News Summary
Generated by OK AI. Editorially reviewed.- चिकित्सकहरूले नयाँ वर्ष २०२६ का लागि परिवारलाई समय दिने, स्वास्थ्यमा ध्यान दिने र पेशागत सुधार गर्ने विभिन्न संकल्प लिएका छन्।
अंग्रेजी नयाँ वर्ष २०२६ ढोकामा आइपुगेको छ । नयाँ वर्ष आउने उल्लाससँगै विगतका गल्तीहरूबाट पाठ सिकेर, अधुरा सपनाहरूलाई पूरा गर्ने अठोट बोकेर हामी अगाडि बढ्छौं । यो बेला अधिकांश मानिसहरूले स्वास्थ्यसँग जोडिएका संकल्प गर्छन् । चुरोट त्याग्ने, व्यायाम थाल्ने, तनाव कम गर्ने, नियमित स्वास्थ्य जाँच गराउने ।
तर, जो दिनरात बिरामीको स्वास्थ्य जोगाउन खटिरहन्छन्, ती चिकित्सकहरू आफैं चाहिँ नयाँ वर्षमा के संकल्प गर्छन् ? उनीहरूले अरूलाई दिने सल्लाह आफैंमा कति लागू गर्छन् ? अति व्यस्तता बाबजुद परिवार र आफ्नो स्वास्थ्यलाई कति प्राथमिकता दिन्छन् ?
यी जिज्ञासा बोकेर हामीले विभिन्न विधाका वरिष्ठ तथा युवा चिकित्सकहरूसँग कुराकानी गरेका छौं । चिकित्सकहरूले आगामी नयाँ वर्ष २०२६ का लागि व्यक्तिगत जीवनमा तथा पेशागत रूपमा विभिन्न संकल्पहरू लिएका छन् । परिवारलाई समय छुट्याउने, पुस्तक पढ्न तथा मनोरञ्जनका लागि समय निकाल्ने, पुस्तक लेख्ने, गीत रेकर्ड गराउने सम्मका संकल्प पनि छन् । बिरामीको उपचारमा व्यस्त हुँदा आफ्नो स्वास्थ्यलाई ध्यान दिन नपाएकाले नयाँ वर्ष २०२६ मा आफ्नो स्वास्थ्यलाई ध्यान दिने, नियमित व्यायाम गर्ने संकल्प धेरैजसो चिकित्सकले लिएका छन् ।
आफ्नो पेशामा नयाँ कामको थालनी गर्ने, नयाँ अनुसन्धानमा लाग्नेदेखि लिएर आफ्ना विभागलाई सुधार गर्ने, बिरामीलाई उपचारमा सहुलीयत प्रदान गर्न पहल गर्नेसम्मका संकल्प पनि चिकित्सकहरूको छ ।
१. एउटा पुस्तक लेखेरै छाड्नेछु
प्रा. डा. अनन्त अधिकारी
मानसिक रोग विशेषज्ञ, पाटन मानसिक अस्पताल

सबैभन्दा पहिलो र महत्वपूर्ण संकल्प मानसिक स्वास्थ्यको क्षेत्रमा बिरामीको कथा सुन्ने, उनीहरूको पीडा बुझ्ने र विश्वासिलो उपचार दिने कुरा मेरो लागि सधैँ प्राथमिकतामा रहनेछ ।
व्यक्तिगत रूपमा यो वर्ष एउटा ठूलो सपना पूरा गर्ने अठोट लिएको छु, त्यो हो, एउटा पुस्तक लेखेरै छाड्ने । यो पुस्तकमा वर्षौंदेखि बिरामीहरूसँग बिताएका पलहरू, उनीहरूका अनुभव र तीबाट सिकेका जीवनका गहिरा पाठहरू समेट्नेछु । यो किताबले मानसिक स्वास्थ्यबारे समाजमा चेतना फैलाउन र अरूलाई पनि प्रेरणा दिन सकोस् भन्ने मेरो चाहना छ ।
अनि, मनमा लामो समयदेखि घुमिरहेको एउटा रचनात्मक इच्छा पनि यो वर्ष पूरा गर्ने कोसिस गर्नेछु, एउटा गीत रेकर्ड गराउने । समय जसरी पनि निकालेर, यो सानो तर विशेष सपनालाई साकार बनाउनेछु ।
२.परिवारलाई प्राथमिकतामा राख्छु
कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्री रोग विशेषज्ञ, भेरी अस्पताल

