६ पुस, काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा घोषित ‘विश्व ध्यान दिवस’को अवसरमा आइतबार काठमाडौंको खुलामञ्चमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
गत वर्षको डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएपछि नेपालले पनि यो दिवस मनाउँदै आएको हो ।
गत वर्ष पहिलो ध्यान दिवस मनाइएकोमा यस वर्ष पनि त्यसलाई सरकारले निरन्तरता दिएको बोधिसत्त्व स्वामी आनन्द अरुणले जानकारी दिए ।
दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा काठमाडौंका विभिन्न स्कूल, कलेजका विद्यार्थीसहित विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।
स्वामी आनन्द अरुणले नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार ११ वर्षको निरन्तर प्रयासपछि राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको थियो ।
ध्यानको उद्गमस्थल भारतीय उपमहाद्वीप र हिमालय क्षेत्र भएकाले नेपालसँग ‘ध्यानको राजधानी’ बन्ने प्रचुर सम्भावना रहेको उनले बताए ।
उनका अनुसार ओशो तपोवनमा मात्रै ११० भन्दा बढी देशका साधकहरू आइसकेका छन् । अब राज्यले नै अपनत्व लिएर नेपाललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ,’ उनले भने ।
हाल नेपालमा ओशो तपोवनका ९० वटा सेन्टर सञ्चालनमा छन् भने अमेरिका, अष्ट्रेलिया, रूस लगायतका देशमा पनि शाखाहरू विस्तार भइसकेका छन् ।

प्रतिक्रिया 4