News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवनको पुरानो मुख्य ढोकाअगाडि जेनजी विद्रोहका शहीदहरूको सम्झनामा कलाकारहरूले सामूहिक कला प्रदर्शनी गरेका छन्।
- २०७९ मंसिर २९ मा कलाकार रविन्द्र श्रेष्ठले 'जेनजी बलिदानी छाप' शीर्षकमा क्यानभासमा रङ भरेर श्रद्धाञ्जली स्वरूप प्रदर्शन गरेका थिए।
- संसद भवन अगाडि १३ पुसमा 'नदबिने आवाज' शीर्षकमा १७० बढी कलाकारहरूको चित्र, स्केच र प्रतीकात्मक कला प्रदर्शनी गरिएको थियो।
काठमाडौँको नयाँ बानेश्वर ।
यस चोकमा यसअघि संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन छ । यो त्यही ठाउँ हो जहाँ ४ महिनापहिले जेनजीहरूको सपना र आक्रोशले संसद भवनको पर्खाल नाघेको थियो । तोडफोड, आगजनी, अश्रुग्यास, गोली र रगतहरूले वातावरण अर्कै बनाएको थियो ।
आजकल त्यही क्षतविक्षत भवनको दक्षिणतिर रहेको मूल ढोकाअगाडि एउटा अर्कै दृश्य देखिन थालेको छ । त्यहाँ हिजो जस्तो विद्रोह त छैन । तर मौनता चिच्याइरहेको छ । ढुङ्गामुढा छैन तर, रङ र रेखाहरूले व्यवस्थालाई प्रश्न गर्न थालेको छ ।
संसद भवनको त्यो क्षतविक्षत मूल ढोका, जसलाई केही समयअघि मात्रै पनि शक्ति र सत्ताको प्रतीक मानिन्थ्यो । आज आफ्नै कङ्काल प्रदर्शन गरेर ठिंग उभिइरहेको छ। यही ठाउँमा, त्यो विध्वंसको धूलोभित्र एउटा नयाँ सुगन्ध छाउन थालेको छ– रङको सुगन्ध ।
रगत लतपतिएको त्यही भुइँमा कलाकारहरूले ब्रस चलाउन थालेका छन् । आ-आफ्नो कला प्रदर्शनी गर्न थालेका छन् । मानौँ, उनीहरू खण्डहरबाट जीवन ब्यूँझाउने कोसिस गर्दैछन् । जेनजी विद्रोहमा शहीद भएका व्यक्तिहरूको बलिदानी सम्झाउन खोजिरहेका छन् ।
समग्रमा भत्किएको संरचनाअघि उभिएर कलाकारहरूले एउटा यस्तो ‘कला युद्ध’ छेडिरहेका छन्, जसले भन्छ- ध्वस्त हुनु नै अन्त्य होइन । यो त पुनर्निर्माणको सुरुवात हो । जेनजी बलिदानी सम्झ ।
जहाँ रगत फूल बन्छ..
कलाकार रवीन्द्र श्रेष्ठका लागि कला एउटा युद्ध हो । र, उनलाई युद्ध समान लाग्ने कला पीडा पचाउने प्रक्रिया पनि लाग्छ । जेनजी विद्रोहपश्चात उनी त्यस्तै एउटा ‘क्रियटिभ पेन’मा थिए । सुरुमा उनले आफ्नै शरीरबाट रगत निकालेर खोलामा बगाउने र त्यसको भिडियो बनाउने योजना बनाएका थिए । त्यो आफैंमा जेनजी विद्रोहसँग प्रतीकात्मक हुन्थ्यो । तर, केही अनुसन्धान गरेपछि थाहा भयो– त्यस्तो प्रकृतिको कला प्रदर्शनी भइसकेछ ।
त्यसपछि उनले ‘फिंगरप्रिन्ट’ र ‘रातो रेखा’को अवधारणामा काम गर्ने निर्णय गरे । थाहा दिइहालुँ, यो उनको एउटा कन्सेप्टचुअल आर्टवर्क हो । उनले २०७२ सालको महाभूकम्पपश्चात आफ्नो सिर्जनामा यसको प्रयोग गर्दै आइरहेका छन् । उनका अनुसार जसरी दुईजना व्यक्तिको औंठाछाप कहिल्यै मिल्दैन, त्यसैगरी मानिसका सोच र दृष्टिकोणहरू पनि फरक हुन्छन् । अनि रातो रेखाले मानवीय एकता र आपसी सम्बन्धलाई जोड्छ ।
त्यसपछि उनले आफ्नो घरमा ६*६ फिटको ठूलो क्यानभासमा काम गर्न थाले । त्यसको नाम दिए– जेनजी बलिदानी छाप । सुरुमा त्यो कला प्रदर्शनी सडकमा हुन्छ भन्ने उनको सोच थिएन । उनले अन्य ठाउँहरू पनि हेरेका थिए । तर, उनलाई संसद भवनअघि नै गर्न मन लाग्यो । किनकि त्यही माटोमा आन्दोलनका क्रममा युवाहरूको रगत बगेको थियो । उनी कुनै-कुनै कलाले आफ्नै ठाउँ माग्ने कुरामा विश्वास गर्छन् ।

