११ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन् ।
राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न एकता र साझा आन्दोलनमार्फत् अघि बढ्नुपर्ने आवश्यकता देखिएको भन्दै उनले वामपन्थीहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन् ।
‘राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत् अघि बढ्नु आजको आवश्यकता हो,’ प्रचण्डले भनेका छन्, ‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु ।’
उनले संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन पनि आह्वान गरेका छन् ।
देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी आएको र राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव रहेको प्रचण्डको भनाइ छ ।
‘यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ,’ अध्यक्ष प्रचण्डले भनेका छन् ।
प्रतिक्रिया 4