News Summary
Generated by OK AI. Editorially reviewed.- सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूसँग चुनावको वातावरण बनाउन भेटवार्ता गरेका छन्।
- तीन दलका नेताहरूले चुनाव हुनुपर्नेमा सहमति जनाएका छन् र फागुन २१ गते चुनाव हुने विश्वास व्यक्त गरेका छन्।
- प्रतिनिधि सभा पुनर्स्थापनामा समेत सहकार्य गर्ने तयारी भइरहेको छ र चुनाव नभए पनि संविधान र व्यवस्था जोगाउने छलफल भइरहेको छ।
११ पुस, काठमाडौं । चार दिन अघि प्रमुख तीन दलको केन्द्रीय मुख्यालय अवलोकन गरेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले आज तीनै दलका मुख्य नेताहरूसँग भेटवार्ता गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री खरेलले अलग–अलग भेटेका हुन् । तर तीन वटै भेटको उद्देश्य एउटै रहेको उनले बताए ।
‘तीन वटै शीर्ष नेताले मसँग के भन्नुभएको छ भने हामी चुनावको विरोधी होइनौ, चुनाव हुनुपर्छ,’ पत्रकारहरूसँग खरेलले भने, ‘चुनाव लोकतन्त्रको पर्याय हो । जनताबाट अनुमोदित हुने कुरा नै उपयुक्त बाटो हो ।’
कांग्रेस, एमाले र नेकपाको धारणालाई मन्त्री खरेलले अलग–अलग नै व्याख्या गरे । ‘नेपाली कांग्रेसका तर्फबाट चुनावको विकल्प छैन, पुनर्स्थापना अहिले हाम्रो मुद्दा होइन, चुनावै हो भनेर सभापतिले भन्नुभएको छ,’ उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचनको त विकल्पै छैन । जाने नै चुनावमा भन्नुभएको छ ।’
तर एमाले अध्यक्ष ओलीले भने सुरक्षाको चिन्ता लिएको मन्त्री खरेलले बताए । सुरक्षाको आवश्यक प्रबन्ध सरकारले गर्ने भएकाले चुनावको बातावरण बनेको निष्कर्ष पनि उनले सुनाए । ‘नेकपा एमालेको अध्यक्षबाट के आएको छ भने चुनावमा जानुपर्छ, तर सुरक्षाको बातावरण बनाउ,’ खरेलले भने, ‘त्यो सरकारले बनाउँछ ।’
देउवा, ओली र प्रचण्डको भेटपछि चुनाव हुनेमा आशावादी मात्र नभएर विश्वास दिलाउने स्थितिमा पुगेको उनले दावी गरे, ‘तीन वटा नेताहरूसँगको भेटघाटबाट आशावादी होइन, विश्वास नै दिलाउँदैछौं कि फागुन २१ गते चुनाव हुन्छ, सबै दलहरुले भाग लिनुहुन्छ ।’
स्रोतका अनुसार मन्त्री खरेलले यो तहको विश्वास सार्वजनिक गर्नुमा गत ८ पुसको शितल निवास छलफल आधार हो । ‘चुनावको वातावरण बनाउनुपर्छ, र त्यसमा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्ने भन्ने सहमति भएको छ,’ स्रोत भन्छ, ‘त्यही दिनको सहमतिका आधारमा सञ्चारमन्त्रीले निम्तो लिएर नेताहरुलाई आज भेट्नुभएको हो ।’
जेनजी आन्दोलनपछि अन्तरिम सरकारका प्रधानमन्त्री सहित प्रमुख तीन दलका प्रमुखबीच गत ८ पुसमा पहिलोपटक शीतल निवासमा छलफल भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की सहित देउवा, ओली र प्रचण्ड सँगसँगै बस्ने वातावरण मिलाएका थिए ।

