९ पुस, काठमाडौं । कमल थापा दुई वर्षअघि नै राप्रपामा आउन चाहन्थे । आफू अध्यक्ष रहेको राप्रपा नेपाललाई मूलधारमा मिसाउने उनको चाहनालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समय वास्तै गरेनन् ।
राप्रपाको भूइँतहबाट राजनीतिक खुड्किला चढ्दै केन्द्रीय तहमा पुगेका लिङ्देनले अन्तत: महाधिवेशनमा उनै थापालाई ०७८ मंसिरमा अध्यक्ष पदमा हराइदिएका थिए । हारसँगै क्षुब्ध थापा भने आफूलाई लिङ्देनबाट नभई निर्मल निवासबाट हराइएको निष्कर्षमा स्पष्ट थिए ।
राप्रपा अध्यक्ष पदमा पराजयको पीडाबोधमा थापाले लगत्तै पार्टी नै त्यागे । कतिसम्म भने उनले हिन्दू राजसंस्था नभई हिन्दू गणतन्त्रको एजेन्डासमेत बोक्न पुगे । ०७९ को आम चुनावमा सूर्य चिह्नबाट चुनाव लडिदिए कमल थापाले । थापा पूर्वराजासँग भड्किँदै जाने हुँदा विगतका वैचारिक मान्यताबाट धेरै नै टाढा पुगेका थिए ।
राप्रपाको ब्यानरमा राजसंस्था पुनर्स्थापनाको नारा दिए पनि व्यवहारमा गणतन्त्रवादीको भाग खान कुदिहिँडेको भन्दै दुवै खाले राप्रपाका नेताहरुसँग निर्मल निवास आफैं पनि क्रुद्ध थियो ।
निर्मल निवास, अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहले थापालाई लामै समय उपेक्षा गरे । यता लिङ्देन पनि राप्रपाको सांगठानिक राजनीतिमा लागिपरे । थापासँग भेटघाट उनको एजेन्डामै परेन ।
पूर्वराजा शाहले थापालाई उपेक्षा गर्दैगर्दा लिङ्देनलाई पनि काँध हालेर भने हिँडेनन् । बरु दुर्गा प्रसाईंजस्ता नवराजावादीहरुको सम्मान अभिनन्दन थाप्न उनी देश दौडाहा गर्न थाले ।
पोहोर मंसिर ७ देखि चैत १५, ०८१ सम्म पुग्दा राजावादी एजेन्डा राप्रपा नभई नवराज सुवेदी, जगमान गुरुङ वा प्रसाई इत्यादिले हाइज्याक गरिदिने स्पष्ट हुँदै आयो । सुवेदी र प्रसाईका नेतृत्वमा अलग अलग समिति बन्न थाले । गणतन्त्र फाल्ने एजेन्डाका कमान्डर नयाँ नयाँ आउन थाले । यस्तोमा न थापाको महत्व रहने भयो, न लिङ्देनको । न त राप्रपा भन्ने हलोछाप ब्रान्डको ।

यस्तो पृष्ठभूमि तयार हुनुअघि नै थापाले पोहोर २४ पुस, ०८१ मा हामीसँग भनेका थिए, ‘मेरो राजनीतिक करिअरको उत्तरार्धमा पुग्दैगर्दा सानो पसल चलाउनुपर्छ भन्ने विचार छैन । लिङ्देनले चाहे एक साताभित्रै एकता हुन सक्छ । म एकताको पक्षमा छु । तर उहाँले साथीहरुसँग सल्लाह गरेर जवाफ दिन्छु भन्नुभएको पनि एक वर्ष बितिसक्यो ।’
लगत्तै हामीले लिङ्देनसँग कुरा गरेका थियौं । उनले विगतमा मिल्ने फुट्नेमा कुनै सैद्धान्तिक आधार नखोजी व्यक्तिकेन्द्रित हुने प्रचलन देखिएकाले यसपल्ट समय लिनुपर्ने तर्क गरेका थिए ।
लिङ्देनले अनलाइनखबरसँग भनेका थिए, ‘‘समान विचार र प्रवृत्ति भएका हामी एक ठाउँ आउनुपर्छ भन्ने अनुभूति दुवैतिर छ । कमल थापा दाइको सन्देशलाई मैले पार्टीमा राखेको छु । तर विगतमा मिलिहाल्ने फुटिहाल्ने धेरै गरिएको हुँदा बरु अलिक समय लिएरै अघि बढौं भन्ने खालको भावना पार्टीभित्र छ ।’
