+
+
WC Series
लुम्बिनी लायन्स 2025
26/0 (2.4)
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

धिरज कसरी यति रूपवती आरोही बनिन् ?

पुरुषको रूपमा जन्मिनु, महिलाको भावनामा रुमल्लिनु, अनि एक रूपवती युवतीमा रूपान्तरण हुनु । यो आफैमा जीवनको एक जटिल तर रोचक परिघटना हो ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ मंसिर ११ गते ९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आरोही बस्नेतले ट्रान्सजेन्डर महिलाबीच हुने मिस युनिभर्स नेपाल २०२५ को फस्ट रनर-अप बनेकी छिन्।
  • उनले १९ वर्षको उमेरमा भारतमा लैङ्गिक परिवर्तनको शल्यक्रिया गराइन् र महिलाको नागरिकता लिएर प्रतियोगितामा भाग लिइन्।
  • आरोहीले सामाजिक स्वीकारोक्ति र परिवारको समर्थन पाएर लैङ्गिक अल्पसंख्यक समुदायका लागि प्रेरणा बनेकी छिन्।

सानो छँदा गाउँको आँगनमा साथीहरू फुटबल खेल्दै रमाउँदा धीरज बस्नेत आमाको सारी लगाएर ऐना अगाडि उभिन्थे । अनि आफैंलाई हेरेर मुस्कुराउँथे । त्यो मुस्कानभित्र लुकेको थियो एउटा ठूलो प्रश्न ‘म को हुँ ?’

आज, त्यही प्रश्नको जवाफ लिएर उनी आरोही बस्नेत बनेकी छिन् । त्यति मात्र होइन, ट्रान्सजेन्डर महिलाबीच हुने सौन्दर्य प्रतियोगिताको उप-विजेता बनेकी छिन् । उनी मिस युनिभर्स नेपाल २०२५ की फस्ट रनर-अप हुन् ।

पुरुषको रूपमा जन्मिनु, महिलाको भावनामा रुमल्लिनु, अनि एक रूपवती महिलामा रूपान्तरण हुनु । यो आफैंमा जीवनको एक जटिल तर रोचक परिघटना हो । स्कुलमा ‘छक्का’ भन्ने गाली खाँदै, घरमा ‘केटा जस्तो बन्’ भन्ने दबाब सहँदै आएकी उनले १९ वर्षको उमेरमा लिंग परिवर्तनको शल्यक्रिया गराइन् । आरोहीको यो कथा सम्पूर्ण लैङ्गिक अल्पसंख्यक समुदायको साहस, स्वीकृति सपनाको कथा हो ।

मोरङका धीरज बस्नेतको बाल्यकाल अन्य बालकको जस्तो कहिल्यै भएन । गाउँका साथीहरू फुटबल र क्रिकेटमा रमाउँथे, तर उनी भने आमाको सारी, चोलो र हिल जुत्ता लगाएर घरभित्रै लुकेर ‘केटी–केटी’ खेल्थे । सानैदेखि उनलाई लाग्थ्यो ‘म अरूभन्दा फरक छु ।’

यो फरकपन कक्षा ६ पुगेपछि अझ स्पष्ट भयो । जब उनलाई केटी होइन, केटाहरू नै मन पर्न थाल्यो, उनी भित्रभित्रै अचम्ममा पर्थे ‘म पुरुष भएर पुरुष नै किन मन परिरहेको छ ?’ भन्ने द्वन्द्वले उनी धेरै वर्ष चुपचाप तड्पिनुपर्‍यो ।

समाजको डर, परिवारको अपेक्षा र पढाइको दबाबले लामो समयसम्म आफ्नो पहिचान लुकाउन बाध्य भए । स्कुलमा ‘हिँजडा’, ‘छक्का’ जस्ता अपमानजनक शब्दले उनी निरन्तर बुलिङको शिकार बन्थे । कक्षामा हाँसोको पात्र बन्नुपर्थ्यो । घरमा पनि बाबा–आमा भन्थे– ‘तिमी केटा हौ, केटी जस्तो व्यवहार नगर ।’

यी वाक्यहरूले धिरजलाई झन् भित्रभित्रै पीडा दिन्थ्यो । पहिचान लुकाउँदा उनी शारीरिक, मानसिक र भावनात्मक विद्रोहको चक्रमै फसिरहे ।  यी सबै पीडाका बाबजुद पढाइमा भने सधैं अब्बल थिए । हरेक कक्षामा प्रथम हुन्थे । पढाइ उनको एक्लो सहारा र आत्मविश्वासको स्रोत बन्यो ।