त्यसरी गत २९ मंसिरमा ‘जेनजी बलिदानी छाप’ शीर्षकमा उनले एउटा कलेक्टिभ कला प्रदर्शनी गरे । अझ पूरा दिन पनि होइन । जम्मा केही घण्टा । भीड अलि कम हुने भएकाले उनले कला प्रदर्शनीका लागि समय मध्यदिन छानेका थिए ।
प्रदर्शनीको दिन १२ बजेतिर उनले ठीक दक्षिणी गेट अगाडि ठूलो क्याभास राखे । छेवैमा उनले रङ र ब्रश राखिदिए । र, त्यो ठाउँ भएर जानेहरूलाई श्रद्धाञ्जली स्वरूप क्याभासमा फूल बनाउन लगाए ।
त्यसपछि प्रदर्शनीमा बाटो हिँड्ने विद्यार्थी, भरिया र सर्वसाधारणले आफ्नै हातले रङ भरेर फूलहरू बनाए । केहीले फूलहरूबाहेक अन्य थोक पनि बनाए ।

कलाकार रवीन्द्रका अनुसार श्रद्धाञ्जलीमा चढाइने प्राकृतिक फूल त ओइलाएर जान्छ, तर क्यानभासमा कोरिएको यो श्रद्धाञ्जलीको फूल कहिल्यै ओइलाउँदैन । त्यहाँ रङ भर्दै गर्दा कतिपय आमाहरूका आँखा रसाएका थिए, मानौँ उनीहरूले आफ्ना गुमेका सन्तानका सपनाहरू त्यही क्यानभासमा खोजिरहेका छन् ।
गेटमा झुण्डिएको त्यो अधूरो सपना
दु:खद् सत्य, जेनजी विद्रोहको क्रममा कलाकार बिनोद महर्जन पनि शहीद हुन पुगे । उनलाई संसद भवनको गेटअघि नै गोली लागेको थियो । उनी कलाकारितामा एकलव्य थिए । उनका केही आर्टवर्कहरू थियो ।

त्यस्तै कलाकारहरू, विशेषगरी ललितकला क्षेत्रका व्यक्तिहरू देशमा यत्रो परिवर्तन हुँदा पनि ‘न्युट्रल’ बसिरहेका थिए । तर, बौद्धिक भन्ने यस क्षेत्रका मान्छेहरूले देशलाई समस्या पर्दा समाधानको बाटो दिन सकिरहेका थिएनन् । यिनैको समाधान स्वरूप पनि एउटा ठूलो अर्को सामूहिक कला प्रदर्शनीको जन्मिएको थियो, ‘नदबिने आवाज’ ।
रगत लतपतिएको त्यही भुइँमा कलाकारहरूले ब्रस चलाउन थालेका छन् । आ-आफ्नो कला प्रदर्शनी गर्न थालेका छन् । मानौँ, उनीहरू खण्डहरबाट जीवन ब्यूँझाउने कोसिस गर्दैछन् ।
गत १३ पुसमा भएको उक्त सामूहिक कला प्रदर्शनी जेनजी शहीदहरूको सम्झना र सम्मान दुै थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिको सडक पेटीमा आयोजना गरिएको उक्त कला प्रदर्शनीमा १७० बढी कलाकारहरूका चित्र, स्केच, पोस्टर, प्रतीकात्मक कलाहरू प्रदर्शनी गरिएको थियो ।
उक्त कला प्रदर्शनीमा संलग्न जुपिटर प्रधानका अनुसार संसद भवनको क्षेत्र रोजिनुको पछाडि गहिरो प्रतीकात्मक अर्थ रहेको छ । सोही ठाउँमा आन्दोलनका क्रममा कलिला युवाहरूको मृत्यु भएको थियो । यो कला प्रदर्शनी ग्यालेरी अथवा अन्य ठाउँमा गर्नुको खास अर्थ रहँदैनथ्यो जति बानेश्वर क्षेत्रमा गर्नुको अर्थ छ ।

