२५ मंसिर, काठमाडौं । नियमित मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठक जारी छ ।
मन्त्रिपरिषद् बैठकअघि हिजो बुधबार सरकार–जेनजी समूहबीच सम्झौता भएको थियो ।
सम्झौता अनुसार सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ ।
नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक दलहरूको सत्तापलट गरेको थियो । त्यही बलमा जेनजी युवाहरूसमेतको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सरकार बनेको हो ।
जेनजीहरुले आन्दोलन अघि कुनै संगठित माग नराखेकाले आन्दोलनमा उठेका विषयहरु त्यत्तिकै बिलाउने जोखिम बढेको थियो ।
त्यसैले जेनजीका केही समूहले आफ्ना मागहरूलाई राज्यसमक्ष संस्थागत रुपमा दर्ता गराउन चाहेका थिए । तर के-के विषय दस्तावेजीकरण गर्ने भन्नेमा लामो समय रस्साकस्सी चल्यो । दुवै पक्षबीच बुधबार सिंहदरबारमा आन्दोलन संस्थागत गर्ने विषयलाई लिएर सम्झौता भएको हो ।
सम्झौता अनुसार, भाद्र २३–२४ को आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिनेछ ।
प्रतिक्रिया 4