६ पुस, जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव निर्वाचित भएका छन् ।
आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।
सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । रामआशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए ।
सुरुमै रामआशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहमुतले निर्वाचित भएकोमा सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।
सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातलीय गठबन्धनले पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गराएका थिए । त्यसपछि सो पद रिक्त रहेको थियो ।
प्रतिक्रिया 4