३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर विधानसम्मत माग गरिएको विशेष महाधिवेशनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।
महाधिवेशन प्रतिनिधिले विधानको आधारमा हस्ताक्षर संकलन गरेर लिखित माग गरेको विषय विपरित हुने गरी पार्टीले निर्णय गरे महामन्त्री पदबाट राजीनामा गर्ने समेत महामन्त्री शर्माले सभापति देउवालाई बताएका छन् ।
शुक्रबार सिंगापुरबाट फर्केका सभापति देउवालाई भेट्न महामन्त्री शर्मा आइतबार मध्यान्ह पुगेका थिए । सभापति देउवासँग झण्डै डेढ घण्टा कुराकानी गरेका शर्माले विधानसम्मत मागलाई वेवास्ता गर्न नहुने विचार सभापति देउवासँग राखेका थिए । देउवालाई भेटेर फर्केलगत्तै महामन्त्री शर्माले पार्टीका सिमित नेतालाई आफूले सभापतिसँग राखेका धारणा सुनाएका थिए ।
हात्तिसारस्थित एक रेष्टुरेन्टमा पार्टी नेताहरूसँग कुरा गर्ने क्रममा महामन्त्री शर्माले सभापतिलाई आफूले राखेको विचार सुनाएका हुन् । विशेष महाधिवेशन विधानले गरेको व्यवस्था भएको हुँदा बाध्यकारी भएको शर्माले देउवालाई बताएका थिए ।
‘संसद् विघटन संविधान भन्दा बाहिरबाट गरिएको भनेर संविधानसम्मत नभएको कांग्रेसले भनेको छ । विशेष महाधिवेशन पार्टीको विधानसम्मत् माग हो । त्यसलाई सम्बोधन गरिएन भने हामी विधानसम्मत चलेको हुँदैन,’ देउवालाई राखेका धारणा महामन्त्री शर्माले पार्टी नेतालाई सुनाएका थिए ।
महामन्त्री शर्माले विशेष महाधिवशेनको सम्बोधन नगरी पार्टीले अन्य निर्णय गरेमा पदबाट राजीनामा दिने समेत बताएका थिए ।
‘कांग्रेस विधान सम्मत नचल्नेगरी फरक तरिकाले चल्ने निर्णय गर्यो भने त्यो निर्णय गरेकै मितिबाट लागु हुने गरी महामन्त्री छोड्छु,’ शर्माले देउवालाई भनेका थिए ।
कांग्रेस नेताहरूका अनुसार महामन्त्री शर्माले देउवालाई आज राखेका धारणा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराइसकेका छन् ।
कांग्रेस विधानको धारा १७ (२) मा विशेष महाधिवेशनको व्यवस्था छ । केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यकता देखेर निर्णय गरेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
विधानको यही धारा अन्तर्गत रहेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् । विशेष महाधिवेशनका लागि लिखित माग गरेको ३ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ । असोज २९ गते विशेष महाधिवेशनका लागि लिखित माग पेश गरिएको हुँदा तीन महिने अवधि पुस २८ मा सकिने छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन पुस १६ देखि १९ सम्म हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव समेत गरेका थिए ।
संस्थापन पक्षका शीर्ष तहका नेताहरु चुनावअघि महाधिवेशनका लागि तयार नहुँदा सहमति जुट्न सकेको छैन । २८ असोजदेखि जारी केन्द्रीय समितिको बैठकमा चुनावपछि महाधिवेशन हुनुपर्ने संस्थापन पक्षका शीर्ष नेताहरुले जोड दिइरहेका छन् । दुई महामन्त्री थापा र शर्मा नियमित गर्न नसक्ने भए विशेषमा जानै पर्ने विचार राखिरहेका छन् ।
संस्थापनइतरका नेता डा. शेखर कोइराला चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने दृष्टिकोण राखिरहेका छन् । महामन्त्री थापाले नेताहरू नियमित महाधिवेशनका लागि तयार नभएको हुँदा विशेष बाहेक अर्को विकल्प नभएको केन्द्रीय समितिमा बताएका थिए । मंसिर २७ विशेष महाधिवेशन हुने गरी महामन्त्री थापाले मिति समेत प्रस्ताव गरेका छन् ।
पार्टीभित्रको विवादमा समाधानका लागि सभापति शेरबहादुर देउवाले नेताहरू बोलाएर धारणाहरू सुनिरहेका छन् । सिंगापुरबाट उपचार गरेर फर्के लगत्तै देउवाले पार्टी नेताहरुलाई बोलाएर छलफल गरिरहेका छन् । शनिबार साँझ आफू निकटका चार नेतालाई देउवाले डाकेर छलफल गरेका थिए । नेताहरु डा. प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीले सभापति देउवालाई हिजो भेटे । सभापतिलाई भेट्न आज महामन्त्री शर्मा गएका थिए ।
प्रतिक्रिया 4