+
+
Shares

बन्न सक्छ कांग्रेस–एमाले चुनावी गठबन्धन

नयाँ शक्ति एक भए भनेर हामी आत्तिनुपर्ने छैन । हामीले पनि गठबन्धन गर्न हुँदैन भन्ने छैन । संसारभर गठबन्धन बनाएर चुनाव लड्ने अभ्यास छ । हामीकहाँ पनि गठबन्धन हुँदै आएको छ । यसकारण गठबन्धनको अभ्यासलाई स्वभाविक अर्थमा लिनु पर्छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ पुष ११ गते २१:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सभाको निर्वाचनका लागि चुनावी गठबन्धनको विषयमा निरन्तर संवाद भइरहेको छ।
  • एमालेका महासचिव शंकर पोखरेल र कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले औपचारिक तथा अनौपचारिक भेटघाट गरिरहेका छन्।
  • चुनावी सहकार्यमा कांग्रेस र एमालेबीच तालमेल, एक्लै प्रतिस्पर्धा, वा सबै प्रमुख शक्तिहरूको भागवण्डा गर्ने तीन विकल्पमा छलफल भइरहेको छ।

११ पुस, काठमाडौं । वैकल्पिक शक्तिहरूबीच एकता र गठबन्धनको प्रयास भइराख्दा यसअघि संसदमा रहेका शक्तिहरू पनि निरन्तर संवाद्‌मा छन् ।

१० मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । उक्त भेटमा डा. आरजु राणा पनि थिइन् । उनीहरूबीच यही पुस ७ गते फेरि भेट भयो । भेटमा एमालेका महासचिव शंकर पोखरेल पनि सहभागी छन् ।

पछिल्ला दुई औपचारिक भेटका अलावा पहिलो र दोस्रो तहका नेताहरूबीच पटक–पटक अनौपचारिक छलफल भएको छ । अनौपचारिक भेटमा कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक सक्रिय छन् ।

नेताद्वय कृष्णप्रसाद सिटौला र श्याम घिमिरे पनि भेटघाटमा छन् । एमालेका तर्फबाट महासचिव पोखरेल ज्यादा सक्रिय छन् ।

 भेटघाटमा छलफल भइरहेको एउटा विषय हो– चुनावी गठबन्धन ।

एमाले अध्यक्ष केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवा । फाइल तस्वीर ।

प्रतिनिधि सभाको सन्दर्भमा छलफल गर्ने समय रहे पनि राष्ट्रिय सभामा उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै नेताहरूको दौडधुप बढेको छ । ११ माघमा हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर रोकायका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा चुनावी सहकार्यबारे तीन कोणबाट छलफल भएको  छ ।

पहिलो : कांग्रेस र एमालेबीच तालमेल

दोस्रो : एक्ला/एक्लै प्रतिस्पर्धा

तेस्रो : प्रमुख शक्ति सबै मिल्ने र भागवण्डा गर्ने ।

कांग्रेस र एमालेका बीचमा सहकार्य आवश्यक छ भन्नेहरूको तर्क छ– यी दुई दलबीच सम्बन्धको निरन्तरता आवश्यक छ । किनभने, नयाँ शक्तिहरूले केन्द्रमा राखेका शक्ति नमिल्दा भविष्यमा चुनौतीको सामना गर्नमा असहजता आउन सक्दछ ।

रोकाया भन्छन्, ‘अब एमालेसँग सम्बन्ध बिगारिहाल्नु त्यति राम्रो कुरा होइन ।’ उनका अनुसार चुनावी गठबन्धनको सन्दर्भमा केही विषय केलाउनुपर्ने छ । जस अन्तर्गत प्रदेश सरकारहरूमा कांग्रेस र एमाले गठबन्धनमा छन् । यसकारण राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गठबन्धन गर्दा यसले अर्थ राख्नेछ ।

‘नयाँ शक्ति एक भए भनेर हामी आत्तिनुपर्ने छैन । हामीले पनि गठबन्धन गर्न हुँदैन भन्ने छैन । संसारभर गठबन्धन बनाएर चुनाव लड्ने अभ्यास छ । हामीकहाँ पनि गठबन्धन हुँदै आएको छ । यसकारण गठबन्धनको अभ्यासलाई स्वभाविक अर्थमा लिनु पर्छ ।’

– श्यामकुमार घिमिरे, कांग्रेस नेता

कांग्रेस र एमाले मधेश प्रदेश बाहेकको सरकारमा सँगै छन् । मधेश प्रदेश सरकारमा पनि कांग्रेस र एमाले जनमत पार्टीका नेता सतीशकुमार सिंह नेतृत्वको सरकारमा सँगै थिए । सिंह नेतृत्वको सरकार ढलेपछिको अवस्थामा भने कांग्रेस र एमाले दुईतिर भएका थिए ।

