News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिपुर थिएटरले मदन पुरस्कार विजेता उपन्यास \'सेतो धरती\' लाई नाटकमा रूपान्तरण गरी मञ्चन सुरु गरेको छ।
कति सजिलै श्रीमानले भन्दिन्छन्, तिम्रो मृत्यु भयो भने त अर्को बिहे गर्दिन्छु ।
त्यसमा यमुनाले केही प्रतिपाद गर्दिनन् । बरु श्रीमानको आलिङ्गनमा जान्छिन् । श्रीमानको शरीरलाई अडेस लगाएर बस्न खोज्छिन् । यसबेला लामो लामो सास फेरिरहेकी हुन्छिन्, यमुना । उनको मुटुको चाल बढिरहेको हुन्छ । मदहोस हराइरहेकी हुन्छिन् ।
अर्कोतिर, तारा- जो यमुनाबाट श्रीमानसँगको गोप्य कहानी सुनिरहेकी हुन्छिन्- उनी पनि यमुना जसरी नै आफ्नो ‘भगवान’सँग आड लिन खोज्छिन् । कोसिस गर्छिन् । उसको शरीरको भावभंगीमा यमुनालाई पछ्याउने कोसिसमा हुन्छ । उनको भाव पनि यमुनाकै समान छ ।
तर, अँह तारा सक्दिनन् ।
किनकि यमुना र ताराबीच रङको फरक छ । यमुना रातो सारीमा सजिएको छिन्, तारा सेतोमा । यमुनाको शीरमा गहना र सिन्दुर छ । ताराको खाली । यी त शरीरमा लगाइएका कपडा र गहनाका कुरा भए । यमुना इन्द्रेणीझैं रंगीन छिन्, झलमल छ उनको जिन्दगी । तारा श्यामश्वेत छिन् , खल्लो छ उनको जीन्दगी ।
कान्तिपुर थिएटरमा नाटक – सेतो धरती – को ठीक यही दृश्य मञ्चन भइरहँदा धेरै दर्शकहरू कानलाई चनाखो र आँखा पहिलेभन्दा बढी खुल्लामा बनाएर मञ्चतिर नियालिरहेका थिए ।
000
‘सेतो धरती’ नेपाली साहित्यको प्रभावशाली उपन्यास हो । मदन पुरस्कार विजेता पुस्तक हो । आख्यानकार अमर न्यौपानेलाई थप परिचित बनाउने कृति हो ।
उपन्यासमा बालविवाह र बाल्य अवस्थामै विधवा बन्नुपर्दाको पीडाको प्रसंग छ । त्यससँगै विधवाप्रति समाजको क्रुर नियम, नारीको यौनिक कुण्ठा, पितृसत्तात्मक संरचनाभित्र दवेको नारीका मनोकांक्षा जस्ता विषयवस्तु यसमा छन् ।
यति धेरै गहन विषयवस्तु भएको उपन्यासलाई नै कान्तिपुर थिएटरले नाट्य रूपान्तरण गरेको हो ।

यसअघि आफ्नो दोस्रो नाटकका रूपमा यो नाटकघरले ‘मीरा’ मञ्चन गरेको थियो । त्यसबखत नै नयाँ नाटक गर्ने सन्दर्भमा आख्यानकार न्यौपनेसँग एक प्रकारको सम्झौता पनि भइसकेको थियो । उपन्यासलाई नाटकमा न्याय गर्ने निर्देशकको खोजीमा थियो नाटकघर । केही निर्देशकहरूको स्क्रिनिङपछि नाटकघर सुन्दरकहाँ नै आइपुग्यो ।
उनी ‘मीरा’मा पनि निर्देशक/रूपान्तरणका रूपमा थिए ।
नाटकघरको कुरा सुनेपछि सुरुमा सुन्दरलाई यति विशाल उपन्यासलाई मञ्चमा देखाउन ‘८/१० घण्टा लाग्छ’ जस्तो लागेको थियो । तर, नाटकघरको सर्त ‘नाटक डेढ घण्टाभन्दा बढी’ हुनुहुन्थेन । त्यसपछि सुन्दरले ‘दूधबाट घिउ’ बनाए झैं उपन्यासलाई नाटकमा परिणत गरे ।
उपन्यासमा भएका प्रमुख घटना, विशेषत: ताराको जीवनका प्रमुख घुम्तीहरूलाई टिपे । त्यसो गर्दा नाटकले रूप लिँदै जान थाल्यो । अनि ‘मीरा’मा उनलाई निर्देशनमा सहायता गरेका प्रकाश दाहालले संवाद, दृश्यहरूमा सहयोग गरे ।
