+
+
Shares

के कांग्रेस-एमालेबीच चुनावी गठबन्धन हुँदैछ ?

केही समय यताका दृष्यहरू हेर्दा आगामी चुनावमा कांग्रेस–एमाले बीच चुनावी गठबन्धन हुने सक्ने सम्भावना बढेको छ । स्रोतका अनुसार देउवालाई ओलीले चुनाव भए गठबन्धन र प्रतिनिधि सभा पुनर्स्थापना हुँदा सहकार्यको प्रस्ताव राखेका छन् ।

सइन्द्र राई सइन्द्र राई
२०८२ पुष १५ गते २१:५२

१५ पुस, काठमाडौं । नयाँ शक्तिहरू एकताबद्ध बनिरहेका बेला नेपाली कांग्रेस र नेकपा एमालेले पनि चुनावी गठबन्धन गर्न सक्ने अनुमान चल्दै आएको छ । यस्तो अनुमानलाई बल पुग्नेगरी एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले आज सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रम मार्फत् बादलले आगामी चुनावमा कांग्रेस र एमालेबीच गठबन्धन आवश्यक रहेको तर्क गरे । राष्ट्रिय सभा निर्वाचन हुँदै प्रतिनिधि सभाको चुनावमा समेत दुई दलबीच गठबन्धन गर्नुपर्ने औचित्यबारे बोलेका थिए ।

‘कांग्रेस र एमालेको, दुवै शक्तिहरुको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्र्थापना गर्न सक्छौं । त्यसको यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौं भने हामीले लोकतन्त्रलाई फेरि पुनस्थापना गर्न सकिन्छ,’ उनले भनेका छन्, ‘हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई टिकाउन सक्छौं ।’

बादलले गठबन्धन गर्दा आधा–आधा सिट भागबण्डाकै प्रस्ताव समेत राखे । १६५ निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेबीच भागबण्डा भए प्रतिगमनलाई परास्त पर्न सकिने बादलको तर्क थियो ।

प्रदीप ज्ञवाली नेतृत्वको मदन-आश्रित प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली मुख्य वक्ता थिए भने बादलसहित कांग्रेस नेता मीनबहादुर विश्वकर्मा र काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल वक्ता थिइन् । बादलकै जस्तो प्रष्ट भाषामा नभने पनि विश्वकर्माले एमालेसँगको सहकार्य आवश्यक रहेको बताए ।

आगामी राजनीतिक निकासका सन्दर्भमा विश्वकर्माले एमालेसँगको सहकार्य जरुरी रहेको तर्क गरेका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा निकट नेता विश्वकर्माले विगतमा पनि एमालेसँग सहकार्य भएको स्मरण गरेका थिए । २०४६ साल र २०६२/०६३ सालको परिवर्तनमा कांग्रेस–एमाले मिलेर लडेको उनले बताए ।

कार्यक्रममा मुख्य वक्ता रहेका ओलीले पनि आगामी चुनावपछि कांग्रेस र एमालेकै सरकार बन्ने बताए । अर्थात् कांग्रेससँग एमालेको चुनावी गठबन्धन आवश्यक रहेको बादलको तर्कलाई पुग्नेगरी ओलीले पनि बोले ।

‘चुनावमा एउटा अनुमान गरौं– एमाले, कांग्रेस बाहेक अरुले सरकार बनाउँछ ? संभव छ यो कुरा ?,’ ओलीले भनेका थिए । बालेनलाई नयाँ प्रधानमन्त्रीको उम्मेद्वार भनेर प्रचार गर्नुको अर्थ नरहेको ओलीले बताएका थिए । यद्यपि बालेनको नाम भने ओलीले लिएनन् ।

ओली निकट नेता प्रदीप ज्ञवालीले कांग्रेस–एमालेका नेताहरू मात्रै बोलाएर विचार गोष्ठी गर्नु र त्यहाँ चुनावी गठबन्धनको सन्दर्भ उठाउनुलाई चासोका साथ हेरिएको छ । अझ कांग्रेसबाट देउवा निकट नेतालाई वक्ता बनाएर राजनीतिक निकासको विकल्पमा दुई दलबीच सहकार्यको प्रसंग उठाइनुले राजनीतिक पंक्ति तरंगित हुने नै भयो ।

