News Summary
Generated by OK AI. Editorially reviewed.- नाटक ‘बहादुरपुरको दन्त्यकथा’ बादल सरकारको कृति ‘बल्लभपुरकी रूपकथा’ मा आधारित छ र विजय विस्फोटले भावानुवाद गरेका छन्।
- सरस्वती चौधरीको निर्देशनमा प्रस्तुत यो नाटकले सामाजिक यथार्थ र ठट्टा सन्तुलन गर्दै नेपाली रङ्गमञ्चमा नयाँ निर्देशकको उदय गराएको छ।
- प्रविण खतिवडा, सरिता गिरी लगायत कलाकारको अभिनयले नाटकलाई जीवन्त बनाएको छ र दर्शकलाई लामो समयसम्म सोच्न बाध्य बनाएको छ।
नाटक “बहादुरपुरको दन्त्यकथा” सुरु भएदेखि अन्त्यसम्मको दुईघण्टा हामी बादल सरकारको काल्पनिक तर जीवन्त कथाको जादुमयी संसारमा यसरी हरायौँ कि समय बितेको पत्तै भएन । मञ्चमा घटिरहेका घटनाक्रम, पात्रहरूको उथलपुथल र संवादको प्रवाहले हामीलाई समय र स्थानको सीमाभन्दा बाहिर पुर्याइदिएको थियो । नाटक सकिएर बत्ती बल्दा मात्र हामी पुनः वर्तमानमा फर्कियौँ ।
अग्रज रङ्गकर्मी तथा नाटककार विजय विस्फोटले अत्यन्तै मार्मिक ढङ्गले भावानुवाद गरेकोे र सुरज यादवले निर्माण गरेको यो नाटक भारतीय नाटककार बादल सरकारको कृति ‘बल्लभपुरकी रूपकथा’ मा आधारित छ । मुख्यतया ‘कमेडी’ जनरामा बुनिएको यो कथाले एकातिर काल्पनिक र ठट्यौली संसारको आनन्द दिन्छ भने अर्कोतिर कठोर सामाजिक यथार्थको चित्रण गर्छ । हाँसो र गाम्भीर्यको यो सन्तुलन मिलाउनु रङ्गमञ्चमा निकै चुनौतीपूर्ण काम हो, जसमा यो टिम सफल छ ।
नाटकको सुखद र चकित पार्ने पक्ष सरस्वती चौधरीको सशक्त निर्देशन हो । रङ्गमञ्चकी उम्दा कलाकारका रूपमा परिचित उनले मेरा केही रेडियो नाटकमा सहकार्य गरिसकेकी छिन् । उनी अब्बल कलाकार हुन् भन्नेमा दुईमत छैन, तर “बहादुरपुरको दन्त्यकथा” हेरेपछि उनको यति कुशल निर्देशकीय क्षमता अहिलेसम्म कसरी ओझेलमा पर्यो र उनले यो सामथ्र्यलाई कसरी लुकाएर राख्न सकिन् भन्ने प्रश्नले मलाई चकित तुल्याएको छ ।
एउटा कलाकारको रूपमा स्थापित चौधरीले निर्देशनमा जुन कला, नियन्त्रण र स्पष्ट दृष्टिकोण देखाएकी छिन्, त्यसले उनलाई नेपाली रङ्गमञ्चको एक प्रखर निर्देशकका रूपमा दरिलो उपस्थिति गराएको छ । उनको निर्देशनमा कतै पनि अल्झन छैन, बरु एउटा मीठो लय र शिल्प छ ।
नाटकमा प्रविण खतिवडा, सरिता गिरी, कमलमणी नेपाल र घनश्याम जोशीजस्ता अनुभवी र पोख्त कलाकारको सशक्त अभिनय छ । साथै स्वयं निर्देशक चौधरी, रामभजन कामत, दिपल बराल, चन्द्र नेपाली र आदित्यनारायण मिश्राको सन्तुलित प्रस्तुतिले नाटकलाई प्राण भरेको छ । कलाकारको यो टिमले हरेक पात्रको गहिराइलाई उत्तिकै कुशलताका साथ न्याय गरेको छ । दर्शकलाई पेट मिचीमिची हँसाउने यो नाटकको हाँसोभित्र एउटा तीखो व्यङ्ग्य लुकेको छ, जसले सत्ता र शक्तिको आडमा रचिएका भ्रमपूर्ण कथालाई उदाङ्गो पारिदिन्छ ।