त्यसयता उनीहरुले केहीपल्ट बैठक पनि राखे । तर त्यसले कुनै परिणाम दिएन । बरु सडकमा कहिले थापा, कहिले लिङ्देन राजावादी आन्दोलनका क्रममा गिरफ्तार हुन थाले ।
कतिसम्म भने एकपल्ट त थापालाई प्रहरीले समातेर हिरासत पुर्यायो, जहाँ पहिल्यै प्रसाई थुनिएर बसिराखेका थिए ।
प्रसाईंले थापा लिङ्देन आदिको नेतृत्व क्षमता र तिनका प्रति आम विश्वासउपर प्रश्नसहित कटाक्ष नै गरे, ‘ए दाइ पनि यहाँ ? बाहिर खासै आन्दोलनमा मान्छे आएनन् होला हगि ? आउन् पनि किन ! म नै अस्तिदेखि भित्र छु ।’
प्रसाईं यति बेला राष्ट्र, राष्ट्रियता धर्म संस्कृति बचाउ अभियानको संयोजक बनेर प्रधानमन्त्री सुशीला कार्कीसँग सिधा वार्ता गर्ने तयारीमा छन् । यता राप्रपाको चर्चा भने सामसुम छ ।
ठिक यही बेला ‘नयाँ राजनीतिक परिस्थितिको दबाबस्वरुप एकताको आवश्यकता महसुस गरिएको’ लिङ्देन निकट स्रोत बताउँछ ।

यो नयाँ परिस्थितिकै ‘दबाब’ ले बुधबार उनीहरु एकताको निर्णयमा पुगेका छन् । जेनजी आन्दोलनपछि चुनावमा नयाँ–नयाँ दल र नेताहरुको उदय हुँदैगर्दा राप्रपालाई बचेखुचेको शक्ति एकीकृत गर्नुपर्ने दबाब छ । प्रचण्ड, माधव नेपाल लगायत ११ घटक मिलेको, मधेसमा विभिन्न दल मिलेको, अरु पार्टीबीच तीव्र ध्रुवीकरण भइरहेको पृष्ठभूमिमा राप्रपा खेमाहरुलाई पनि एक ठाउँ आउनैपर्ने स्थिति भने जेनजी घटनापछि सिर्जना भएको हो ।
विगतमा पूर्वराजा र दरबार निकटले एकता प्रयास गराउँदा पनि स्वार्थवश मिल्न नसकेका राप्रपा धाराहरु अब निशर्त आपसमा मिल्न तयार छन् ।
एकता भनिए पनि सारमा यो राप्रपाभित्र पुर्वअध्यक्ष कमल थापाको घरफिर्ती हो, जसका पछाडि कुनै शर्तहरु छैनन् । कुनै ठोस बाचाबन्धन गरिएको छैन । सम्भवत: संसारकै सबैभन्दा छोटोमध्येको सम्झौतापत्र तयार छ । जम्मा १६ शब्द अर्थात्, दुई वाक्यको सम्झौतामा लेखिएको छ, ‘राप्रपा र राप्रपा नेपालका बीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा १६ पुसमा सभागृहमा हुनेछ ।
लिङ्देन निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कमल दाइका कुनै माग र शर्त छैनन् । अहिलेलाई उहाँ पशुपतिशमशेर राणाझैं उहाँ पूर्वअध्यक्षको भूमिकामा बस्नुहुन्छ । बाँकी कुरा मिलाउँदै जाउँला ।’
थापाले त बुधबार अनलाइनखबरसँग कुरा गर्दै पार्टीले इस्युहरु निर्णय गर्न बाँकी रहेको भन्दै १६ पुसमा एकता हुने स्पष्ट गरे । ‘अहिलेलाई अध्यक्ष राजेन्द्र लिङदेनजी, नाम राप्रपा र चुनाव चिह्न हलो राख्ने सहमति छ । मेरो विषयमा पनि पार्टीले निर्णय गर्ला । सबै साथीहरूको सम्मानजनक स्थान हुने भनेका छौं ।’
बुधबार राप्रपा पार्टी कार्यालय धुम्वाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका हुन् ।
एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको सुझाव, दवावलाइ ध्यानमा राखेर बिगतका कमी कमजोरी नहोदरिने गरि एक हुने निर्णय गरेको बताए । उनले राष्ट्रवादी शक्तिहरुलाई एकतामा आउन आह्वान समेत गरे ।

