२४ पुस, लन्डन । पूर्व गोर्खा सैनिक हरि बुढामगरले अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको सफल आरोहण गरेका छन्।
बुढामगर विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोही बनेका छन्।
क्रिसमसको पूर्वसन्ध्यामा बेलायतबाट अन्टार्कटिका प्रस्थान गरेका बुढामगरले आफ्ना सहयोगीहरू अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पाको साथमा ३ दिनको कठिन आरोहणपश्चात् ६ जनवरी २०२६ राति १० बजे ४,८९२ मिटरको उचाइमा पाइला टेके।
अन्टार्कटिकाको माइनस २५ डिग्री सेल्सियसको अत्यधिक कठाङ्ग्रिँदो चिसो, हावा र हिउँको ठाडो भिरलाई कृत्रिम खुट्टाको सहायताले परास्त गर्दै उनले ‘असम्भव केही छैन’ भन्ने सन्देश विश्वभर फैलाएका छन्।
आरोहणपछि बुढामगरले आफ्नो सपना र दृढ संकल्पले जीवनका जस्तोसुकै अवरोधलाई जित्न सकिने बताउँदै यो सफलता अपाङ्गता भएका व्यक्तिहरूप्रतिको धारणा बदल्ने अभियानमा एउटा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन्।
‘हामीले केही पनि असम्भव छैन भनेर देखाएका छौं र अपाङ्गताप्रति जागरुकता जगाएका छौं,’ शिखरमा पुगेपछि बुढामगरले भने, ‘अरूलाई आफ्नै पहाड चढ्न र जे भए पनि आफ्नो सपना पूरा गर्न प्रेरित गरेका छौं।’
उनी थप भन्छन्, ‘यदि तपाईंसँग सपना छ र आफूलाई समर्पित गर्नुहुन्छ भने तपाईं जे पनि हासिल गर्न सक्नुहुन्छ ।’
अपाङ्गताबारे जागरुकता जगाउन र आफू जस्ता अरूलाई पनि आफ्नै हिमाल चढ्ने सपना पूरा गर्न प्रेरित गर्न सेभेन समिट आरोहणको योजना बनाएको उनले खुलाए ।
उनले आफ्नो यो ऐतिहासिक यात्रा सफल पार्न सहयोग गर्ने परिवार, साथीभाइ, सहयोगी संस्थाहरू र सम्पूर्ण समर्थकलाई हृदयदेखि धन्यवाद दिएका छन्।
बुढामगरले यसअघि ६ महादेशका सबै अग्ला शिखर आरोहण गरेका थिए ।
उनले १३ अगस्ट २०१९ मा युरोपस्थित मोन्ट ब्ल्यांक (४,८१० मि.), ८ जनवरी २०२० मा किलिमन्जारो (५,८९५ मि.) अफ्रिका, १९ मे २०२३ मा माउन्ट एभरेस्ट (८,८४९ मि.) एसिया, २८ जुन २०२४ मा उत्तर अमेरिकाको डेनाली (६,१९४ मि.), २२ फेब्रुअरी २०२५ मा एकोनकागुवा (६,९६१ मि.) दक्षिण अमेरिका र १८ अक्टोबर २०२५ मा ओसिनियास्थित कार्सटेन्ज पिरामिड (४,८८४ मि.) को सफल आरोहण गरेका थिए ।
उनले डेनाली र कार्सटेन्ज पिरामिडको टुप्पोमा पुग्ने दुवै खुट्टा नभएका व्यक्तिमा पहिलो बनेर पर्वतारोहणको अर्को इतिहास पनि रचेका छन्।
बुढामगरको परिवार हाल बेलायत क्यान्टबरीमा छ । गत वर्ष मात्र बुढामगरले बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गरेका थिए ।
आफ्नो भविष्य सुन्दर बनाउने सपना साँचेर १९ वर्षमै ब्रिटिस सेनामा भर्ना भए रोल्पा थवाङ गाउँपालिका, मिरुलका हरि बुढामगर ।
३१ वर्षको उमेर थियो, रोयल गोर्खा राइफल्समा कार्यरत उनी जागिरकै दौरान सन् २०१० मा अफगानिस्तानको लडाइँमा खटिँदा एक ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ मा पाइला टेकेर विष्फोट हुँदा घुँडाभन्दा माथि दुवै खुट्टा गुमाए ।
विस्फोटपछि जब उनी ब्युँझिए, तीन सन्तानका पिता उनलाई लाग्यो, अब मेरो जीवन सकियो । शारीरिक र मानसिक पीडाले लामो समयसम्म विक्षिप्त भए बुढामगर । पीडा भुलाउन रक्सी पिउँदापिउँदै लत नै बस्यो । कहिलेकाहीँ त आत्महत्या गर्ने सोचसमेत आएको उनी बताउँछन् ।
‘तर, घरपरिवार र सन्तानको मायाले मर्नु हुँदैन भन्ने लाग्यो । बरु म शारीरिक असक्तता भुलेर आफूलाई साहसिक खेल गतिविधिमा केन्द्रित गराउन थालें’, उनी भन्छन्, ‘स्किइङ, गल्फिङ, साइक्लिङ थालेपछि आत्मविश्वास बढ्दै गयो । यो मेरो जीवन परिवर्तनमा सहयोगी पनि बन्यो ।’
बुढामगर स्की खेल्न युरोप र अमेरिकासम्म पुगे । अपाङ्गता भएर पनि स्की खेल खेल्ने नेपालमा पहिलो खेलाडी बने ।
माउन्टेनरिङसम्बन्धी तालिमपछि माउन्टेन प्रशिक्षक भएर काम गरे । इच्छाशक्ति भए असम्भव केही छैन भन्ने पाठ सिके उनले ।
स्कुल पढ्दा सगरमाथाबारे धेरै पढेका बुढामगर तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा चढेको कथा सुन्दा निकै उत्साहित हुन्थे । पछि उनले विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान पनि राखे ।
कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका भूतपूर्व गोर्खा सैनिक हरि बुढामगरलाई कसैले दुवै खुट्टा नभएको मान्छे कसरी सगरमाथा चढिस् भनेर सोधेमा उनी भन्ने गर्छन्, ‘मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ ।’
प्रतिक्रिया 4