सबैभन्दा पहिला, परिवारका लागि समय छुट्याउने अठोट छ । कामको चापले गर्दा परिवारलाई दिनुपर्ने समय प्रायः कटौती भइरहन्थ्यो, अब त्यसलाई प्राथमिकतामा राख्नेछु । पारिवारिक जमघट बढाउने र नेपालभित्रै बढी घुम्ने योजना छ ।
दोस्रो, शारीरिक फिटनेसमा ध्यान दिनेछु । लामो समयदेखि कार्यव्यस्तताले व्यायाम र स्वास्थ्यलाई पछाडि पारेँ, अब नियमित रूपमा समय निकालेर आफ्नो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्ने प्रयास गर्नेछु ।
तेस्रो, नयाँ अनुसन्धान र प्रविधिले आफूलाई अपडेट राखेर बिरामीलाई अझ राम्रो सेवा दिनेछु । चौथो, लिडरशीप गुणलाई थप विकास गर्ने सोचमा छु । यो सीपले व्यक्तिगत मात्र होइन, टिम र संस्थालाई पनि मजबुत बनाउँछ ।
पाँचौँ, नेपाल चिकित्सक संघमार्फत चिकित्सकहरूको हकहित र स्वास्थ्य क्षेत्रको सुधारका लागि सक्रिय रूपमा काम गर्नेछु । ध्यान, आत्मचिन्तन र आध्यात्मिक अभ्यासमा लागेर मनलाई शान्त पार्ने प्रयास रहनेछ ।
३. अब आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिन्छु
प्रा. डा. सविना भट्टराई
छाला रोग विशेषज्ञ

लामो समयदेखि बिरामीहरूको स्वास्थ्य जोगाउन दौडधुप गर्दा आफ्नो स्वास्थ्यलाई ओझेलमा पारेँ जस्तो लाग्छ । यसपटक मेरो मुख्य संकल्प भनेको बिरामीको स्वास्थ्यलाई मात्र होइन, आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई पनि उत्तिकै ध्यान दिनेछु ।
आजभोलि आध्यात्मप्रति मेरो रुचि निकै बढिरहेको छ । ध्यान, प्रार्थना र आत्मचिन्तनले मनलाई शान्ति र स्पष्टता दिन्छ भन्ने अनुभव गर्दैछु । त्यसैले यो वर्ष अध्यात्ममा बढीभन्दा बढी समय दिने प्रयास गर्नेछु । हरेक नयाँ वर्षले जीवनको गति र उमेरको सत्य स्मरण गराउँछ । आफू पनि बिस्तारै बुढो हुँदैछु भन्ने महसुस हुन्छ । त्यसैले अब आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने गहिरो बोध भएको छ ।
पेशागत रूपमा भने मेरो संकल्प सधैं एउटै छ, त्यो हो बिरामीलाई गुणस्तरीय, संवेदनशील र इमानदारपुर्वक सेवा दिने ।
४. सांगीतिक क्षेत्रमा केही ल्याउँछु
प्रा.डा. राजीव झा
स्नायु रोग विशेषज्ञ, वीर अस्पताल

मेरा दायित्व छन् । म प्रोफेसर हुँ, बिरामीको डाक्टर र अहिले अर्को जिम्मेवारी थपिएको नेपलिज सोसाइटी अफ न्यूरोसर्जनको अध्यक्षको । यस हिसाबले यी सबै दायित्वमा मैले लिएको अठोट हरसम्भव पूरा गर्नेछु भन्ने मेरो पहिलो संकल्प हो । हरेक वर्ष निस्किएका क्षमतावान न्यूरोसर्जन चिकित्सकलाई यो विधाबाट पनि बाहिर रहेर देशको सेवा र बिरामीप्रतिको दायित्वबारे नैतिक ज्ञान दिने लक्ष्य छ ।
जनशक्ति र प्राविधिक कुरामा हामी विकसित देशभन्दा पछि छौं । त्यो ग्याप कम गर्न कसरी हुन्छ, लाग्नेछौं । त्यो मात्र होइन, न्यूरोसर्जरी गर्दा केही नभए पनि बिरामीको ६० हजारदेखि एक लाखसम्म पैसा खर्च भइरहेको छ । त्यसलाई सस्तो, शुलभ र प्रभावकारी बनाउन प्रयासका लागि अस्पताल व्यस्थापन र स्वास्थ्य मन्त्रालयसँग सम्वन्य गर्नेछु । व्यक्तिगत रूपमा भने मेरो रुचि रहेको तर समय दिन नपाएको संगीतिक क्षेत्रमा केही ल्याउनेछु । अनि बिरामीसँगको अनुभवबारे पुस्तकमा कोर्ने जमर्को पनि छ ।
५.अहिले व्यर्थ खर्चिरहेको केही समयलाई कटौती गर्छु
डा. ओममूर्ति अनिल
मुटु रोग विशेषज्ञ, नेशनल कार्डियाक सेन्टर