यसरी काम गर्दै गएपछि र त्यसमा आख्यानकार न्यौपानेसँगको छलफलपछि नाटकले अन्तिम रूप लियो । त्यसपछि कलाकाहरू चयन गर्ने, रिहर्सल गर्ने, स्टेज बनाउने, साउन्ड, लाइट आदिको काम सुरु भयो । र, अहिले मञ्चन भइरहेको ‘सेतो धरती’ तयार भयो ।
000
‘सेतो धरती’ उपन्यास वृहत क्यानभासमा कोरिएको छ । पात्र, स्थान र घटनाहरू धेरै छन् । तीन बाट आवश्यक र प्रमुख पात्र, स्थान र घटना मात्रै झिकेर नाटक बनाइएको छ ।
तर, यस्तो लाग्दैन- उपन्यासलाई अन्याय भयो । यद्यपि नाटक हेरिरहँदा कताकता ‘ती पात्रहरू आइदिएको भए, ती घटनाहरू आइदिएको भए’ भन्ने लाग्छ । भलै, यो अभाव पर्याप्त हुने ठाउँ भने छाडिएको छैन । यस कार्य निर्देशक सुन्दर धिताल र २४ जना कलाकार तथा अन्य प्राविधिक सफल भएका छन् ।

उपन्यास पढ्दा जति आवेग आउँथ्यो, पात्रहरूप्रति माया जाग्थ्यो, आँसु झार्थ्यो, उकुसमुकुस बनाउँथ्यो – नाटकले पनि त्यस्तै बनाउँछ । अझ बढी पनि हुन सक्छ । किनकि, उपन्यासका पात्रहरू आफ्नै आँखा अगाडि देखिन्छन् । तर, तपाईंले उपन्यास पढ्नुभएको छैन भने नाटकको कथामा बग्न, पात्रहरूसँग जोडिन अतिरिक्त मेहनत गर्नुपर्ने हुन्छ ।
नाटकको राम्रो पक्ष कथावाचन, पार्श्व संगीत र मञ्च हो ।
उपन्यासमा तारालाई आफ्नो अतीतमा गएर आफूले गरेका कामहरू, आफू हुँदाको पलहरू देख्न, भोग्न मनपर्छ । त्यो रहर निर्देशक सुन्दरले पूरा गरिदिएका छन् । आफ्नो दुलाहा गुमाएर विधवा भएकी तारा पटक-पटक आफ्नो विगतमा पुग्छे । तर, ऊ यति निरीह हुन्छे कि विगतलाई हेर्नु सिवाय केही गर्न सक्दिन ।
नाटकमा ताराको सबै रूप – बालिका, किशोरी, युवा र वृद्ध – देख्न सकिन्छ । यसका लागि फरक-फरक कलाकार छन् । तर, पात्र एउटा; कलाकार फरक भएको अनुभूति फिटिक्कै हुँदैन । यो कलाकारहरूको राम्रो अभिनयको देन हो ।
ताराको भूमिकामा परिचित अभिनेत्री बेनिशा हमाल, सुष्मिता श्रेष्ठ, एड्रिन धमला छन् । बेनिशा ताराको दुई फरक उमेरमा देखिएकी छिन् । यो उनको पहिलो थिएटर अनुभव हो । उनको व्यक्तिगत अभिनयको कुरा गर्दा कताकता संवादमा अझ काम गर्न सकिने ठाउँ रहेको हो कि ! भन्ने लाग्छ । त्यसबाहेक उनले पात्रलाई न्याय गरेकी छिन् ।
उनी आफैंले यो नाटकमा काम गरेपछि ‘१५ वर्षसम्म फिल्म उद्योगमा काम गरेको आफ्नो घमण्ड तोडिएको’ बताइन् । साथै तारा पात्रको अलिकता भएपनि नजिक पुग्न सकेको सुनाइन् । यो पात्रलाई हरेक दर्शकले फरक-फरक तरिकाले लिने, बुझ्ने र ग्रहण गर्ने उनको भनाइ छ ।
तराका बा र आमाको भूमिका निर्वाह गर्ने उमेश सुनाम र सजना थापाको अभिनय अत्यन्तै वास्तविक लाग्छ । प्रप्समा अपुग भएको र केही त्रृटि भएको कुरालाई छाड्ने हो उनीहरूले मञ्चमा अन्य कलाकार हुँदा पनि ध्यान आफूतिर तान्न सफल हुन्छन् ।
नाटकमा बालकलाकारहरूको अभिनय प्राकृतिक देखिन्छ । उनीहरूको खेल, उनीहरूको जोश जाँगरले दर्शकलाई उत्साहित पार्छ । तर, दृश्य चाँडो -चाँडो रूपान्तरण हुँदा भने कताकता त्यो प्राकृतिकपनलाई भत्काउँछ । यसमा निर्देशक सुन्दरले काम गर्नुपर्ने ठाउँ छाडेका छन् ।