पहिचान खुलाउने साहस

कक्षा १० पुग्दा उनले स्कूलमै आफ्नो वास्तविक पहिचान खुलाए । विरोध वा तिरस्कारको डर हुँदाहुँदै त्यस दिन उनले खुलेर बोले । तर आश्चर्यजनक रूपमा, शिक्षकहरूले नसोचेको साथ दिए । उनीहरूका साना–साना प्रोत्साहनका शब्दले धिरजको जीवन मोडिन थाल्यो ।

त्यही समय उनले टिकटकमार्फत आफ्नो कथा सार्वजनिक गर्न थाले । सामाजिक सञ्जाल धिरजका लागि पहिचान, आवाज र स्वीकारोक्तिको ठूलो मञ्च बन्यो । बिस्तारै, घरमा पनि उनले महिलाका लुगा लगाउन थाले । सुरूमा परिवार अलमलिनु स्वाभाविक थियो, तर छोरा बन्नुपर्दाको पीडा र छोरी हुँदाको खुसी दुवै देखेपछि उनीहरूले बिस्तारै स्वीकार गर्न थाले ।

कक्षा १० सम्म मोरङमा पढेर प्लस टु पढ्न काठमाडौँ आएपछि उनले दुई वर्ष अत्यन्त कठिन जीवन बिताए । रिसेप्सनिस्ट, मार्केटिङ जस्ता साना जागिर, पढाइ र जीविकोपार्जनको दबाब सँगसँगै थेग्नुपर्‍यो । तैपनि उनले प्लस टु २.६७ जिपिएमा पास गरे । त्यही बेला उनी ब्लू डायमन्ड सोसाइटीसँग जोडिए, जसले उनलाई थप हौसला र साथ दियो ।

धिरजबाट आरोहीको यात्रा

धिरजलाई सानैदेखि मोडलिङ्ग र सौन्दर्य प्रतियोगितामा भाग लिन मन लाग्थ्यो । त्यसैले उनले मोडलिङ्ग र केही सौन्दर्य प्रतियोगितामा पनि भाग लिन थाले । धिरजको शरीर पुरुषको भए पनि मन महिलाको थियो । त्यसैले उनलाई महिलाजस्तो चटक्क परेर हिड्न मन लाग्थ्यो ।

केही स्थानीय सौन्दर्य प्रतियोगिता जितेपछि आत्मविश्वास झन् बढ्यो । अब उनले मनबाट मात्र हैन शरीरबाट पनि महिला हुने निर्णय गरे । त्यसका लागि शल्यक्रिया गर्नुपर्ने हुन्थ्यो । नेपालमा यो शल्यक्रिया नभएकाले लैङ्गिक परिवर्तनका लागि शल्यक्रिया गर्न उनी १८ वर्षको उमेरमा भारतको ओलमेक अस्पताल पुगे । त्यहाँ उनको ब्रेस्ट इम्प्लान्ट र एडम्स एप्पल सर्जरी भयो ।

 

१९ वर्षको उमेरमा लैङ्गिक परिवर्तनका लागि ‘पूर्ण सेक्स रिअसाइनमेन्ट सर्जरी भयो ।’ त्यसपछि धिरज ओरोही भइन् । आरोहीले साढे २ वर्षदेखि निरन्तर हर्मोन रिप्लेसमेन्ट थेरापी पनि लिइरहेकी छिन् ।

डाक्टरको लामो परामर्शपछि मात्र सर्जरी गरेकाले साइड इफेक्ट अत्यन्त कम भयो । सर्जरीपछि उनले महिलाको नागरिकता लिइन् ।

सौन्दर्य प्रतियोगितामा ऐतिहासिक सफलता

आरोही मिस टिन इन्टरनेसनल २०२३ को सेकेन्ड रनर–अप हुन् भने मिस टाइम नेपाल २०८० को विजेता । साथै मिस पिङ्क नेपाल २०२४ को सेकेन्ड रनर-अप । यसरी विभिन्न सौन्दर्य प्रतियोगितामा भाग लिएर विजेता र उपविजेता भएपछि उनको आत्मविश्वास बढ्दै गयो ।

