६ पुस, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा गरेका ३० प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । गत असोज ६ गते सञ्चारमन्त्री बनेका खरेलले आज महत्त्वपूर्ण उपलब्धिको रुपमा आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरे ।
‘धेरै चुनौतिकाबीच यति मुख्य उपलब्धि भएको छ । आगामी दिनमा इमान्दारिकता साथ काम गरिन्छ’ उनले भने ।
यसअवधिमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामदेखि दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच, सगरमाथाको आधार शिविरमा फोरजी सेवा विस्तारसम्मका महत्वपूर्ण काम भएको उनले बताए ।
यस्तै दूरसञ्चार क्षेत्रमा निःशुल्क वाइफाई इन्टरनेटतर्फ काठमाडौँ उपत्यकाका १९ वटा सार्वजनिक स्थानमा जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाइफाइ जडानका लागि पक्रियाअघि बढाइएको बताए ।
सुदूरपश्चिम प्रदेशमा १५ वटा वायरलेस साइट जडान गरिएको, नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या दुई लाख वृद्धि, जेनजी डाटा प्याक कार्यान्वयन, एभरेष्ट वेस क्याम्पमा फोरजी सेवा विस्तार लगायतका कार्य सम्पन्न गरिएको पनि मन्त्री खरेलले बताए ।
उनले जेनजी आन्दोलनका घाइते पत्रकार सम्मान, जेनजी आन्दोलन क्षतिको विवरण तयार, सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतलाई मुख्य उपलब्धि भनेका छन् ।
सञ्चारमन्त्रीका तीन महिनाका महत्वपूर्ण ३० उपलब्धि





प्रतिक्रिया 4