२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि नाम दर्ताको तयारी थालिएको छ । बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी गरिएको छ ।
महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट ८ बजेदेखि नाम दर्ता सुरु गर्ने गरी तयारी थालिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।
नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।
विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ ।
आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । उनीहरुले आजकै मितिमा जिल्ला सभापति र युवाको भेला बोलाएका छन् ।
महाधिवेशन सोमबारसम्म चल्नेछ । महाधिवेशनका लागि बाहिर जिल्लाका प्रतिनिधिहरु शनिबार नै काठमाडौं आइसकेका छन् । उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4