‘आज मैले बोलाएँ, अब प्रधानमन्त्रीले बस्ने व्यवस्था मिलाउनुपर्यो,’ राष्ट्रपति पौडेलको आग्रह थियो । जवाफमा प्रधानमन्त्री कार्कीले पनि चाँडै बालुवाटार बोलाउने प्रतिबद्धता जनाएकी थिइन् ।
जसअनुसार प्रधानमन्त्री कार्कीले देउवा, ओली र दाहाललाई आजै, (शुक्रबारै) बोलाएकी थिइन् । तर देउवाले पार्टीको बैठक बस्नुपर्ने भनेपछि भोलि, (शनिबार दिउँसो) बस्नेगरी अर्को मिति तय भएको छ । त्यही बैठकको निम्तो लिएर सञ्चारमन्त्री खरेलले नेताहरूलाई भेटेका हुन् ।
स्रोतका अनुसार चुनावी वातावरण बनाउने प्रयोजनकै निम्ति नेताहरुसँग प्रधानमन्त्री कार्की छलफलमा बस्न लागेकी हुन् । ‘एउटा प्रमुख दलका अध्यक्षलाई स्थान हद तोकिएको छ । अरु नेताहरुको सुरक्षा व्यवस्था कमजोर पारिएको छ, सुरक्षाकर्मी फिर्ता बोलाइएको छ,’ एक नेता भन्छन्, ‘यसबारे प्रधानमन्त्रीसँग हाम्रो कुरा हुँदैछ ।’
उनका अनुसार ८ पुसमा शीतल निवासमै पनि यो कुरा उठाइएको थियो । देउवा र ओलीले एकस्वरमा भनेका थिए, ‘हामी चुनावको विपक्षमा छैनौं, तर नेताहरुलाई स्थान हद तोकिएको छ, सुरक्षाकर्मी फिर्ता गरेर असुरक्षाको सन्देश दिइएको छ । कसरी हुन्छ चुनाव ?’
बैठक स्रोतका अनुसार देउवा र ओलीले उठाएका एजेण्डा सम्बोधन गर्नुपर्नेमा प्रचण्डले समेत साथ दिएका थिए । ‘फागुन २१ गते नै चुनाव हुनुपर्छ, त्यसका लागि सरकारले गर्नुपर्ने काम गरोस्,’ प्रचण्डले भनेका थिए ।
छलफलका क्रममा केपी ओली र रमेश लेखकमाथि लगाइएको स्थान हदको निर्णयमा सरकार लचक हुनेमा प्रधानमन्त्री कार्की सहमत भएकी छन् । ‘आजभोलि नै आयोगका मान्छे गुन्डु गएर केही प्रश्न राख्ने र त्यसपछि स्थान हदको निर्णय फिर्ता गर्ने हुन सक्छ,’ एमाले उच्च स्रोत भन्छ, ‘यो विकल्पमा जान सरकार तयार हुँदा चुनावी वातावरण बन्ने हाम्रो पनि विश्वास छ ।’
शीतलनिवासको छलफल लगत्तै समानुपातिक तर्फको बन्दसूचीमा राख्ने नामहरु सिफारिस गर्न मातहतको कमिटीलाई निर्देशन दिएर एमालेले चुनाव तर्फ उन्मुख भएको सन्देश पनि दिइसकेको छ । कांग्रेस, नेकपा सहितका दलहरू पहिले नै चुनावी तयारीमा छन् ।
यद्यपि एमाले नेताहरूले प्रतिनिधि पुनर्स्थापना नै पार्टीको मूल एजेण्डा भएको बताउन छाडेका छैनन् । बरू ८ पुसमा जुटेको सहमतिबारे प्रचण्डले संकेत सार्वजनिक गरेका छन् ।
आज केन्द्रीय मुख्यालय पेरिसडाडाँमा आयोजित एक कार्यक्रम मार्फत् प्रचण्डले भनेका छन्, ‘आजभोलिदेखि नै नेपाली कांग्रेस र एमाले निर्वाचनमा केन्द्रित हुनेछन् भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु ।’
