१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका क्रममा सभापति शेरबहादुर देउवा सक्रिय हुनसक्ने गरी निर्णय गरेको छ ।
सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले पार्टीलाई कार्यवाहकको जिम्मा लगाएर बसिरहेका देउवा फेरि सक्रिय हुन सक्नेगरी औपचारिक निर्णय गरेको हो ।
कांग्रेसले १५ औं महाधिवेशनका क्रममा आवश्यकता अनुसार केन्द्रीय प्रतिनिधि खटाउँदा सभापति देउवा सक्रिय हुनसक्ने मार्ग खुला राखेर निर्णय गरेको छ ।
‘१५ औं महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि पार्टी सभापति/कार्यवाहक सभापतिले खटाउनसक्ने छन्,’ बैठकले गरेको निर्णयमा भनिएको छ ।
बैठकले नयाँ र नवीकरण क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्दा सभापति देउवाको सक्रियताको सम्भावना खुला रहन सक्नेगरी निर्णय गरेको छ ।
‘केन्द्रीय सभापति/कार्यवाहक सभापतिले क्रियाशील सदस्यता ‘केन्द्रीय छानबिन समिति’ बाट सहमति भई प्राप्त भएका नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने छ,’ निर्णयमा भनिएको छ ।
कांग्रेसको निर्णयमा १५ औं महाधिवेशनका लागि आवश्यक पर्ने समितिहरू गठन गर्दा आवश्यक परामर्श सभापति देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने उल्लेख छ ।
तर महामन्त्री विश्वप्रकाश शर्माले भने आजको पार्टी निर्णयका कारण देउवा सक्रिय बन्ने सम्भावना नरहेको बताए ।
शर्माका अनुसार सामान्य अवस्थामा सभापतिले प्रयोग गर्ने गरेको अधिकार अब कावा सभापति खड्काले नै प्रयोग गर्नेछन् जसको तर्जुमा केन्द्रीय कार्यालयले गर्नेछ ।
‘कसलाई प्रतिनिधि पठाउने वा के गर्ने भन्ने निर्णय केन्द्रीय कार्यालयले गर्छ, कार्यवाहक सभापतिले त्यसमा हस्ताक्षर गर्नुहुन्छ,’ शर्माले भने, ‘विधानत सभापतिको अधिकार अब उहाँले नै प्रयोग गर्नुहुन्छ । त्यसैले यसभन्दा अगाडीका निर्णय पनि कार्यबाहक सभापतिकै अग्रसरतामा भएका हुन् ।’
प्रतिक्रिया 4