४ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शैक्षिक संस्थामा पढ्न जाँदा र्याङकिङ र आधिकारिकता हेरेर मात्र जान विद्यार्थीलाई आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरेर विदेशी विश्वविद्यालय र कलेजमा नेपाली विद्यार्थी ठगिएको गुनासो आएपछि र्याङकिङ र आधिकारिकता हेरेर मात्र अध्ययन अनुमति पत्र (एनओसी) लिएर अध्ययनमा जान अनुरोध गरेको हो ।
‘विदेशमा उच्च शिक्षा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिई विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूबाट विभिन्न समयमा आफ्नो शिक्षण संस्था आधिकारिक नभएको, विश्वविद्यालय/कलेजको भौतिक सुविधासमेत शिक्षण अनुकूल नभएको तथा आफू ठगीमा परेको भन्ने गुनासो आइरहेको सन्दर्भमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ ।
विश्वविद्यालय वा शिक्षण संस्थाको वेबसाइट उपलब्ध रहेको र शैक्षिक संस्था वा विश्वविद्यालयको वरीयताक्रम प्रदान गर्ने टाइम्स हाइयर एजुकेसन वा क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङकिङ वा साङ्घाइ जियातोङ र र्याङकिङको वरीयता हेरेर विश्वविद्यालय/कलेज आधिकारिक रहे/नरहेको पहिचान गर्न मन्त्रालयले भनेको छ ।
‘टाइम्स हाइयर एजुकेसन वा क्यूएस वर्ल्ड युनिभर्सिटी र र्याङकिङ वा साङ्घाइ जियातोङ र्याङकिङको वरीयता सूचीमा उल्लेख भए/नभएको यकिन गरेर मात्र वैदेशिक अध्ययन अनुमति पत्र अनलाइन फारम भर्न, लिन तथा विदेशस्थित विश्वविद्यालय/कलेज तथा शिक्षण संस्थाहरूमा अध्ययन गर्न जान सम्बन्धित सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
हेर्नुहोस् सूचना :

प्रतिक्रिया 4