नेकपा स्रोतका अनुसार ओलीमाथि लगाइएको स्थान हद हटाउने, मुख्य नेताहरुको सुरक्षा व्यवस्थाबारे पुनर्विचार गर्दै चुनावी वातावरण बनाउने एजेण्डामा प्रचण्डले देउवा र ओलीलाई साथ दिए, जसआधारमा थप छलफलहरु अगाडि बढेका छन् । अर्थात् शीतल निवास सहमतिकै जगमा प्रचण्डले त्यस्तो विश्वास सार्वजनिक गरेका हुन् ।
‘सुरक्षाको कुरा मात्र होइन, अहिले प्रमुख दलहरुबारे जस्तो भाष्य बनाइदैछ, त्यसकारणले पनि एकठाउँ उभिनुपर्ने अवस्था आयो,’ नेकपाका एक नेता भन्छन्, ‘लोकतन्त्र, संविधान र व्यवस्था जोगाउन हामी प्रमुख शक्तिहरु मिल्नुपर्ने स्थिति आयो ।’
ओली निकट एक नेता पनि मुख्य शक्तिहरूबीच सहकार्यको वातावरण सहज बन्दै गएको स्वीकार्छन् । ‘कांग्रेससँग त हाम्रो सहकार्य पहिलेबाटै हुँदै आएको हो, अब प्रचण्डहरुसँग पनि संविधान जोगाउन सहकार्य हुन सक्छ,’ उनी भन्छन् । नेताहरुका अनुसार देउवा र ओली त चुनावमा गठबन्धन गर्नेसम्मै जान खोजेका छन् । यद्यपि कांग्रेसभित्र देउवाको योजना कार्यान्वयन हुन सजिलो देखिदैन ।
प्रचण्डसँग भने राजनीतिक कोर्समा आधारित सहकार्य गर्ने निष्कर्षमा नेताहरु पुगेका छन् । ‘फागुन २१ गते चुनाव सुनिश्चित गर्न हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्न खोजेका छौं,’ प्रचण्ड निकट स्रोत भन्छ, ‘तर कथं चुनाव नहुने परिस्थिति बन्यो भने के गर्ने ? त्यसबारेमा पनि छलफल भइरहेको छ ।’
अर्का स्रोतका अनुसार भने चुनाव नहुने परिस्थिति बन्दा पनि देउवा, ओली र प्रचण्ड सँगसँगै हुन खोजेका छन् । ‘चुनाव भएन भने पनि संविधान र व्यवस्था त जोगाउनुपर्ने हुन्छ, त्यो अवस्थाका लागि पनि तयार हुन छलफल चलिरहेको छ,’ ती स्रोत भन्छ ।
अर्थात् ओलीले राख्दै आएको प्रतिनिधि सभा पुनर्स्थापनाको अडानमा समेत प्रचण्ड साथ दिन तयार हुने भएका छन् । उच्च स्रोतका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनाबारे केही नेताहरुले गृहकार्य नै गरिरहेका छन् । ‘कांग्रेसबाट रमेश लेखक, एमालेबाट रमेश बडाल र नेकपाबाट शक्ति बस्नेतले त्यसमा काम गरिरहेको बुझिन्छ,’ ती स्रोत भन्छ ।
प्रतिनिधि सभा पुनर्स्थापना गर्न सजिलो नरहेकोमा पनि नेताहरू सहमत रहेको बताइन्छ । ‘हिजोकै अवस्थामा त पुनर्स्थापना हुन सक्दैन । त्यसमा जेनजीहरुलाई सहमत गराउनुपर्यो, सँगै चुनाव हुन्छ भन्ने सुनिश्चित पनि हुनुपर्यो,’ ती स्रोत भन्छ ।
तर सम्भावित दुवै कोर्स (चुनाव हुने वा नहुने) मा प्रमुख तीन दलको समान मत बनाउनुपर्छ भन्नेमा मुख्य नेताहरु सहमत भएका छन् । ‘व्यवस्था परिवर्तनका निम्ति ठूलो त्याग र बलिदान गरेर आएका दलहरुलाई प्रतिमागी कित्तामा राखेर प्रचार गरिदैछ । इतिहासबाट दलहरुको भूमिका नामेट पार्ने कोशिस गरिदैछ,’ एक शीर्ष नेता भन्छन्, ‘केही कमजोरी भए होलान्, तर प्रचार गरेजस्तो प्रतिगामी होइनौं भन्न पनि मिल्नुपर्ने अवस्था आयो ।’
प्रतिक्रिया 4