१८ पुस, काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवालाई भेटेर अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ । सो भेटमा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताएका छन् ।
केन्द्रीय कार्यसमिति चलिरहँदा निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने भन्दै दबाब दिएको समूह शुक्रबार बिहान सभापति देउवासँग महाराजगञ्जस्थित निवास पुगेको थियो ।
उक्त समूहमा रहेकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानबारे सभापति देउवासँग आफूहरूले छलफल गरेको जानकारी दिइन् । उनकाअनुसार समूहले आजै (शुक्रबार) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्दैछ ।
‘पहिला पनि हामीले चुनाव पछि महाधिवेशन हुनुपर्ने र चुनाव अघि विशेष महाधिवशेन हुनुपर्छ भन्ने मतहरू मिलाउने भूमिका निर्वाह गरेका थियौं,’ नेतृ संग्रौलाले भनिन्, ‘पछि चुनाव अघि नियमित महाधिवेशन गर्ने भनेर सर्वसम्मत निर्णय भएको थियो । अहिले पनि त्यही भूमिका निभाइरहेका छौं ।’
उनले सभापति देउवासँग आफूहरूले पार्टीलाई निकास दिन र विभाजनमा जान नदिनका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको पनि बताइन् ।
‘पार्टीलाई निकास दिनुपर्यो । विभाजनतर्फ जान दिनुभएन भन्ने कुरा राख्यौं,’ संग्रौलाले भनिन्, ‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔं भन्ने म त चाहिनै रहेको छु भन्नुभयो ।’
१६ पुस (बुधबार) का लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गरेका छन् ।
उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारीसमेत गरेका छन् । विशेष महाधिवेशनका लागि पक्षधर समूहले बिहीबार भृकुटीमण्डप पनि बुक गरिसकेको छ ।
महामन्त्रीद्वयले नियमित महाधिवेशन अस्थगित गरेपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
प्रतिक्रिया 4