आरोहीलाई मिस युनिर्भस नेपालमा सहभागी हुने इच्छा थियो । तर, लिंग परिवर्तन गरेर महिलाको नागरिकता लिएपछि मात्र मिस युनिर्भस नेपालमा सहभागी हुन पाइने रहेछ । त्यसैले महिलाको नागरिकता लिएपछि मिस युनिर्भस नेपाल प्रतियोगितामा भाग लिइन् । अवरोध तोड्दै र सौन्दर्यका परिभाषा पुनःनिर्धारण गर्दै, ट्रान्सजेन्डर महिला, तथा मानसिक स्वास्थ्य अभियन्ता आरोही बस्नेत मिस युनिभर्स नेपाल २०२५ की पहिलो रनर–अप बनिन् ।

नेपालबाट मिस युनिभर्स प्लेटफर्ममा पुग्ने पहिलो ट्रान्सजेन्डर महिला हुन् उनी । यो सफलता उनको मात्र होइन, सम्पूर्ण लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि ठूलो प्रेरणा र गर्वको कुरा बन्यो । ट्रान्स समुदायका लागि ठूलो ढोका खोलिदियो र विश्वमै सन्देश प्रवाह गर्‍यो ।

अहिले परिवारले पनि स्विकारेको छ । अहिले बुबाआमा, दाजुदिदीहरू उनको सबैभन्दा ठूलो सपोर्ट सिस्टम बनेका छन् । आमाबुबा भन्नुहुन्छ, ‘तिमीले जे गरे पनि राम्रो गर, सफल बन ।’

समाजको दृष्टिकोण र निरन्तर लडाइँ

घरपरिवारले अस्वीकार गर्ने, घरबाट निकाल्ने, पुरुष समलिंगी भए पनि जबरजस्ती केटीसँग विवाह गरिदिने लगायतका समस्या आफ्नो समुदायले भोग्दै आएको उनी बताउँछिन् । आफ्नो समुदायप्रति नयाँ पुस्ताको बुझाइ केही सकारात्मक भएपनि सोच परिवर्तन हुन नसकेको उनको भनाइ छ ।

कतिपयले ‘प्राकृतिक होइन’ भन्ने तर्क गर्छन्, कतिले अपमानजनक शब्द प्रयोग गर्छन् । सीप र योग्यता हुँदाहुँदै पनि जागिरमा विभेद र उत्पीडनको सामना गर्नुपरेको गुनासो छ उनीसँग ।

‘जसरी महिला र पुरुषले आफ्नो अधिकार र अवसर पाइरहेका छन्, त्यसरी नै हामीले पनि पाउनुपर्छ’ उनी भन्छिन्, ‘हाम्रो अधिकारको हनन् भइरहेको छ । म सकारात्मक हिसाबले समाज परिवर्तन गरेर आफूलाई पनि एउटा मान्छे भएको प्रमाणित गर्न चाहन्छु ।’

हाल उनी ब्याचलर इन सोशल वर्क पढ्दैछिन् । ब्लू डायमन्ड सोसाइटीमा प्रोजेक्ट बेसमा काम गर्छिन् । मोडलिङ, कोरियोग्राफी र ब्यूटी पेजेन्टमा सक्रिय छिन् । आरोहीको फेरि मिस युनिभर्स नेपाल जितेर अन्तर्राष्ट्रिय स्टेजमा नेपालको प्रतिनिधित्व गर्ने सोच छ ।

समुदायका लागि सन्देश

आरोही आफूजस्ता लैंगिक तथा यौनिक अल्पसंख्याकहरुलाई सबैभन्दा पहिले आफूलाई स्विकार गर्न सल्लाह दिन्छिन् ।

‘सबैभन्दा पहिले आफूलाई चिन्नुस् र आफूलाई माया गर्नुस्’ उनी भन्छिन्, ‘आफैँले स्वीकार नगरी अरूले स्वीकार गर्दैनन् ।’

त्यसपछि आफ्नो फरक पनबारे परिवारलाई बुझाउँनुपर्छ जन्मदिने आमाबुबालाई आफ्नो सन्तानको खुसी भन्दा ठूलो कुरा केही नहुने उनी सुनाउँछिन्

आरोही आज हजारौँ ट्रान्सजेन्डर युवाहरूका लागि प्रेरणा बनेकी छिन् । उनको यात्राले प्रमाणित गर्छ साहस, आत्मविश्वास, शिक्षा र मेहनतले जुनसुकै बाधा पनि पार गर्न सकिन्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?