९ मंसिर, काठमाडौं । बागमती नदी करिडोर अन्तर्गत गोकर्णदेखि बल्खुसम्मको क्षेत्रमा बिजुली बत्ती जडान गरी उज्यालो बनाइने भएको छ । सो क्षेत्रको निगरानीका लागि आधुनिक सीसीटिभी समेत जडान गरिनेछ ।
शहरी विकास मन्त्रालय अर्न्तगतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण-बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक सीसीटिभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्न लागेको हो ।
अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ती, ६ स्थानमा ४८ थान हाइमास्ट फ्लडलाइट जडान गरिने आयोजनाका उपनिर्देशक उद्धव नेपालले जानकारी दिए।
साथै तापक्रम, धुलो तथा पानी प्रतिरोधी र दिन-रात दुवै समयमा काम गर्ने १२० थान अत्याधुनिक प्रविधिका क्यामेरा जडान गर्ने तयारी भएको उनले बताए ।
बत्ती र सीसीटिभी जडान गर्ने निर्माण व्यवसायी छनोट गर्न समितिले लागि सोमबार टेण्डर आह्वान गरिसकेको छ । त्यसको सर्भर र मनिटरिङ्ग युनिट जिल्ला प्रहरी परिसर, काठमाडौंमा रहने छ ।
सीसीटिभी तथा बत्ती जडान भएपश्चात उक्त क्षेत्रको सुरक्षा, निगरानी, अपराधिक तथा अव्यवस्थित गतिविधिको रोकथाम र रात्रीकालीन उज्यालो व्यवस्था सुधारमार्फत समग्र वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य छ । सीसीटिभी तथा बत्ती जडानले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई समेत टेवा पुग्ने विश्वास छ ।
बागमती करिडोरअन्तर्गत थापाथली-टेकु दोभान क्षेत्रमा भने सीसीटिभी जडानको काम भइसकेको नेपालले जानकारी दिए ।
प्रतिक्रिया 4