News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली संगीतका कलाकारले अंग्रेजी नयाँवर्ष २०२६ र क्रिसमसको अवसरमा भ्याइनभ्याइ सांगीतिक टूर घोषणा गरेका छन्।
- गायक सज्जनराज वैद्यको अन्तर्राष्ट्रिय टूर ४ जनवरीदेखि दुबईको वल्र्ड ट्रेड सेन्टरमा पुनः सुरु हुँदैछ।
- डिसेम्बरदेखि जनवरीसम्म विभिन्न कलाकार र ब्यान्डले नेपाल र डायस्पोरामा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेका छन्।
काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२६ र क्रिसमस नजिकिएसँगै नेपाली संगीतका कलाकारलाई भ्याइनभ्याइ हुने देखिएको छ । विशेषगरि, गायकगायिकाले उक्त अवसरको लागि सांगीतिक टूरको घोषणा गरिरहेका छन् ।
एकल कलाकारदेखि सांगीतिक समूहको डिसेम्बर अन्त्य र जनवरीको लाइनअपले पूर्णता पाइसकेको छ । नेपाल मात्र होइन, डायस्पोरामा धमाधम कार्यक्रम आयोजना भैरहेका छन् ।
जेनजी आन्दोलनको कारण रोकिएको गायक सज्जनराज वैद्यको अन्तर्राष्ट्रिय टूर ४ जनवरीबाट पुनः सुरु हुँदैछ । उनले उक्त दिनमा दुबईको वल्र्ड ट्रेड सेन्टरमा प्रस्तुति दिँदैछन् । सम्भवतः वैद्यको यो पहिलो दुबई प्रस्तुति हुनेछ ।
पपगायक दीपक बज्राचार्य र उनको ‘एन्ड द रिदम ब्यान्ड’ ले ३१ डिसेम्बरमा झापाको होटल मेची क्राउनमा प्रस्तुति दिनेछ ।
हुलाकी र ट्राइबल रेनले ३१ डिसेम्बरमा प्लाटिनम क्लबमा प्रस्तुति दिनेछन् । नरेन लिम्बु एन्ड द जेन्टलम्यान ब्यान्ड डिसेम्बर ३१ सुर्खेतमा क्लब टेन एक्समा गुञ्जिनेछन् ।

बर्तिका एम राई २६ डिसेम्बरमा ठमेलस्थित क्लब नोभामा गुञ्जिनेछिन् । ३१ डिसेम्बरमा धरान स्टेडियममा द एज ब्यान्ड, केहर एन्ड लुंगा, मुक्ति एन्ड रिभाइभल गुञ्जिनेछन् ।
डिसेम्बर २१ मा नवीन के भट्टराई र ब्यान्ड अतृप्तले ‘साँझ पख कन्सर्ट’ अमेरिकाको मेरिल्यान्डमा गर्दैछन् । अहिलेका चर्चित गायक तथा पर्फमर दुर्गेश थापाले युरोप टूर गर्दैछन् । उनी १९ डिसेम्बरमा कोपनहेगन, २४ डिसेम्बरमा पोर्चुगल र २७ डिसेम्बरमा माल्टामा गुञ्जिनेछन् ।
कुमा सागर एन्ड द ख्वपः ब्यान्ड जनवरी २ देखि जनवरी ३१ सम्म ‘युएसए टुर २०२६’ मा निस्किँदैछ । डिसेम्बरदेखि जनवरीसम्म भरतमणी पौड्यालसहितका हाँस्य कलाकार ‘हाँस्छ अमेरिका टूर’ मा जाँदैछन् ।
लोकगायक प्रकाश दूतराजले ३० डिसेम्बरमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले दुबईमा गर्न लागेको कार्यक्रममा प्रस्तुति दिनेछन् । लोकप्रिय ब्यान्ड ‘कन्दरा’ २८ डिसेम्बरमा चितवनमा आयोजना हुने कन्सर्टमा गुञ्जिनेछ ।
यसबाहेक, अन्य कलाकार र ब्यान्डले पनि धमाधम सांगीतिक टूर र लाइनअप घोषणाको तयारी गरिरहेको बुझिएको छ । कलाकारको लागि अंग्रेजी नयाँवर्ष र क्रिसमस छेकोमा कमाउने आकर्षक अवसर समेत हो ।
डायस्पोरास्थित नेपालीले यस अवसरमा कार्यक्रम आयोजना गर्ने भएकाले नेपाली संगीतकर्मीलाई अबको दुई महिना भ्याइनभ्याइ हुने देखिन्छ ।
प्रतिक्रिया 4