News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई सञ्चालन गर्न लागिएको आईभीएफ सम्बन्धी चिकित्सा शिविर रोक्न प्रशासनलाई पत्राचार गरेको छ।
- काउन्सिलले काउन्सिलमा दर्ता र पूर्वस्वीकृति नलिई चिकित्सा सेवा सञ्चालन गर्नु कानुनविपरीत र जनस्वास्थ्यमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ।
- पत्रमार्फत काउन्सिलले प्रशासनलाई कार्यक्रम तत्काल रोक्न, छानबिन अघि बढाउन र कानुनी कारबाही गर्न अनुरोध गरेको छ।
२ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिनाअनुमति सञ्चालन गर्न लागिएको आईभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) सम्बन्धी चिकित्सा शिविर रोक्न प्रशासनलाई पत्राचार गरेको छ ।
काउन्सिलले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै शिविर रोक्न पत्र पठाएको हो । सामाजिक सञ्जाल तथा प्रचार सामग्रीमार्फत १६ अप्रिल (भोलि) होटेल याक एन्ड यतीमा आईभीएफसम्बन्धी परामर्श सेवा सञ्चालन गर्न लागिएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।
काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा प्रचलित नियमावली २०२४ अनुसार नेपाल भित्र कुनै पनि विदेशी वा स्वदेशी चिकित्सक वा संस्थाले चिकित्सा सेवा, परामर्श शिविर वा उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुअघि काउन्सिलमा दर्ता र पूर्वस्वीकृति लिन अनिवार्य हुन्छ ।
तर, उक्त कार्यक्रमसँग सम्बन्धित प्रचार सामग्रीको अध्ययन गर्दा संलग्न चिकित्सक वा संस्थाले काउन्सिलमा विधिवत दर्ता गरेको वा आवश्यक स्वीकृति लिएको प्रमाण नदेखिएको काउन्सिलले जनाएको छ ।
अनुमतिविना यस्तो चिकित्सा सेवा सञ्चालन गर्नु कानुनविपरीत मात्र नभई जनस्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्ने भन्दै काउन्सिलले चेतावनी दिएको छ ।
‘उक्त प्रचार सामग्रीको अध्ययन गर्दा सम्बन्धित चिकित्सक र संस्था नेपाल मेडिकल काउन्सिलमा विधिवत् दर्ता भएको वा काउन्सिलबाट आवश्यक स्वीकृति लिएको प्रमाण देखिँदैन । यसरी बिना अनुमति चिकित्सा सेवा सञ्चालन गर्नु कानुनविपरीत हुनका साथै जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावनासमेत रहन्छ,’ पत्रमा भनिएको छ ।
पत्रमार्फत काउन्सिलले प्रशासनलाई उक्त कार्यक्रम तत्काल रोक्न, आवश्यक छानबिन अघि बढाउन र कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । साथै भविष्यमा यस्ता गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित निकायबाट अनिवार्य स्वीकृति लिनुपर्ने विषयमा सरोकारवालालाई सचेत गराउन पनि आग्रह गरेको छ ।
काउन्सिलले उक्त शिविरसँग भारतीय चिकित्सकहरू डा. जयदीप मल्होत्रा र डा. नरेन्द्र मल्होत्रालगायत संलग्न रहेको उल्लेख गरेको छ ।
रजिस्ट्रार डा. देवले जनस्वास्थ्यसँग सम्बन्धित संवेदनशील सेवामा कानुनी प्रक्रिया पालना अनिवार्य रहेको बताउँदै नियमविपरीत गतिविधि सहन नहुने बताएका छन् ।
प्रतिक्रिया 4