६ पुस, काठमाडौं । राप्रपाले यस वर्ष पनि पृथ्वी जयन्ती भव्य रुपले मनाउने भएको छ ।
३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरिएको छ भने विभिन्न उसमितिहरु गठन गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताएका छन् ।
‘हामीले ०६४ देखि पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रम र विविध कार्यक्रम गर्दै आएका छौं, यस वर्ष पनि चियापान कार्यक्रमको आयोजना गरेका छौं र विविध कार्यक्रम गरी मनाउँछौं,’ प्रवक्ता श्रेष्ठले भने ।
पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले मञ्च व्यवस्थापन र जलपानको व्यवस्थाका लागि पार्टी केन्द्रीय सचिवालयलाई, अतिथि सत्कार र निमन्त्रणा वितरणका लागि महामन्त्री भुवन पाठकलाई, स्वयं सेवक परिचालनका लागि पार्टीको युवा संगठन र युवा मोर्चालाई, र्याली र झांकीका लागि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लालाई एवं नेवा: झाँकीका लागि राजेन्द्र प्रजापती र नूरज बज्राचार्यलाई संयोजनको जिम्मेवारी प्रदान गरेको छ ।
यसैगरी विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने क्रममा अन्य कार्यक्रम तय गर्न उपाध्यक्ष उद्धव पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ भने प्रबक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय जनकराज पाठक र उद्धवराज भेटुवाल सदस्य रहेको प्रचार समिति गठन गरेको राप्रपाले जनाएको छ ।
पृथ्वीनारायण शाहलाई राप्रपाले आदर्श पुरुष घोषणा गरेको छ । विभिन्न सरकारहरुले पृथ्वी जयन्तीका अवसरमा दिइने सार्वजनिक बिदा कटौती गर्ने गरेको भएपनि ०७९ को निर्वाचनपछि प्रचण्डको नेतृत्वमा राप्रपा सरकारमा जाँदा पृथ्वी जयन्तीको विषयलाई बटमलाइन बनाएको थियो ।
त्यसपछि सरकारले हरेक वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिँदै आएको छ ।
प्रतिक्रिया 4