‘बहादुरपुरको दन्त्यकथा’ विचार, हाँस्य र कलानिर्देशनको एउटा उत्कृष्ट संयोजन हो । विजय विस्फोटको सुन्दर अनुवाद, सुरज यादवको निर्माण र चौधरीको अद्भूत निर्देशकीय कौशलका कारण यो नाटक हेर्नैपर्ने र सम्झन लायक बनेको छ । यो प्रस्तुतिले नेपाली रङ्गमञ्चमा एउटा नयाँ र सामथ्र्यवान् निर्देशकको उदयलाई आधिकारिक रूपमा दर्ता गराएको छ ।
नाटक हेरिरहँदा मनमा धेरै भावना खेलिरहे । मलाई लाग्छ, रङ्गमञ्च केवल दृश्यको प्रस्तुति मात्र होइन, यो त पुराना स्मृति र नयाँ चेतनाको मिलनविन्दु पनि हो । विशेष गरी निर्देशक चौधरीलाई पुरानो ‘गुरुकुल’ को त्यो तिर्सना र झल्को मेटाइदिएकोमा विशेष धन्यवाद दिनैपर्छ । मञ्चमा नाटक हेरिरहँदा मेरो छेउमा मित्र ओम रिजाल भए पनि मैले आदरणीय गुरु सुनिल पोखरेललाई धेरै पटक सम्झिएँ ।
नाटकको प्रस्तुति शैली, कलाकारको अनुशासन र त्यो कलात्मक गाम्भीर्यले कता-कता सुनिल सरको पदचाप र गुरुकुलको स्वर्णिम काललाई स्मरण गराइरह्यो । एउटा सफल निर्देशनको कसी पनि सायद यही नै हो, जसले दर्शकलाई आफ्नो कला र गुरुसम्म पुर्याएर जोडिदिन्छ र विगतका ती सुन्दर पलहरूलाई वर्तमानको मञ्चमा पुनर्जीवित गराइदिन्छ ।
केही प्राविधिक पाटोलाई छोड्ने हो भने नाटक उत्कृष्ट बनेको छ । पाश्र्वसङ्गीतले अलिकति डिस्टर्ब गरेको महसुस हुन्छ भने प्रकाश परिचालनमा पनि केही प्राविधिक त्रुटि देखिन्छन् । यद्यपि, यस्ता साना प्राविधिक कमजोरीले नाटकले बोकेको मूल भाव र कलाकारहको जीवन्त प्रस्तुतिलाई भने छायाँमा पार्न सकेका छैनन् ।

अनुवादित नाटक भए पनि यसले हाम्रो समाजको यथार्थलाई जसरी प्रतिविम्बित गरेको छ, त्यो प्रशंसनीय छ । मञ्चको प्रकाश, सङ्गीत र कलाकारको पदचापले एउटा यस्तो माहोल सिर्जना गरेको छ, जसले दर्शकलाई नाटकघरबाट बाहिर निस्किएपछि पनि धेरै समयसम्म सोचमग्न बनाइरहन्छ । अबको अपेक्षा र आशा यो छ कि, यो प्रतिभाशाली र ऊर्जावान टिमले अर्को पटक पक्कै पनि हाम्रै माटोको सुगन्ध बोकेको कुनै मौलिक नेपाली नाटकलाई यसरी नै भव्यताका साथ मञ्चन गर्नेछ ।
मलाई लाग्छ, रङ्गमञ्च केवल दृश्यको प्रस्तुति मात्र होइन, यो त नयाँ सिर्जनाको प्रेरणाभूमि पनि हो । नाटक हेर्दै गर्दा मेरो मनमा अर्को एउटा बलियो आशा पनि पलायो । मैले मित्र ओम रिजाललाई सधैँ नाटक लेख्न घचघच्याइरहेको हुन्छु ।
कर्णालीको भूगोल, त्यहाँको जनजीवन र सुगन्धित संस्कृतिमाथि गहिरो दख्खल राख्ने ओमजीले यो नाटक हेरिसकेपछि पक्कै पनि एउटा उत्कृष्ट नाटक लेख्नेछन् भन्ने कुरामा म पूर्णतः विश्वस्त छु । ‘बहादुरपुरको दन्त्यकथा’ ले जुन किसिमको निर्देशकीय र रङ्गमञ्चीय ऊर्जा प्रवाह गरेको छ, त्यसले उहाँभित्रको लेखकलाई पक्कै पनि झक्झक्याएको हुनुपर्छ । कर्णालीका रैथाने मिथक, कथा र त्यहाँको समाजको अन्तरकथालाई नाटकको स्वरूपमा ढाल्ने हो भने नेपाली रङ्गमञ्चले एउटा अर्को उचाइ प्राप्त गर्नेछ । म चाहन्छु, अब सरस्वती चौधरी जस्ता सामथ्र्यवान् निर्देशकले ओमजी जस्ता गहिरो अध्ययन भएका लेखकका मौलिक कृतिलाई मञ्चमा उतार्ने जमर्को गरून् ।



प्रतिक्रिया 4