News Summary
Generated by OK AI. Editorially reviewed.- बिहार विधानसभा चुनावको प्रारम्भिक मतगणनामा जनता दल (यूनाइटेड) ८२ सिटमा अगाडि छ र भाजपा ८८ सिटमा अगाडि छ।
- नितिश कुमारको पार्टीले सन् २०२० को ४३ सिटबाट आफ्नो सिट लगभग दोब्बर बनाएको छ।
- महागठबन्धनका दलहरूले आफ्नो अघिल्लो प्रदर्शन दोहोऱ्याउन नसकेको देखिन्छ।
२८ कात्तिक, काठमाडौं । बिहार विधानसभा चुनावको मतगणना जारी छ। प्रारम्भिक रुझानमा नितिश कुमारको जनता दल (यूनाइटेड) ले अप्रत्याशित प्रदर्शन गरिरहेको देखिन्छ। जदयू ८२ सिटमा अगाडि छ, जबकि एनडीएमा पहिलो पटक जदयू बराबर १०१ सिटमा चुनाव लडेको भाजपा अहिले ८८ सिटमा अगाडि छ।
महागठबन्धन नराम्रोसँग पछि परिरहेको छ। यदि यो रुझान नतिजामा बदलियो भने यसलाई नितिश कुमारको ठूलो जित मानिनेछ।
यस परिणामलाई पाँच प्रमुख बुँदाहरू मार्फत हेर्न सकिन्छ :
पहिलो, नितिशको पकड आफ्ना मतदातामा मात्र टिकिरहेको छैन, उनले आफ्नो विस्तार पनि गरेका छन्। यसलाई यसरी हेरौं कि सन् २०२० मा जदयूले जम्मा ४३ सिटमा जित हासिल गरेको थियो र अहिले नितिश कुमारको पार्टीले आफ्नो सिटलाई लगभग दोब्बर बनाउँदै गरेको देखिन्छ।
लगातार २० वर्षसम्म सत्तामा रहेपछि पनि जदयूको प्रदर्शनले आफ्ना मतदाताहरूमा नितिश कुमारको पकड अझै बलियो रहेको देखाउँछ। उनको बिग्रँदै गएको स्वास्थ्यसम्बन्धी तमाम खबरहरूका बाबजुद जनताले उनीमाथि भरोसा गरेका छन् ।
दोस्रो, महिला मतदातामा नितिशको छवि। चुनावभन्दा ठीक अघि नितिश कुमारको सरकारले बिहारका महिलाहरूको खातामा दस-दस हजार रुपैयाँ पठाएको थियो।
पहिले पनि नितिश सरकारका नीतिहरूको केन्द्रमा महिलाहरू रहेका छन्, चाहे त्यो पञ्चायत चुनावमा महिलाका लागि पचास प्रतिशत आरक्षण होस् वा बिहार पुलिसमा ३५ प्रतिशत पद महिलाका लागि आरक्षित राख्ने कुरा।
यसबाहेक नितिश कुमारले बिहारमा मदिरा निषेधको निर्णय पनि महिलामाथि हुने घरेलु हिंसालाई मध्यनजर गर्दै लिएका थिए। नितिश सरकारद्वारा स्कुले छात्राहरूलाई साइकल दिने योजना पनि जनताले निकै सराहेका छन्।
तेस्रो, कथावस्तुको निर्माण अर्थात् मिथकको निर्माण। यसलाई यो उदाहरणबाट हेर्न सकिन्छ। नितिश २० वर्षदेखि मुख्यमन्त्री बनेका छन्, तर एनडीएले मतदाताभित्र त्यो जङ्गल राजको डर बसाल्न सफल रह्यो जसका लागि लालु यादवको बिहार धेरै पहिले चिनिन्थ्यो।
लालु आफैँ लामो समयदेखि सक्रिय राजनीतिबाट टाढा छन्, तर उनको पार्टीलाई प्रधानमन्त्री नरेन्द्र मोदीसमेत धेरै नेताहरूले खतराको रूपमा प्रस्तुत गरे।
चौथो, राष्ट्रिय जनता दलका तेजस्वी यादवले आफ्नो सामाजिक विस्तार गर्न सकेनन्। राष्ट्रिय जनता दललाई अझै पनि मुस्लिम-यादवको पार्टी मानिन्छ। यसको विपरीत एनडीए र जदयूको गठबन्धनले अझ ठूलो सामाजिक भूगोललाई समेट्छ।
पाँचौं, महागठबन्धनका अन्य दलहरूले पनि आफ्नो अघिल्लो प्रदर्शन दोहोऱ्याउन सकिरहेका छैनन्। २०२० को चुनावमा ७५ सिट जितेको राजद अहिले ३०-३५ सिटमा अगाडि छ, १९ सिट जितेको कांग्रेस जम्मा पाँच सिटमा अगाडि छ, १२ सिट जितेको सीपीआई-माले ७ सिटमा अगाडि छ।
-द वायरबाट
प्रतिक्रिया 4