+
+
Shares

जापान उड्यो ‘नेपथ्य’ : नागोया, टोकियो, ओसाकामा प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १२:४०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्य ब्यान्ड सोमबार जापानको नागोया, टोकियो र ओसाकामा कन्सर्टका लागि प्रस्थान गरेको छ।
  • नेपथ्यले नोभेम्बर १३ मा नागोयाको 'नागोया लाइभ्स' सभागृहमा पहिलोपटक प्रस्तुति दिनेछ।
  • टोकियोको 'डोम सिटी हल' मा १८ नोभेम्बर र ओसाकाको 'जेप ओसाका बे साइड' मा २४ नोभेम्बर कन्सर्ट हुनेछ।

काठमाडौं । जापानमा प्रस्तुति दिन लोकरक ब्यान्ड ‘नेपथ्य’ सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । ब्यान्डले त्यहाँको नागोया, टोकियो र ओसाकामा श्रृंखलाबद्ध कन्सर्ट गर्दैछ । ब्याण्डले दुईवर्षपछि जापानमा प्रस्तुति दिन लागेको हो ।

श्रृंखलाबद्ध प्रस्तुति नागोया सहरबाट थालनी हुनेछ । ‘नागोया लाइभ्स’ सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीत गुन्जाउनेछ । नागोयामा ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो ।

५ दिनपछि ब्यान्ड राजधानी टोकियोमा प्रस्तुत हुनेछ । १८ नोभेम्बरमा ‘टोकियो डोम सिटी हल’ मा ब्यान्ड प्रस्तुत हुनेछ । अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यस हलमा ब्यान्ड दोस्रो पटक प्रस्तुत हुन लागेको हो । ७ वर्षपहिले पनि त्यस हलमा नेपथ्यको कन्सर्ट भएको थियो ।

टोकियोको भब्य हलमा आफ्ना गीत सुनाएको ठीक ६ दिनपछि नोभेम्बर २४ मा ब्यान्ड ओसाका सहरका दर्शकसामु प्रस्तुत हुनेछ । कन्सर्टका लागि ‘नेपथ्य’ ले त्यहाँको ‘जेप ओसाका बे साइड’ लाई चयन गरेको छ ।

दुई वर्षअघि भने ब्यान्डले त्यहाँको अर्को हल ‘नाम्बा ह्याच’ मा नेपाली लोकरक गुन्जाएको थियो । नेपथ्य जापानमा पहिलोपटक सन् १९९८ मा प्रस्तुत भएको थियो ।

नेपथ्यको जापान यात्रालाई यसपटक ‘भिजोनिया’ समूहले संयोजन गरेको छ । ‘कन्सर्टलाई भव्य बनाउन पूरा क्षमतामा काम गरिरहेका छौँ,’ भिजोनियाका प्रमुख सुभाष लामिछाने भन्छन्, ‘टिकट बिक्री तीव्र गतिमा भइरहेको छ । जापानका अन्य सहरमा बसोबास गर्ने इच्छुकले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेका छन् ।’

तीन दशकभन्दा लामो साङ्गीतिक यात्रामा ब्यान्डले जापानसँगका धेरै सम्झना बोकेको ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ बताउँछन् । उनी भन्छन्, ‘मीठा यादबाहेक अढाई दशकअघि हाम्रो ब्यान्ड त्यसै मुलुकमा पुगेर टुक्रिएको तीतो अनुभव पनि हामीसँग छ ।’

सन् २०१५ मा जापान पुगेको बेला अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तर्वार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने भिडियो रिपोर्ट ‘प्राइम टाइम न्युज’ मै देखाएको थियो । त्यसले पनि जापानीमाझ ब्यान्डको पहिचान स्थापित गर्न मद्दत गरेको थियो ।

नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार मञ्चमा प्रस्तुत हुने ६ कलाकारबाहेक व्यवस्थापन र प्राविधिक फाँटका ८ थप सदस्य सहितको टोली जापान पुग्दै छ । जापानको मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

दर्शकले जापानका कन्सर्टका लागि ब्यान्डको वेबसाइटबाट टिकट काट्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?