८ पुस, काठमाडौं । आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनमा सातैवटै प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका १ हजार ५०६ प्रमुख तथा उपप्रमुख मतदाता रहन्छन् । उनीहरूको मतभार भने फरक–फरक हुन्छ ।
कुल जनसंख्यालाई प्रदेश सभाका कुल सदस्यले भाग गरेर प्रदेश सभाको मतभार लिइन्छ र त्यसलाई पुन: एक हजारले भाग गर्दा आउने भागफल एक प्रदेश सांसदको मतभार हुन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । कुल जनसंख्यालाई ५५० ले भाग गर्दा ५३०२६.५० हुन्छ ।
यसलाई पुन: १००० ले भाग गर्दा ५३.२६ आउँछ । यसरी एक प्रदेश सांसदको मतभार ५३ तय भएको हो ।
स्थानीय तहको कुल संख्यालाई दुईले गुणा गरी त्यसले कुल जनसंख्यालाई भाग गरेर आउने परिणामलाई फेरि १००० ले भाग गर्दा आएको भागफल स्थानीय तहको एक प्रतिनिधिको मतभार हो ।
यसअनुसार स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ हुन आउँछ ।
राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि चुनाव हुँदैछ । मनोनीत सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ ।
बाँकी १८ पदका लागि चुनाव हुनेछ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।
२०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन् ।
कोशीमा एमाले बलियो, सुदूरपश्चिममा कांग्रेस
प्रदेशगत मतभार नियाल्दा कोशीमा एमाले बलियो छ भने सुदूरपश्चिममा कांग्रेस छ ।
कोशी प्रदेशमा १३७ स्थानीय तहका २७४ र प्रदेश सभा सदस्य ९३ गरी ३६७ मतदाता छन् । कोशी प्रदेशसभामा एमाले सबभन्दा ठूलो दल छ ।
प्रदेशमा एमालेका ४० कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ प्रदेश सांसद छन् ।
पालिका प्रमुख र उपप्रमुखमा एमालेका क्रमश: ४७ र ६३ गरेर ११० जना छन् । कांग्रेसका ६९ र ४६ गरेर गरेर ११५ तथा माओवादी केन्द्रको १२ र १९ गरेर ३१ जना छन ।

एकल प्रतिस्पर्धा गर्ने हो भने कोशी प्रदेशमा एमाले बलियो छ । त्यसपछि कांग्रेस र तेस्रोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी छ ।
सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस बलियो छ । सुदूरपश्चिममा ५३ प्रदेशसभा सदस्य छन् । ८८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख पनि मतदाता छन् ।
प्रदेशसभामा कांग्रेस १८ सिटसहित ठूलो दल छ । माओवादी केन्द्र ११, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र राप्रपा र स्वतन्त्र एक/एक जना प्रदेशसभा सदस्य छन् ।
स्थानीय तहतर्फ कांग्रेसको प्रमुख ४० र ४६ उपप्रमुख छ भने एमालेले प्रमुख र उपप्रमुख गरेर ५०, माओवादी केन्द्रको २४ रहेको छ ।

यो प्रदेशमा कांग्रेस ठूलो दल छ । एमाले दोस्रो, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी तेस्रोमा छ ।
प्रदेश सभामा नेकपाले एमालेलाई उछिनेतापनि स्थानीय तहमा रहेको एमालेको प्रमुख र उपप्रमुखको संख्याले एमालेलाई समग्र मतभारमा दोस्रो स्थानमै राखेको हो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा ठूला तीन दलबीच एक्ला एक्लै प्रतिस्पर्धा हुने हो भने कांग्रेस अगाडि छ । दोस्रो र तेस्रोमा रहेका दललाई नागरिक उन्मुक्ति पार्टी सहितका साना दलहरूले साथ दिँदा समेत कांग्रेसको बराबर मतभार हुँदैन ।
मधेशमा गठबन्धन अनिवार्य
मधेश प्रदेशमा १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका २७२ प्रमुख र उपप्रमुख मतदाता छन् ।
प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ९, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १/१ प्रदेश सांसद छन् ।