मेरो यसपटक त्यस्तो विशेष संकल्प केही छैन । तर, केही सामान्य छन्, जुन मेरा लागि महत्वपूर्ण छन् । अबको दिनमा भने म आफ्नो लागि बढी समय दिने प्रयास गर्छु । अहिले जो व्यर्थ समय खर्चिरहेको छु, त्यो समयलाई कटौती गरेर आफूलाई रुचि लागेको काम गर्ने, गुणस्तरीय समय बिताउने कुरामा ध्यान दिन्छु । व्यायाम र मनोरञ्जनमा बढी समय दिनेछु । परिवारसँग कम समय बिताएको जस्तो अनुभूति भइरहेको छ, त्यसलाई ध्यानमा राखेर समय दिनेछु ।
नयाँ मानिस, ठाउँसँग जोडिने र सामाजिक जीवनसँग जोडिनेछु । र, अहिले कायम रहेको स्क्रिनटाइम घटाएर त्यो समय परिवारका लागि दिनेछु ।
६.नयाँ-नयाँ किताब पढ्न समय निकाल्छु
डा. अरुण केसी
नाक, कान तथा घाँटी रोग विशेषज्ञ, वीर अस्पताल

यो नयाँ वर्षमा पाँचवटा संकल्पहरू लिएको छु । पहिलो, परिवारसँग बढी समय बिताउने र सँगै घुम्न जानेछु । अस्पतालको व्यस्ततामा परिवारलाई समय दिन नसकिएको कुराले मनमा घोचिरहन्थ्यो, अब त्यसलाई प्राथमिकतामा राख्नेछु ।
दोस्रो, नयाँ–नयाँ किताबहरू पढ्ने । चिकित्सा क्षेत्रका मात्र होइन, जीवन दर्शन, साहित्यका किताब पनि पढ्नेछु ।
तेस्रो, बिरामीकेन्द्रित उपचारमा अझ बढी ध्यान दिने कोसिस गर्नेछु । बिरामीको कथा सुन्ने, उनीहरूको भावना बुझ्ने र उपचारमा उनीहरूलाई नै केन्द्रमा राख्नेछु ।
चौथो, नयाँ सीपहरू सिक्ने, विशेष गरी जसले बिरामीको सेवामा थप टेवा पुगोस् ।
पाँचौँ, अतिदुर्गम क्षेत्रमा पुगेर प्रभावकारी स्वास्थ्य शिविर सञ्चालन गर्नेछु, जहाँ डाक्टर पुग्नै मुस्किल छ, त्यहाँ पुगेर सेवा दिनु मेरा लागि सबैभन्दा ठूलो सन्तुष्टि हो ।
७.वीरमा जलन उपचार सेवा सञ्चालनमा ल्याउन लागिपर्छु
पियुस दाहाल
प्लास्टिक सर्जन, वीर अस्पताल

वीर अस्पतालमा गत वर्षबाट जलन उपचार सेवा सञ्चालनमा आएको छ । यो सेवालाई कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित हुनेछु । बिरामीलाई जलन पीडा कम गराउने, सेवालाई बढाउदै लाने, जलन उपचार विस्तार गराउने नै यसपटकको नयाँ वर्षमा मेरो मुख्य संकल्प हो ।
वीरमा जलन उपचारका लागि १५ शय्याको माग गरेका छौं, कुनै समस्या बिना त्यो सञ्चालनमा ल्याउन सकौं भन्ने संकल्प छ । त्यस्तै, व्यक्तिगतरूपमा भने एउटा बानी सुधार्ने प्रतिज्ञा छ । त्यो हो, मेरो चित्त नबुझेको कुरा फ्याट्ट भन्ने बानी छ । यसले कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि अरूको मन दुख्ने पनि रहेछ । कसैलाई चित्त दुखाउन नपरोस्, म यो बानीलाई कम गर्नेछु ।
८.विश्वमै चर्चा हुने खालको अध्ययन, विश्लेषण गर्न लागिपर्छु
डा. शेर बहादुर पुन
संक्रामक रोग विशेषज्ञ, टेकु अस्पताल