थापाले समय र परिस्थीतिले एकै ठाँउ आउने अवस्था बनेको भन्दै बिगतका कमिकमजोरीबाट पाठ सिक्दै पार्टीलाई अघि बढाउने बताए ।
थापाले जेनजी आन्दोलनपछि बढेको ध्रुवीकरणमा राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्छ भनेर एकता गर्ने निर्णयमा पुगेको स्वीकारे ।
लिङ्देनले आफ्ना निकटस्थसँग पार्टीभित्र चर्किदो अन्तविरोध र आसन्न चुनावको पूर्वसन्ध्यामा आवश्यक एकता तयारी भएको ब्रिफिङ गरेका छ्न । यति बेला पार्टीभित्र उनी र महामन्त्री धवल राणा लगायतबीच मनामालिन्य बढ्दो छ । अर्का नेता रवीन्द्र मिश्रले फेसबुकमा लेख्दै पार्टीभित्र अन्तर्र्संघर्ष चुलिएको संकेत गरेका छन् । उनले ‘बम पड्किउँ’ भनी सांकेतिक आक्रोश पोखेका छन्, जहाँ अध्यक्ष लिङ्देन लगायत नेताहरुको कार्यशैलीबारे प्रश्न उठाइएको हुन सक्ने पार्टी स्रोत बताउँछ ।
लिङ्देनको पेलेर लैजाने कार्यशैलीका कारण पार्टीभित्र बस्न सकस हुँदै गएको नेताहरुको आरोप छ । तर राप्रपाका संस्थापन निकट नेताहरु भने लिङ्देनमा लो प्रोफाइलमा बसेर सबैसँग मिल्ने, मिलाउने संस्कारकै कारण राप्रपाको आन्तरिक एकता बलियो हुँदै गएको बताउँछन् ।
‘उहाँले पार्टीभित्र झगडामा हुनुभएका नेताहरुलाई मिलाइसक्नुभयो,’ एक राप्रपा पदाधिकारीले भने, ‘अहिले राप्रपामा झगडा छैन । बाहिर गएका कमल दाइलाई त उहाँले पार्टीमा ल्याइसक्नुभयो । उहाँको स्वभावकै कारण कमल दाइ निशर्त पार्टीमा फर्किनुभयो । यो सानो उपलब्धि होइन ।’
स्रोतका अनुसार कमल थापाले मकवानपुर १ मा यसअघि आफूलाई चुनावमा हराउने राप्रपाका दीपक सिंह नै आगामी चुनावमा उम्मेदवार बन्न चाहे समर्थन गर्ने बताएको बुझिएको छ ।
कमल थापासँग वार्ता- ‘आजको ऐतिहासिक दिनमा पुरानो कुरा नगरुँ’
हस्ताक्षर पत्रमा उल्लेख भएका बाहेकका सहमति के के छन् ?
अध्यक्ष राजेन्द्र लिङदेनजी, नाम राप्रपा र चुनाव चिन्ह हलो राख्ने सहमति छ ।
यहाँको भूमिका के हुन्छ ?
मेरो विषयमा पनि पार्टीले निर्णय गर्ला नि ।
अन्य नेताहरूको बारेमा ?
सबै साथीहरूको सम्मानजनक स्थान हुने भनेका छौं ।
विभाजनको चार वर्षमै एकता किन गर्नुभयो ?
हरेक व्यक्तिको जीवनमा जस्तै संस्थाको पयिन आरोह अवरोह हुन्छ । समय र परिस्थिति निर्णायक हुँदो रहेछ । जेनजीको आन्दोलनपछि ध्रुवीकरण बढ्यो । बदलिँदो परिस्थितिमा राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्छ भनेर एकता गर्ने निर्णयमा पुग्यौं ।
यहाँले राप्रपा नेपाल ब्युँताउने बेलामा राजसंस्थाको मुद्दा छोडेर ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ को नारा लगाउनु भएको थियो । राजतन्त्रको मुद्दा बोकेको पार्टीसँग किन मिल्नु भयो ?
राजसंस्थाप्रतिको आस्था र विश्वास संधै रहिरहेको थियो । त्यो मुद्दा केही समयलाई स्थगित मात्र भएको थियो । पुन: राजसंस्थाकै पक्षमा निर्णय गरिसकेको छौं ।
यहाँलाई पार्टी विभाजनको पछुतो छ कि छैन ?
यस्तो ऐतिहासिक दिनमा त्यसबारे नबोलौं होला ।
प्रतिक्रिया 4