मधेश प्रदेशमा कांग्रेस अगाडि छ । त्यसपछि एमाले छ । तेस्रोमा जसपा नेपाल छ । चौथोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी छ । तर, कांग्रेस, एमाले र जसपा नेपालको तुलनामा निकै पछाडि छ ।
यो प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चुनाव जित्नका लागि ठूला दलहरूलाई पनि साना दलहरूसँग गठबन्धन अनिवार्य गर्नुपर्ने हुन्छ । जसमा जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी, जनमत, लोसपा लगायतका दलहरू निर्णायक हुनेछन् ।
बागमतीमा एमाले–नेकपा उस्तै
११९ स्थानीय तह रहेको बागमती प्रदेशमा ११० सदस्यीय प्रदेश सभा छ । स्थानीय तहका २३८ प्रमुख उपप्रमुख तथा ११० प्रदेश सांसद गरी ३४८ मतदाता रहेका छन् ।
प्रदेशसभामा ३७ सिटसहित कांग्रेस पहिलो दल छ । एमालेको २७, माओवादीका २१,एकीकृत समाजवादीको ७, राप्रपा १३, नेमकिपाको ३, हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन् ।
स्थानीय तहतर्फ कांग्रेसका १०८, एमालेका ६०, माओवादीका ५७ प्रमुख/उपप्रमुख छन् ।

बागमती प्रदेशमा कांग्रेस अगाडि छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेसँगै एमालेभन्दा यो पार्टी केही अगाडि पुगेको छ । तर, दुवैको मतभार उस्तै–उस्तै छ ।
गण्डकी र लुम्बिनी : प्रतिस्पर्धामा छैन नेकपा
गण्डकी प्रदेश सभा ६० सदस्यीय प्रदेशसभामा छ । जसमा कांग्रेस २७, एमालेका २२, माओवादी केन्द्रको ८, राप्रपाको २ प्रदेश सांसद छन् ।
यो प्रदेशमा ८५ स्थानीय तह छन् । पालिका प्रमुख र उपप्रमुख गरेर १७० जना मतदाता हुन्छन् । जसमा कांग्रेसका ६७ एमालेका ६८ जना छन्। माओवादी केन्द्रका ३० जना छन् ।

प्रदेशमा दलगत आधारमा कांग्रेस पहिलो र दोस्रोमा एमाले छ । तेस्रोमा रहेको नेपाली कम्युनिस्ट पार्टी निकै पछाडि छ र एक्ला एक्लै चुनाव हुँदा यो पार्टी प्रतिर्स्धामा आउन मुस्किल छ ।
नेकपाको सन्दर्भमा गण्डकीमा जस्तै अवस्था लुम्बिनीमा पनि छ ।
लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा छ भने १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१८ गरी कुल ३०५ मतदाता छन् ।
प्रदेश सभामा २९ सांसदसहित एमाले सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको १२, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, जसपाको २, जसपा नेपालको एक, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना रहेका छन् । एक जना स्वतन्त्र सांसद रहेका छन् ।
यसैगरी, स्थानीय तहतर्फ कांग्रेसले ४८ पालिका प्रमुख र ४४ उपप्रमुख जितेको छ भने एमालेले क्रमश: २७ र ४० तथा माओवादीले २५ र १५ जितेको छ ।
लुम्बिनीमा कांग्रेस अगाडि

लुम्बिनी प्रदेशको मतभारका कांग्रेस अगाडि छ । दोस्रोमा एमाले छ । तेस्रोमा रहेको नेपाली कम्युनिस्ट पार्टी निकै पछाडि छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेसँगै यो प्रदेशमा संसदीय दल एउटै बनिसकेको छ ।
कर्णालीमा स्वतन्त्र निर्णायक
कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १५८ र प्रदेशसभाका ४० सदस्य गरी १९८ मतदाता रहेका छन् ।
कर्णाली प्रदेश सभामा कांग्रेसका १४ र माओवादी केन्द्रका १३ सांसद छन् । एमालेका १०, एकीकृत समाजवादीका, राप्रपा र स्वतन्त्रका १/१ सांसद छन् ।
यसैगरी स्थानीय तहमा कांग्रेसका ३२ प्रमुख र २७ उपप्रमुख छन् भने पालिका प्रम्ुख र उपप्रमुखमा गरी एमालेका ३५ र माओवादी केन्द्रका ४८ जना छन् । एकीकृत समाजवादीका १० रहेका छन् ।

