+
+
Shares

अहिलेकै व्यवस्थामा चुनाव भए बालेनले पनि कांग्रेस-एमालेसँग गठबन्धन गर्नुपर्छ : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १५:५४

९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलन देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको आरोप लगाएका छन् ।

बिहीवार काठमाडौं आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जी पुस्ताले संविधान र व्यवस्था रक्षाका लागि आन्दोलन नगरेको भएपनि देशी–विदेशी शक्तिहरुले हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिले नै जेनजी युवा आन्दोलन हाइज्याक भएको प्रमाणित हुने थापाले बताए । ‘देशी, विदेशी शक्तिहरुको सहयोगमा युवाहरुको आन्दोलनलाई हाइज्याक गर्ने काम गरियो । माओवादी अध्यक्ष प्रचण्डले व्यवस्था जोगाएँ भन्नुभयो । यो नै आन्दोलन हाइज्याकको प्रमाण हो,’ थापाले भने ।

उनले युवाहरुले भ्रष्टाचार र कुशासनको अन्त्यका लागि आन्दोलन गरिएको भए पनि वर्तमान व्यवस्थामा भ्रष्टाचार र कुशासनको अन्त्य गर्न असम्भव रहेको बताए । ‘जेनजी युवाहरु यथास्थितिको निरन्तरता र संविधानको रक्षाका लागि आन्दोलन गरेका होइनन् । उनीहरुको कुनै विशेष एजेण्डा नभए पनि भ्रष्टाचारको अन्त्य भनेका थिए । के यही व्यवस्थामा रहेर मुलुकमा भ्रष्टाचार र कुशासन अन्त्य गर्न सकिन्छ त ?’ उनले भने ।

यही व्यवस्थामा निर्वाचन गरिए जेनजी युवा आन्दोलन अधुरो ठहरिने उनले बताए । हालकै निर्वाचन प्रणालीबाट चुनावमा गए बालेनले यदि पार्टी खोलेमा पुरानै दलहरुसँग गठबन्धन गर्नुपर्ने उनले बताए ।

‘यही निर्वाचन प्रणालीबाट चुनाव हुँदा पुरानै पार्टी र केही नयाँ आउलान् । तर कसैले पनि सरकार बनाउनेगरी बहुमत बनाउन सक्दैनन्,’ उनले भने, ‘अहिले बालेनले पार्टी खोल्छ र ठूलो पार्टी हुन्छ भनेर हल्ला गर्छन् तर उनले खोलेको पार्टी कांग्रेस र एमालेसँगै गठबन्धन गर्नुपर्छ । त्यसको के काम ?’

भ्रष्टाचारको मूल जडको रुपमा रहेको संविधान र व्यवस्थालाई यथावत राखेर जनतालाई धोका दिन थालिएको उनले टिप्पणी गरे । यथास्थितिलाई कायम राखेर निर्वाचन भएमा देशमा थप खराब स्थिति आउनसक्ने बताउँदै उनले भने, ‘अहिलेकै राज्य संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र संवैधानिक आयोग राखेर गर्ने भनिएको चुनावको कुनै अर्थ छैन ।’

उनले संवैधानिक अंगमा भइरहेको राजनीतिक नियुक्ति पनि भ्रष्टाचारको मुख्य कारण भएको उल्लेख गरे । ‘अहिले संवैधानिक अंगहरुमा भइरहेको राजनीतिक नियुक्तिले गर्दा मुलुकमा भ्रष्टाचार भएको छ,’ थापाले भने, ‘यो व्यवस्थालाई यथावत राख्ने हो भने भोलि निर्वाचित भएर आउने पार्टीले आफ्नो कार्यकर्तालाई नियुक्ति गर्दैन भन्ने ग्यारेन्टी कसले लिन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?