
News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको भदौमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले बढेर ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
- अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएकाले रेमिट्यान्स आप्रवाह उच्च दरमा बढेको हो।
- चालु आर्थिक वर्षको भदौसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९० हजार १ सय ९८ पुगेको छ।
२८ असोज, काठमाडौं । चालु आर्थिक वर्षको भदौमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत बढेको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएकाले रेमिट्यान्स आप्रवाह उच्च दरमा बढेको हो ।
आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रेमिट्यान्स आप्रवाह ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा भदौ महिनामा एक खर्ब ७४ अर्ब ६७ करोडले बढेर साढे ३ खर्ब पुगेको छ ।
सामान्यत विदेशमा रहेका नेपालीले डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको अवस्थामा रेमिट्यान्स पठाउँदा उनीहरूलाई मूल्य वृद्धिको लाभ हुन्छ ।
चालु आवको दोस्रो महिनासम्ममा नेपाल भित्रिएको अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।
चालु आवको भदौसम्ममा खुद द्वितीय आय ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।
चालु आवको भदौसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९० हजार १ सय ९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८ सय ८४ रहेको छ । गत आवको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४ सय ८५ र ४० हजार ५ सय ८३ रहेको थियो ।
प्रतिक्रिया 4