तथापि, पछिल्लो समय कांग्रेसका कृष्ण प्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई एमालेले पनि समर्थन गरेर साथ दिएको छ ।

बाँकी प्रदेशहरूमध्ये कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार छ । त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार छ ।

विगतको सहकार्य जे जस्तो रहेता पनि एमालेसँग चुनावी तालमेल गर्न हुँदैन भन्ने पक्ष पनि कांग्रेस भित्र छ । जेनजी आन्दोलनले विस्थापित गरेका दुई शक्ति एक भए भनेर हुने प्रचारले समाजका कस्तो प्रभाव पर्छ भन्नेमा उनीहरू छन् । यस्तो तर्क गर्नेहरू एक्ला/एक्लै चुनाव लडौंं भन्नेमा छन् ।

एक्ला–एक्लै चुनाव लड्दा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिले भने के हुन्छ ? भन्ने प्रश्नले पनि कांग्रेसलाई गाँजेको छ । नेता रोकायाकाअनुसार यदि एक्ला एक्लै चुनाव लड्ने भनियो र अन्तिममा एमाले र नेकपा मिले भने कांग्रेसलाई सुदूरपश्चिम प्रदेश बाहेक अन्यत्र समस्या हुन्छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस ठूलो दल छ । एमाले दोस्रो, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी तेस्रोमा छ । दोस्रो र तेस्रो दल मिले पनि कांग्रेस बराबर मतभार छैन ।

एक्ला एक्लै प्रतिस्प्रर्धा गर्दा एमाले र नेकपा मिल्न सक्ने सम्भावना देख्नेहरूको तर्क छ– राष्ट्रिय सभामा १८ पदका लागि निर्वाचन हुँदैछ । सुदूरपश्चिमबाट दुई जना निर्वाचित हुँदैछन् । दुई सिट मात्रै हेरेर कांग्रेस बस्ने हो त ?

‘कांग्रेससँग राष्ट्रिय सभा निर्वाचनमा सँगै जाऔं भन्ने परिस्थिति विकास भयो भने त्यसलाई हामीले सहज मान्छौ । त्यो भन्दा बाहिर रहेर कांग्रेसलाई बाहिर राखेर हामी अरुसँग अहिले समन्वय गरेर अगाडि बढ्ने पक्षमा छैनौं । यो प्रष्ट कुरा हो ।’

– महेश बर्तौला, एमाले

यस्तो आशंकासहित तेस्रो विकल्प सार्नेहरू छन् – कांग्रेस, एमाले र नेकपा तीन वटै शक्तिका बीचमा चुनावी सहकार्य गर्ने ।

कांग्रेस नेता रोकाया भन्छन्, ‘ठूला शक्तिहरु मिले भने एउटा म्यासेज पनि जान्छ– कि संविधान बनाउने शक्ति एक ठाउँमा छन् । चुनावी परिणाममा पनि ठूलो तलमाथि हुँदैन, कसैको केही सिट तल माथि हुने न हो । यसमा कांग्रेसले समन्वय र नेतृत्व गर्न सक्दछ ।’

शंका चिर्दै नेताहरू

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवासँग निरन्तर गरिरहेको भेटमा संविधान निर्माणका पक्षधर, अनि पछिल्लोपल्ट सरकार हाँक्दा राजनीतिक स्थिरता र आर्थिक सुधारको एजेन्डा दिएका कारण पनि यी दुईबीच मेल हुनुपर्ने मत राखिरहेको बुझिएको छ ।

एमाले कांग्रेससँग सहकार्यको पक्षधर रहेको, तर विगतमा झैं माओवादी सहितका घटक मिलेको नेकपासँग मेल हुने सम्भावना भने एमालेले हाललाई अस्वीकार गरेको छ ।

कांग्रेससँग गठबन्धन नभए नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टीसँग मिल्न जान्छ कि भनेर शंका गर्नुपर्ने अवस्था नरहेको बताउँछन् एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौला ।

उनी अनलाइनखबरसँग भन्छन्, ‘हाम्रो प्रष्ट कुरा छ– कांग्रेससँगको इन्टरनल सहकार्य भएर राष्ट्रियसभा निर्वाचनमा जाऔं भन्ने परिस्थिति विकास भयो भने त्यसलाई हामीले इजी मान्छौ । त्यो भन्दा बाहिरको परिस्थिति चाहिँ कांग्रेसलाई बाहिर राखेर हामी अरुसँग अहिले समन्वय गरेर अगाडि बढ्ने पक्षमा छैनौं । यो प्रष्ट कुरा हो ।’

कांग्रेस र एमाले दुवै दलका नेताहरू सहकार्य गर्नुपर्छ भन्नेमा छन् । यस आधारमा शीर्ष नेताहरू बर्तमान राजनीतिको समीक्षा र आगामी यात्राका सम्बन्धमा छलफलमा छन् ।

