१० पुस, काठमाडौं । साथी कुमार बेनको ज्वागल निवासमा मंगलबारदेखि भेटघाटमा व्यस्त काठमाडौं मेयर बालेन शाहलाई भेट्न रास्वपा सभापति रवि लामिछाने बिहीबार दिउँसो पुगे ।
दुई दिनअघि कमलपोखरीमा चलेको छलफलमा उठेका विषयलाई रविले बाहिर भिन्नै तरिकाले प्रस्तुत गरिदिएको भन्दै बालेन बिच्केका थिए । उनले अब देशविकास पार्टीको ब्यानरमा आफू अघि बढ्ने भन्दै सल्लाह, परामर्श लिन थालेपछि रवि झस्केका हुन् ।
रवि र बालेनबीच बिहीबार अपराह्नसम्म अढाई घण्टा चलेको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको बुझिएको छ । यसका लागि रविले लचकतापूर्वक पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे कुरा राखेका थिए । स्रोतका अनुसार उनले पार्टीका साथीहरुसँग सल्लाह गरेर नन्पेपर प्रिन्ट गरेर बालेन भेट्न गएका थिए, जसमा उम्मेदवारीको प्रतिशत लगायत विषय उल्लेख छन् ।
रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरे । त्यसमा सल्लाह गरे संख्या अनुपात तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो ।
बालेनले भने समानुपातिक संख्यामा पर्याप्त चासो नदिएको बुझिएको छ ।
भेटपछि बाहिरिएका लामिछानेलाई सन्चारकर्मीले लौरी कि घण्टी भनी सोध्दा उनले ‘समयले बताउने’ जवाफ दिएका थिए । यद्यपि रास्वपाको चुनाव चिह्न घण्टी यसअघि आम रुपमा स्थापित भइसकेकाले त्यस अन्तर्गत अघि बढ्न बालेनलाई समस्या नभएको स्पष्ट जवाफ प्राप्त गरेका छन् । मेयर पदमा उठ्दा बालेनले लौरो चिह्न लिएका थिए जसलाई देशविकास पार्टीले चिह्नको मान्यता दिएको छ ।
पार्टीको नाम रास्वपा नै हुनुपर्ने लामिछानेको शर्तमा बालेनले कुलमान घिसिङ लगायतसँग सल्लाह गरौं भनेका छन् । आजै साँझसम्म कुलमान, बालेन, रविबीच बैठक राख्ने तयारी छ । रविले आफू पनि पार्टीको उच्च तहमा एकपल्ट कुराकानी गरेर आउने बताएका छन् ।
बेलुकीको बैठक अर्को ‘न्युट्रल भेन्यु’ मा राख्ने प्रस्ताव रविले गरेका छन् । बालेनले केही जवाफ दिएका छैनन् ।

बालेन पक्षको चासो सबै सुम्पेर आफूहरु रास्वपामा गएको सन्देश नजाओस् भन्नेमा छ । विवेकशील साझा पार्टीसँग एकता गर्दा त्यस्तो सन्देश गएको भन्दै यो एकता सफल भएमा निशर्त एकता भएको सन्देश जान नहुनेमा बालेन निकटले उनलाई सचेत गराएका छन् ।
रविले भने रास्वपा ५ सय भन्दा बढ्ता पालिकासम्म संगठन खडा गरिसकेको, यसअघि नै १२ लाख भोट पाइसकेको दल भएकाले यसैमा मिल्दा सहज हुने तर्क गरेका छन् । बालेनले त्यसमा सहमति जनाएका छैनन् । जेनजी विद्रोहको केन्द्रमा आफ्नो नामबारे भएको आम छलफललाई बालेनले बैठकमा सांगठानिक शक्तिका रुपमा मान्यता दिइनुपर्ने कुरा राखेका छन् ।
‘मैले चाहेको भए यति बेला यो बैठक नै बालुवाटारमा हुन सक्थ्यो, तर मैले प्रधानमन्त्री बन्ने सटकट रोजिनँ,’ बालेनलाई उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘आम मान्छेले चाहेको एकता गरौं । जेनजीहरुलाई पनि मैले भेटेको छु, उनीहरुको भावना अनुसार अघि बढ्ने मोडल बनाउनुपर्छ । दलको मात्रै शक्ति हेरेर हुँदैन ।’ बालेन र रविको छलफलको मूख्य एजेन्डा भने आसन्न चुनावपछि आउन सक्ने बहुमत र त्यसपछि बन्न सक्ने सरकारको नेतृत्वमा केन्द्रित रह्यो ।
