+
+
Shares

मेलमिलाप दिवसमा गर्ने भनिएको कांग्रेसको वडा अधिवेशन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते ९:२७

१६ पुस, काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज (बुधबार) गर्ने भनिएको वडा अधिवेशन प्रभावित भएको छ ।

निर्धारित कार्यतालिकाअनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नहुँदा कांग्रेसले बुधबारका लागि तय गरेको वडा अधिवेशन प्रभावित भएको हो ।

कार्यतालिका प्रभावित हुने छाँटकाँट पहिले नै देखिएको भए पनि कांग्रेसको केन्द्रीय कार्यसमितिले मतहतलाई वडा अधिवेशन गर्ने-नगर्ने बारे औपचारिक रूपमा कुनै परिपत्र भने गरेको छैन ।

क्रियाशील सदस्यता नवीकरण र वितरणको काममा ढिलाइ भएकाका कारण १६ पुसमा हुने भनिएको वडा अधिवेशन नहुनेजस्तै देखिएपछि कांग्रेसले ९ पुसदेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको थियो ।

बैठकले महाधिवेशनको कार्यतालिका हेरफेरदेखि प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तय गर्ने भनिएको थियो । तर, बैठक बन्दसूचीमा मात्रै केन्द्रित भएपछि कांग्रेसले वडा अधिवेशनबारे कुनै निर्णय लिन सकेन ।

कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ समय तालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न असफल भएपछि महाधिवेशनको कार्यतालिका अन्योलमा परेको छ ।

१५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २५ मंसिरभित्र सदस्यता नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउन भनेको थियो ।

निर्धारित समयावधिभित्र नवीकरणको काम सम्पन्न हुने नदेखिएपछि ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २४ मंसिरमा चार दिनका लागि म्याद थप गरेको थियो ।

समिति संयोजक गगनकुमार थापा (महामन्त्री)ले जिल्ला सभापतिहरूलाई २९ मंसिरभित्र नवीकरणको काम सम्पन्न गर्न र ३ पुसभित्र केन्द्रमा पठाइसक्ने गरी काम गर्न निर्देशन दिएका थिए ।

उक्त समयावधिभित्र पनि क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न हुन नसकेपछि समितिले नवीक्रणका लागि ९ पुस र नयाँ सदस्यता वितरणका लागि १० पुससम्मको समय निर्धारण गरेको थियो ।

पछिल्लो पटक थप गरेको समयमा पनि क्रियाशील सदस्यता र नयाँ सदस्यता नवीकरणको काम कांग्रेसले सम्पन्न गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?