तर, सहकार्य गर्दा औचित्य पुष्टि गर्ने र समाजले गर्न सक्ने सम्भावित प्रश्नको जवाफबारे निचोडमा पुगिसकेका छैनन् ।

यसअघि यी दुई दलले सरकार बनाउँदा संविधान संशोधन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन स्थापना गर्ने विषयलाई आधार बनाएका थिए । १७ असार २०८१ को मध्यराति भएको उक्त सम्झौता अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने समझदारी थियो ।

तर, २३ र २४ भदौको जेनजी आन्दोलनले दुवैलाई सत्ताच्युत गरिदियो र मुलुकमा अन्तरिम सरकार छ । अन्तरिम सरकारले मुलुक हाँकिरहेका बेला फेरि कांग्रेस र एमालेका बीचमा सहकार्य गर्नुको आधार प्रस्तुत गर्ने सन्दर्भमा नेताहरू प्रष्ट जवाफ दिइरहेका छैनन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे संसदीय राजनीतिमा चुनावी गठबन्धन संसारभर हुने गरेको र नेपालमा पनि हुँदै आएको बताउँछन् ।

‘नयाँ शक्ति एक भए भनेर हामी आत्तिनुपर्ने छैन । हामीले पनि गठबन्धन गर्न हुँदैन भन्ने छैन’ उनी अनलाइनखबरसँग भन्छन्, ‘संसारभर गठबन्धन बनाएर चुनाव लड्ने अभ्यास छ । हामीकहाँ पनि गठबन्धन हुँदै आएको छ । यसकारण गठबन्धनको अभ्यासलाई स्वभाविक अर्थमा लिनु पर्छ ।’

दुई  प्रमुख दल प्रतिस्प्रर्धी दलबीचमा गठबन्धन गर्दा त्यसको आधार दिनुपर्दैन ? भन्ने प्रश्नमा उनी ‘गठबन्धन आवश्यकताले हुने’ बताउँछन् । बरु गठबन्धन एमाले बाहेकका दलसँग समेत हुन सक्ने औंल्याउँछन् घिमिरे ।

‘हामीले गठबन्धन गर्नु हुँदैन भन्ने मान्यता गलत हो । हामी पनि गठबन्धन गरेर जान सक्छौ’ घिमिरे भन्छन्, ‘कांग्रेस र एमाले गठबन्धन होला, माओवादी र कांग्रेस गठबन्धन होला । अन्य पार्टीहरुसँग गठबन्धन होला । गठबन्धन गर्नु हुँदैन भन्ने मान्यता सँग मेरो सहमति छैन । आवश्यकताले गठबन्धन हुने हो ।’

कुनै पनि राजनीतिक दलले म एक्लै चुनाव लड्छु र अर्कोलाई पनि त्यसै गर भन्ने विषय राजनीतिक हुन नसक्ने पनि उनको जवाफ छ ।

कांग्रेसको महाधिवेशन कुर्दै एमाले

एमालेका निवर्तमान प्रमुख सचेतक बर्तौलाका नजरमा वर्तमानमा एमाले र कांग्रेसका बीचमा सहकार्यका लागि राष्ट्रिय सभा निर्वाचनको सन्दर्भ मात्रै उपयुक्त छ । यसका दुई वटा कारण छन् ।

पहिलो : कांग्रेसको महाधिवेशन

दोस्रो : प्रतिनिधि सभा विघटनको न्यायीक परीक्षण ।

कांग्रेसभित्र महाधिवेशन कहिले हुने, नियमित हुने कि विशेष हुने भन्ने बहस छ । कांग्रेसभित्रको बहस कुन रुपमा अगाडि जान्छ र नेतृत्वमा हेरफेर हुन्छ वा हुँदैन भन्ने विषयले एमालेसँगको सहकार्यलाई कस्तो फरक पार्छ ?

जवाफमा एमालेका निवर्तमान प्रमुख सचेतक बर्तौला भन्छन्, ‘त्यसले पनि फरक पार्ने भयो नि ।’

तर, आफूहरू प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बुझाइमा प्रष्ट रहेकाले यसलाई पनि ख्याल गर्न बर्तौलाको आग्रह छ । उनका अनुसार कांग्रेस र एमालेका नेताहरूको भेटमा यो विषयले प्राथमिकता पाउँदै आएको छ ।

‘संसद् पुनर्स्थापनाको सन्दर्भमा कांग्रेसको धारणा र उपस्थितिका बारेमा बढ्ता संवाद/छलफल केन्द्रित भएको छ । सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । यी लगायत मुलुकको राजनीति सोझ्याउने विषयमै हाम्रो ध्यान छ । यसकारण पनि हाम्रो सहकार्य महत्वपूर्ण छ ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?