यसअघिका घटनाक्रमले पनि आजको कार्यक्रम र नेताहरुको अभिव्यक्तिलाई थप चासोपूर्ण बनाएको छ । विशेषगरी कांग्रेस सभापति देउवासँग ओली र उनी निकट नेताहरूको कुरा विगतबाटै मिल्दै आएको छ ।

जेनजी आन्दोलन हुँदा कांग्रेसकै समर्थनमा ओली प्रधानमन्त्री थिए । पहिलो र दोस्रो दल मिलेर सरकार नबनाउने संसदीय मान्यता विपरीत सात बुँदे सहमति गर्दै २०८१ असारमा ओली प्रधानमन्त्री बनेका थिए । सात बुँदे सहमति बमोजिम ओली पछि देउवा प्रधानमन्त्री बन्ने थिए ।

संविधान संशोधन नै गर्नेगरी सत्ता सहकार्य गरेका नेताहरूले २०८४ सालको चुनावमा पनि गठबन्धन गर्ने संकेत दिन थालेका थिए । तर जेनजी आन्दोलनबाट सत्ता पलट हुँदा मुलुकको शक्ति–समीकरण नै उल्टिन पुग्यो ।

संविधान संशोधन नै गर्नेगरी सत्ता सहकार्य गरेका नेताहरूले २०८४ सालको चुनावमा पनि गठबन्धन गर्ने संकेत दिन थालेका थिए । तर जेनजी आन्दोलनबाट सत्ता पलट हुँदा मुलुकको शक्ति–समीकरण नै उल्टिन पुग्यो ।

नयाँ राजनीतिक शक्तिहरू (रवि लामिछाने, बालेन र कुलमान घिसिङ) एकता गरेरै अगाडि बढ्दा पुराना दलहरु भने दबाबमा देखिएका छन् ।

धरानका मेयर हर्क साम्पाङ आक्रामक चुनावी अभियानमा छन् । मधेशका शक्तिहरू फेरि मिलिसकेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले स–साना १६ भन्दा बढी शक्ति मिलाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् ।

नयाँ–नयाँ ढंगले राजनीतिक ध्रुविकरण भइरहँदा एमाले नेताहरूले प्रमुख शक्तिहरू मिल्नुपर्ने सार्वजनिक अभिव्यक्ति बाक्लो बनाएका छन् । एमाले महासचिव शंकर पोखरेलले भूराजनीतिक संकट देखाएर मुख्य शक्तिबीचको सहकार्यमा वकालत गरिरहेका छन् ।

पोखरेलको तर्क छ– भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेन जस्तै अस्थिर बनाउने षडयन्त्रको पहिलो चरण थियो ।

अब सोही षडयन्त्रको दोस्रो चरणको तयारी पनि शुरू हुँदैछ । यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ ।

महासचिव पोखरेलको यस्तो तर्कभन्दा अगाडि बढेर उपाध्यक्ष बादलले त आधाआधा भागबण्डा सहित कांग्रेससँग चुनावी गठबन्धनकै प्रस्ताव गरे । उनको अभिव्यक्तिबाट दुवै पार्टीभित्र असन्तुष्टि देखिन सक्ने सम्भावना छ ।

तर केही समय यताका दृष्यहरू हेर्दा आगामी चुनावमा कांग्रेस–एमाले बीच चुनावी गठबन्धन हुने सक्ने सम्भावना बढेको छ । स्रोतका अनुसार देउवालाई ओलीले चुनाव भए गठबन्धन र प्रतिनिधि सभा पुनर्स्थापना हुँदा सहकार्यको प्रस्ताव राखेका छन् ।

२१ फागुनमा तोकिएको चुनावमा सहभागी हुने आधिकारिक निर्णय गरिसकेको कांग्रेसका सांसदहरू पुनर्स्थापनाका लागि सर्वोच्च जानुले पनि ओलीको प्रस्तावमा देउवा तयार भएको बुझ्न सकिन्छ । यद्यपि कांग्रेस संस्थापन इतर नेताहरू पुनर्स्थापनाको पक्षमा छैनन् ।

तर पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति दिइसकेका देउवा फेरि आफैँ सक्रिय भएर ओलीको प्रस्तावमा अगाडि बढेका छन् । स्रोतका अनुसार देउवाले निकटस्थहरूलाई एमालेसँग गठबन्धन हुन सक्ने भएकाले त्यसैअनुसार तयारी गर्न समेत भन्न थालिसकेका छन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?