
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्व बैंक वार्षिक बैठक २०२५ मा बहुपक्षीय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
- अध्यक्ष ढकालले आईएमएफ, विश्व बैंक र आईएफसी का वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता गरी नेपालका आर्थिक सम्भावना र दिगो लगानीका अवसरबारे छलफल गरेका छन्।
- नेपालको सहभागिताले दिगो आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग सम्बन्ध गहिरो बनाउने प्रतिबद्धता प्रकट गरेको महासंघले जनाएको छ।
२ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रमा लगानीका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
अमेरिकाको वासिङ्टन डीसीमा सम्पन्न विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी भई विश्वका वित्तीय तथा विकास संस्थाका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ताका क्रममा अध्यक्ष ढकालले बहुपक्षीय सहकार्यमा जोड दिएका हुन् ।
अर्थमन्त्री रामेश्वर खनाल, राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वाथ पौडेल, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा अन्य उच्चपदस्थ अधिकारीहरू सहितको नेपाली प्रतिनिधिमण्डलसँगै महासंघ अध्यक्ष ढकालले उक्त बैठकमा सहभागिता जनाएका हुन् ।
बैठक क्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक समूह र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए ।
‘विश्व बैंक वार्षिक बैठक २०२५ मा आफ्ना आर्थिक प्राथमिकता र वैश्विक साझेदारीका विषयहरू प्रस्तुत भएका छन्, हामीले पनि हाम्रा धारणा सशक्त रूपमा राखेका छौं,’ ढकालले भने, ‘विश्व आर्थिक परिदृश्य, विकासका लागि वित्तीय स्रोत परिचालन तथा दिगो आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिकाबारे व्यापक छलफल भएको छ ।’
सोही अवसरमा अध्यक्ष ढकालले ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) का प्रबन्ध निर्देशक नादाबा म्पोफु, आईएमएफका पूर्वप्रबन्ध निर्देशक तथा हाल युरोपियन सेन्ट्रल बैंक (ईसीबी) का अध्यक्ष क्रिस्टिन लागार्डसँग पनि भेट गरेका थिए । उनले नेपालका आर्थिक सम्भावना, वित्तीय क्षेत्रको सुदृढता तथा दिगो लगानीका अवसरबारे छलफल गरेका थिए ।
२५औं वार्षिक बैठकमा नेपालको सहभागिताले दिगो आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सम्बन्ध गहिरो बनाउने प्रतिबद्धतालाई जोड दिएको र यी छलफलले सहकार्य र लगानी वृद्धि गर्ने बाटो खोल्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।
‘यस्ता अन्तर्राष्ट्रिय बैठकमा महासंघको सहभागिताले नेपालको आर्थिक कूटनीति सुदृढ गर्न, वैदेशिक लगानी आकर्षित गर्न र निजी क्षेत्र तथा बहुपक्षीय संस्थाबीचको सहकार्य बलियो बनाउन मद्दत पु¥याउँछ, जसले नेपाललाई आर्थिक अवसरहरूको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने छ,’ अध्यक्ष ढकालले भने ।
ती बैठकले नेपालका आर्थिक प्राथमिकता प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा एक महत्त्वपूर्ण कदम स्थापित गरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया 4