
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संस्थापनइतरका नेता डा. शेखर कोइरालाले भेटेका छन् । दुई नेताबीचमा शनिबार भेट भएको सभापति देउवा निकट एक केन्द्रीय सदस्यले पुष्टि गरे ।
जेनजी प्रदर्शनको भोलिपल्ट निवासमा एक समूहबाट भएको कुटपिटपछि उपचाररत देउवा महाराजगञ्जस्थित एक घरमा भाडामा बसेका छन् । संस्थापन पक्षका एक नेताले कोइरालाले कार्यवाहक माग गरेको तर देउवाले उक्त पद दिन अस्वीकार गरेको दाबी गरे ।
देउवा निकट नेता भन्छन्, ‘साथीहरूसँग सल्लााह गरेर निर्णय गरौंला भन्नुभएको सभापतिले हिजोको भेटमा विधानले तपाईंलाई कार्यवाहक दिन्न भनेर स्पष्ट भनिदिनु भएको छ । विधानले पनि नमिल्ने भनिदिनुभएको छ ।’
यता, शेखर निकटका नेताहरू भने उनले कार्यवाहकको माग गर्दै नगरेको बताउँछन् । शेखर निकट एक केन्द्रीय सदस्यले भने, ‘मंसिर मसान्तसम्म नियमित महाधिवेशन हुन नसके १५ दिन थपेर भए पनि गरौं भन्ने शेखर दाइको धारणा छ । सभापति देउवासँग पनि त्यही कुरा राख्नु भएको हो ।’
देउवाले कार्यवाहक दिए पनि शेखरले अस्विकार गर्ने दाबी ती केन्द्रीय सदस्यले गरे ।
पार्टीको शीर्ष नेताको बैठकमा नेता बलबहादुर केसीले शेखरको नाम नलिई उनलाई कार्यवाहक दिनु हुने आशय व्यक्त गरेका थिए । गिरिजा प्रसाद कोइरालाले शेरबहादुरलाई ल्याएर वरिष्ठ नेता बनाएको उदाहरण पेश गर्दै केसीले कार्यवाहक तोक्दा विगतको नजिर हेर्नुपर्ने बताएका थिए ।
बैठक स्रोतका अनुसार, केसीको भनाइलाई प्रवक्ता डा. प्रकाशशरण महतले समर्थन गरेका थिए । नेता गोपालमान श्रेष्ठले वर्तमान समिति भंग गरी कार्यवाहक आफूलाई तोक्नुपर्ने विचार शीर्ष नेता बैठकमा राखेका थिए ।
पार्टीभित्र केही नेताहरू सभापति देउवाले कार्यवाहक उपसभापति पूर्णबहादुर खड्कालाई दिने दाबी गर्छन् । पार्टी वरियतामा देउवा पछि खड्का छन् ।
कार्यसम्पादन समितिका एक सदस्य भन्छन्, ‘अहिले पूर्ण दाईलाई कार्यवाहक दिने र उपचारका लागि विदेश जाने तयारी जस्तो देखिन्छ । फर्केपछि सभापति पूर्ववत् जिम्मेवारीमा फर्कने मनसाय देखिन्छ ।’
प्रतिक्रिया 4