२२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । प्रहरीका अनुसार, उनी चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् । उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले जानकारी दिए ।
संस्थालाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको केसीले जानकारी दिए ।
नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, उनको संलग्नतामा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थपगरी लिजमा दिने/लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय र आधारविना बद्नियतपूर्वक नेपाल ट्रष्टका नाममा रहेको जग्गा बोट मोडलका लागि निर्माण अवधि तीन वर्षसमेत तोकी ३० वर्षका लागि लिजमा दिने/लिने सम्झौता गरेको पाइएको हो ।
१४ जेठ २०७४ मा नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानिनोक्सानी हुनेगरी उक्त करार सम्झौता भएको पाइएको उनले बताए ।
सीआईबीले आज सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘नेपाल ट्रष्टको जग्गा लिजमा लिने लाभग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहोदा र पदमा रहेका व्यक्तिहरुले गैरकानुनी तवरले लाभ लिइ ठगी, आपराधिक विश्वासघात गरेको, उल्लेखित कार्यबाट नेपाल ट्रष्टमार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानिनोक्सानी पु¥याइ विभिन्न पद तथा ओहोदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको पाइएको छ ।’
एसएसपी श्रेष्ठले सोही कसुरमा उनलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरी उनीमाथि अनुसन्धान थालिएको जानकारी दिए ।
प्रतिक्रिया 4