११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको तर निष्कर्षमा पुगि नसकेको जानकारी गराएका छन् ।
नेता लेखकले विकल्पहरूबारेमा भने भन्न चाहेनन् । लेखकले अनलाइनखबरसँग भने, ‘सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको छ । अहिलेसम्म सहमति जुट्न सकिरहेका छैन ।’
कांग्रेसमा चुनाव अघि वा पछि महाधिवेशन गर्ने एजेण्डामा दुईथरी मत छन् । सभापति शेरबहादुर देउवा पक्षका शीर्ष तहका नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि नियमित महाधिवेशन गर्न नेताहरू तयार नहुने हो भने विशेष महाधिवेशन निर्विकल्प भनिरहेका छन् ।
देउवाले बिहीबार आफू निकटका पूर्वपदाधिकारीहरूको समूहलाई बोलाएर छलफल गरेका थिए ।
प्रवक्ता डा. प्रकाशशरण महतले चुनावपछि महाधिवेशन गर्न उपयुक्त हुने धारणा आफूहरूले सभापतिसँग राखेको जानकारी गराए । अर्कोतिर, विशेष महाधिवेशन पक्षधरले अब विकल्प साँघुरिंदै गएकाले विशेष महाधिवेशन हुनुपर्ने आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
प्रतिक्रिया 4