाधिवेशनका हस्ताक्षर पक्षधरले ५० प्रतिशत हस्ताक्षर पुगिसकेको दाबी गरेका छन् । केन्द्रीय समिति बैठक अघि सबै स्थानको संकलित हस्ताक्षर पेश गरिने विशेष महाधिवशेनका लागि हस्ताक्षर अभियानको अगुवाई गर्ने नेताहरूले जानकारी गराएका छन् ।

पार्टी महामन्त्री थापा र शर्माले नियमित महाधिवशेन मंसिरभित्र हुन नसके विशेष गर्नुपर्ने अडान पार्टी बैठकमा राखेका छन् । गत बुधबारदेखि जारी बैठकमा महाधिवशेनको विषयमा टुंगो लाग्न सकेको छैन ।

शीर्ष नेता र  कार्यसम्पादन समिति केन्द्रीय समिति बैठकमा पेश गर्ने साझा प्रस्तावमा सहमति जुटाउन नसकेपछि बैठक मंगलबारका लागि सारिएको छ । दुई महामन्त्री र संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षधर नियमित महाधिवेशन मंसिरमा हुनुपर्ने बताइरहेका छन् । सभापति देउवा नेतृत्वको समितिको चार वर्षे अवधि यही मंसिरमा सकिँदैछ । महामन्त्री थापाले वर्तमान समितिको अवधि नथप्ने अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?