बालेनले समर्थन गरेको भनिएको देशविकास पार्टी, रास्वपा, कुलमानको उज्यालो नेपाल लगायत शक्तिहरुलाई एक ठाउँ ल्याउने प्रयासलाई कसले नेतृत्व दिने भन्ने बहस ज्वागलमा जारी थियो । बालेनले हर्क साम्पाङ, गोपी हमाल लगायत सबै शक्ति जोड्ने भन्दै त्यो आफूले नै पूरा गर्ने स्पष्ट गरेका छन् । रास्वपाले पहल गर्दा यी सबै जोडिन नसक्नेमा बालेन स्पष्ट देखिन्छ ।
उज्यालो नेपाल पार्टीका नेताहरु रास्वपा एक्लैसँग जोडिन असम्भव हुने बुझाइमा छन् । कुलमानलाई आफूभन्दा माथिल्लो बरियताको नेता मान्न रास्वपा उपाध्यक्ष डीपी अर्याल लगायत तयार देखिँदैनन् । कुलमान तल बस्न चाहँदैनन् ।
यो परिस्थितिलाई राम्रोसँग अध्ययन गरेका बालेनले आफू प्रधानमन्त्री बन्ने सम्भावित परिस्थितिमा एकता सहज हुने रविसँग प्रस्ताव गरेका छन् । यसअघि कमलपोखरीमा दुई दिनअघि छलफल गरेका रवि–बालेनबीच पहिलो चरणमा बालेन समेत प्रधानमन्त्री बन्न सक्ने कुराकानी भएको थियो ।
तर बाहिर आएर रविले त्यसभन्दा भिन्न अर्थ लाग्ने गरी बोलेको भन्दै बालेन बिच्केका छन् । रास्वपासँग एकता संवादको अध्याय अघि नबढ्ने सम्भावना रहेको भन्दै बुधबार र बिहीबार बिहान उनले विभिन्न पक्षसँग परामर्श गरेका थिए ।
बिहीबारको ज्वागल वार्तामा बालेनलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन रवि तयार भएका हुन् त भन्ने अड्कलबाजी चलिरहेको छ । रविले निकटस्थसँग यसबारे स्पष्ट बताएका छैनन् । बालेनसँग निकट रहेका रास्वपा नेता असीम शाहले भनेका छन्, ‘संवाद सकारात्मक छ । गम्भीरतापूर्वक एजेन्डाहरुमा कुराकानी चलिरहेको छ । परिणाम पनि सुखद र सकारात्मक आउने अपेक्षा राखौं ।’
रविले आफूसँग सांगठानिक शक्ति, छोटै भए पनि साढे तीन वर्षको राजनीतिक बिरासत रहेको संस्थागत बल देखाएका छन् । बालेनले त्यस आधारलाई जेनजी विद्रोहले नयाँ हिसाबले हेर्नुपर्ने बताएको बुझिएको छ ।
‘एक्लाएक्लै जाँदा कोही पनि सफल हुँदैनन्, पूरानै शक्तिहरु बलिया भएर आउन सक्छन् भन्ने रियलाइजेसन उहाँहरुलाई जोड्ने कडी हो,’ बालेन निकट नेताले भने, ‘तर यसका लागि सल्लाह गर्ने समय कम छ । समानुपातिक तर्फको उम्मेदवार बन्दसूचीको समयसीमा घर्किन लागिसक्यो, हतार छ ।’
रास्वपा केन्द्रीय सचिवालय सदस्य सोबिता गौतमले संवादले निरन्तरता पाउनु स्वागतयोग्य रहेको प्रतिक्रिया दिएकी छन् । जेनजी विद्रोहपछि चुनाव हुन लागिरहेको पृष्ठभूमिमा देशवासीले नयाँ शक्तिहरु मिलेको देख्न चाहेको भन्दै वार्ता त्यसैतर्फ केन्द्रित भइरहेको उनले बताइन् ।
‘सकारात्मक र स्वागतयोग्य छ उहाँहरुको संवाद, सम्भवत: राम्रै नतिजा आउने अपेक्षा राखौं,’ गौतमले भनिन्, ‘देशले नै पुरानो शक्तिको ठाउँमा नयाँ शक्ति खोजेका छन् । उहाँहरुले परिणाममुखी भएर कुराकानीलाई निरन्तरता दिनुभएको छ ।’
रवि ज्वागलबाट फर्के पनि रास्वपाका शिशिर खनाल लगायत नेताहरु बालेनको टिमसँग छलफलमा छन् । पुराना दलका केही नेता, जेनजी प्रतिनिधि, नागरिक समूहका प्रतिनिधि ज्वागलमै संवादरत छन् ।
प्रतिक्रिया 4