कर्णालीमा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र एमाले हाराहारीमा छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेसँगै नेकपा र कांग्रेस हाराहारीमा पुगेका हुन् । तेस्रोमा रहेको एमाले पनि थोरै मतभारले मात्रै पछाडि छ ।
तीन वटा दल एक्ला एक्लै चुनाव लड्ने हो भने यो प्रदेशमा स्वतन्त्र निर्णायक हुन सक्दछ ।
एकल बहुमत आर्जनको कसरतमा कांग्रेस
११ माघको चुनावबाट नेपाली कांग्रेस राष्ट्रिय सभामा बहुमतनजिक पुग्ने कसरतमा छ । यसका लागि अन्य दलसँग चुनावी गठबन्धन गर्दा के हुन्छ र एक्लै चुनाव लड्दा भन्ने छलफलमा नेताहरू छन् ।
‘स्थानीय तहमा हाम्रो राम्रो छ । प्रदेश सभाको स्थिति समेतको आधारमा अन्य दलसँग गठबन्धन गर्दा कति सिट जित्न सकिन्छ र एक्लै चुनाव लड्दा के हुन्छ भनेर आन्तरिक छलफल चलिरहेको’ नेताहरू बताउँछन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ १९ गते र सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए । यसबीचमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समेत कांग्रेस सभापति देउवासँग भेट गरेका छन् ।
सभापति देउवाको सचिवालयका अनुसार प्रचण्डले मधेश सरकारको सन्दर्भमा कुरा गर्दा नै राष्ट्रिय सभामा समेत सहकार्यको प्रस्ताव राखेका थिए । तथापि, कुनै निर्णय वा जवाफ सभापति देउवाले नदिएको उनको सचिवालयले जनाएको छ ।
एमालेले समेत राष्ट्रिय सभामा सहकार्यको प्रस्ताव राखेको नेताहरू बताउँछन् । कांग्रेस भने राष्ट्रिय सभामा एकल बहुमत आर्जन गर्न सकिन्छ भन्नेमा छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद छन् । उनीहरू कोही पनि आगामी फागुन २० मा बिदा हुने छैनन् ।
आगामी फागुन २० मा बिदा हुने राष्ट्रिय सभा सदस्यहरूमा एमालेका ८ जना र माओवादी केन्द्रका ७ जना छन् । नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका १/१ जना विदा हुँदैछन् । मनोनीत सांसद वामदेव गौतम पनि विदा हुँदैछन् ।
यसो हुँदा निर्वाचन अगाडि राष्ट्रिय सभामा कांग्रेसका १६ जना बाँकी रहन्छन् ।
हाल १७ सिटमा रहेको माओवादी केन्द्रका ७ जना बिदा हुँदा १० जना बाँकी रहन्छन् र चुनाव जितेर आउँदा थपिने हुन् ।
हाल १० सिटमा रहेको एमालेका ८ जना बिदा भएपछि २ जना बाँकी रहन्छन् । जति नयाँ जितेर आउँछन् उनीहरू थपिन्छन् ।
८ सदस्य रहेको एकीकृत समाजवादीका १ जना बिदा हुँदा ७ जना बाँकी रहन्छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी बनिसकेको छ । यसो हुँदा नेपाली कम्युनिस्ट पार्टीको १७ सिट यथावत रहनेछ । यसमा कति थपिन्छन् वा थपिँदैनन् ११ माघको चुनावपछि थाहा लाग्छ ।
हाल ३ जना सांसद रहेको जनता समाजवादी पार्टी नेपालका १ जना बिदा हुँदा २ जना बाँकी रहख्छन् । हाल लोसपाका एक जना उनी बिदा हुँदैछन् ।
यस्तो अंकगणितमा कांग्रेसले साना दलहरूको साथ लिएर चुनाव लड्ने कि एमाले वा नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्ने निर्णय लिइसकेको छैन ।
कांग्रेले एक्लै चुनाव लडे १८ वटै सिटमा उम्मेदवार उठाउन सक्छ । साना दलको मात्रै साथ लिए अधिकतम सिटमा उम्मेदवार उठाउन सक्नेछ ।
एमाले वा नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्दा सिट बाँडफाँडमा बार्गेनिङ हुनेछ । कुन मोडेलमा जाने तय नभएको बताउँछन् कांग्रेसका प्रवक्ता प्रकाशशरण महत ।
महतले अनलाइनखबरसँग भने, ‘कुरा सबैसँग भएको छ । साना दलसँग पनि भएको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टीसँग पनि भएको छ । कार्यवहाक सभापतिले कुराकानी गरिराख्नुभएको छ । तर, यसैगरी जाने भन्ने टुंगो लागिसकेको छैन ।’
नेता महतका अनुसार बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठक बस्दैछ । उक्त बैठकमा राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा छलफल हुनेछ । ‘कार्यसम्पादन समितिको बैठकमा रिर्पोटिङ होला, समीक्षा हुन्छ र एउटा निर्णयमा पुगिएला’ कांग्रेस प्रवक्ता महतको विश्वास छ ।
प्रतिक्रिया 4