त्यसको क्षतिपूर्ति उनले कथावाचनमार्फत गरेका छन् । नाटक देवघाटबाट सुरु भएर देवघाटमै देखिन्छ । त्यो बीचमा कहिले हामी तारासँगै उनको अतीतमा पुग्छौं भने कहिले उनको वर्तमानमा आउँछौं ।

त्यस्तै, नाटकको भव्य मञ्चले पनि क्षतिपूर्ति कम गर्ने काम पक्कै गरेको छ । किनकि दर्शकहरूले ताराको माइतीघर, ताराको घर, उनको खेल्ने ठाउँदेखि उनको कुटीसम्मका स्थानहरू मञ्चमा देख्न पाउँछन् । त्यो वृहत स्थानलाई चलाखीपूर्ण तरिकाले निर्देशक सुन्दरले मञ्चमा अटाएका छन्।
नाटकका लागि कथा सुहाउने गीत बनाइएका छन् । जुन सेतो धरतीका पाठकका लागि ‘कम्प्लिमेन्टरी’ नै हो । र, निरन्तर बजिरहने प्रत्यक्ष पार्श्व संगीतले मञ्चमा प्राण भर्छ । यस्तो लाग्छ, त्यो संगीत नहुँदो त मञ्च अत्यन्तै खल्लो हुने थियो
000
अहिले समाजमा ताराको जस्तै उमेरमा त कसैको विवाह हुँदैन तर किशोरी अवस्थामै विहे गर्ने र आमा बन्ने क्रम रोकिएको छैन । २० वर्षमुनिको बिहेलाई कानुनले बर्जित गरे पनि त्यसको पूरा पालना हुन सकेको छैन ।
चलनमा छन् । भलै ती बाहिर नआएका किन नहोउन् ! तर, कुनै समय यो हाम्रो समाजको यथार्थ थियो । ताराजस्ता हजारौं निर्दोष नारीहरूलाई जिउँदै मार्ने काम त्यो प्रथाले पक्कै गर्यो ।
कल्पना गर्नुहोस्– तपाईं भर्खर ७ वर्षको पुग्नुहुँदैछ । यो खेल्ने, रमाउने, आफूले भनेको कुरा नपाउँदा रुने समय हो । तर, तपाईंलाई थाहै नदिई तपाईंको विवाह गरिँदैछ, विवाह भनेको के हो त्यो तपाईंलाई थाहै छैन । आफ्नो विवाह भइसकेको कुरा थाहै हुँदैन तर तपाईंको दुलाहा छ । उनीप्रति तपाईंमा कति प्रेम छैन, उनी प्रति अलिकता पनि भावना छैन ।
अनि यही अवस्थामै समाजले भन्छ ‘तँ विधवा भइस्’ । अनि आमाले किनिदिएका चुराहरू जबरजस्ती फुटाइन्छ । इच्छाविरुद्ध तपाईंलाई सेतो कपडा लगाइदिइन्छ, रहरहरू खोसिन्छ; खुसी खोसिन्छ । हाँसो, खुसी र वैंसको उमंग सबै खोसिन्छ । मात्र रहन्छ– शरीरमा सेतो कपडा, समाजको तिरस्कार र निचोरिएको मन ।

त्यसपछि तपाईं कसैको पनि हुनुहुन्न । न आफ्नो न अरूको । आफ्नाहरूले पनि विस्तारै साथ छाड्दै जान्छन् । अनि तपाईं बिल्कुलै एक्लो, खोक्रो र निस्सार हुनुहुन्छ । अझ बढी दु:ख त तपाईंलाई खोज्न कोही आउँदैनन् ।
वनमा मिठो स्वरमा कोइलीले गाएको सुन्नुहुन्छ । कुनै समय त्यो स्वरले तपाईंलाई उद्धेलित बनाउँथ्यो । यसपटक कोइलीको ‘कुहु कुहु’ फिका लाग्छ, आफ्नो जीवन जस्तै । अनि तपाईं भन्नुहुन्छ – ‘नकरा चरी नकरा, छाडेर गका मुन्छेहरू आउँदा रहेनछन् !’
तपाईं यो भन्ने अवस्थामा कसरी पुग्नु भयो ? कसले पुर्याए ? दोष कसको ? यसमा हार कसको ? जीत कसको ? तपाईं कता जानुहुन्छ ? के गर्नुहुन्छ ? तपाईंको मन कस्तो हुन्छ ? के तपाईंको आँसु पुछ्ने कोही हुन्छन् ? आँशुको अर्थ नै बुझ्ने कोही हुन्छन् ? यो कुराले कति पीडा दिन्छ ? जीवन कस्तो हुन्छ ? के सहनयोग्य छ यो पीडा ?
यी सबैको जवाफ तपाईंले नाटक ‘सेतो धरती’मा पाउनुहुन्छ । र, तपाईं त्यो डरलाग्दो र पीडादायी समयको अनुभूति गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4