यो वर्षको प्रण भनेको म विषयगत अध्ययन र अनुसन्धानमा बढी केन्द्रित हुनेछु । देशमा नयाँ प्रकोप नआओस् भन्ने कामना नै हो । यदि आइहालेमा त्यसका लागि सामना गर्ने र लड्न सक्ने सामर्थ्य राखेर अघि बढ्न सकुँ भन्ने छ । मेरो विधा सरुवा रोगमा अझ आफूले गरिरहेको वा दिनुपर्नेमा सेवामा कमीकमजोरी भएमा अझै धेरै दिनुपर्नेछ भन्ने सोच छ।
कुनै अध्ययन विश्लेषणको क्षेत्रमा देशमा मात्र होइन विश्वले पनि नेपालमा यस्तो लेखन, चिन्तन गर्ने व्यक्ति छ भन्ने नमूना बन्ने काममा लागिरहेको छु । र, म त्यो काममा शतप्रतिशत उत्रिन हरसम्भव प्रयास गर्छु भन्ने मेरो संकल्प छ ।
९.बुबाआमासँग सातामा एकपटक लन्च वा डिनर गर्नेछु
डा. अरुण शाही
क्यान्सर रोग विशेषज्ञ, पाटन अस्पताल

यो वर्षको मेरो पहिलो संकल्प भनेको परिवारलाई समय दिन्छु भन्नेछ । हामी जति उमेर बढ्दै गयो परिवारको महत्व बुझिँदै जाने रहेछौं । अन्तिममा जे जस्तोसुकै भए पनि परिवार नै चाहिँदोरहेछ ।
कामको व्यस्तताले गर्दा धेरै कुराहरू छुटिरहेको अनुभव भइरहेको छ । सबैको बुबाआमालाई अस्पतालमा हेरिन्छ, अब भने आफ्नो बुबाआमासँग सातामा एकपटक लन्च वा डिनर गरेर समय बिताउनेछु ।
उहाँहरूको मनमा लागेको समस्या, भावना सुन्नेछु । त्यो मात्र होइन, मेरा दीदी, भाइसँग महिनाको एकपटक घुम्न जाने योजना बनाउनेछु । साथै, आफ्नो इस्टमित्र नातागोताका लागि ३ महिनामा एकपटक भेटघाट समारोह राख्नेछु ।
त्यो मात्र होइन, मदिरा म खाने व्यक्ति त होइन, सोसियल ड्रिंक्सको रूपमा खान्छु । अब त्यो पनि त्याग्नेछु ।
१०.काम र व्यक्तिगत जीवनका लागि बराबरी समय दिनेछु
डा. दीजा खनाल
प्रसूति रोग विशेषज्ञ, थापाथली प्रसूति अस्पताल

म सधैँ अंग्रेजी र नेपाली नयाँ वर्षमा संकल्प राख्ने गर्छु । यो वर्ष भने पहिलाको भन्दा अलि फरक छ, मेरो संकल्प । मलाई अहिले पेशागत र व्यक्तिगत जीवन दुवैमा रुम्मलिरहेको जस्तो, हराइरहेको जस्तो अनुभूति भइरहेको छ ।
त्यसैले, अबको प्रतिज्ञा भनेको काम र व्यक्तिगत जीवनलाई समय दिनेछु । आफ्ना लागि समय छुट्याउनेछु । यो बाहेक म पाठेघरको क्यान्सर र महिला स्वास्थ्यबारे हरसम्भव आफूले सकेको सचेतना फैलाउने काम गरिरहेको छु । मैले यो क्रममा महिलाले लाज र डरले खुलेर भन्न नसकेको कुरालाई भन्नुपर्छ है भन्ने हिम्मत र ढाड्स दिन सक्दो लाग्नेछु ।
प्रतिक्रिया 4