प्रदर्शनीमा शहीद भएका महर्जनको कला गेटमा नै राखिएको थियो । एक अर्थमा सामूहिक घाउमा लगाइएको सामूहिक मलम थियो, त्यो कला प्रदर्शनी ।
खबरदारीका लागि कला
राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा पठाइरहँदा त्यसको व्यापक विरोध भइरहेको थियो । त्यस्तै एक समूहले संसद भवनमा समानुपातिक प्रतिनिधित्व प्रणालीको दुरुपयोगविरुद्ध प्रदर्शनी गरे ।
त्यसमा आर्ट्री नेपालका कलाकारले नारासहित विभिन्न कला प्रदर्शनीमा राखेका थिए । आर्टी नेपालका एक सदस्य शिलाशा भण्डारीका अनुसार उक्त समूहको मागमा ऐक्यबद्धता जनाउँदै कलात्मक सहयोग गर्न कलाको प्रयोग गरिएको थियो ।

विरोध प्रदर्शनमा कलाको प्रयोग गर्नुको मुख्य उद्देश्य सञ्चारमा स्पष्टता ल्याउनु रहेको शिलाशाले बताइन् । कलाले मानिसका विभिन्न इन्द्रीयहरूलाई सक्रिय बनाउने र बुझ्न सजिलो बनाउने भएकाले त्यसो गरिएको उनको भनाइ छ । कलालाई संवादको माध्यम मान्ने उनले आफ्नो कलाले ‘के यो संसदमा हाम्रो अनुहार अटाउँछ?’ भन्ने प्रश्न सोधिरहेको उनी बताउँछिन् ।
इतिहासको साक्षी कला
विश्वमा राष्ट्रिय महत्वका स्थान वा भवनहरू ध्वस्त भएपछि कलाकारहरूले त्यहाँ कला प्रदर्शन गरेको घटना नयाँ होइन । प्रायः युद्ध, राजनीतिक परिवर्तन वा प्राकृतिक विपत्तिपछि हुने क्षतिग्रस्त स्थलहरूलाई सांस्कृतिक वा कलात्मक रूपमा पुनर्जीवित गर्ने प्रयासस्वरूप कला प्रदर्शनी भएका उदाहरणहरू विश्वमा पाइन्छन् ।
संसद् भवनअगाडि भइरहेका कला प्रदर्शनीहरूलाई सकारात्मक रूपमा हेर्नु पर्ने कला समीक्षक मुकेश मल्ल बताउँछन् । उनका अनुसार कलाकार पनि देशको एक जिम्मेवार नागरिक हो र यस्ता गतिविधिले कलाकार देशप्रति सजग छ भन्ने कुरालाई पुष्टि गर्ने उनको भनाइ छ ।

उनका अनुसार यस्ता घटनाहरूलाई दुई किसिमले हेर्न सकिन्छ । एउटा, राजनीतिक वा सामाजिक गतिविधिलाई कलाले सहयोग गरिरहेको छ । अर्को चाहिँ, कलाकै एउटा नयाँ रूपमा विकास हुँदैछ । यस प्रकारको अभ्यासले नेपालमा अन्तर्राष्ट्रिय स्तरको कलाशैली देखिने र यसले नेपाली कलाको विकासको पाटो देखाउनेमा विश्वास उनको छ । त्यस्तै तत्कालीन घटनासम्बन्धीका समाचारहरू भोलि हराएर जान्छन् ।
सयौँ वर्षपछि इतिहास खोज्दा यी कलाहरूले मात्र सत्य बोल्ने मल्ल बताउँछन् । राज्यका संयन्त्रहरू मौन हुँदा अथवा संरचनाहरू ढल्दा एउटा कलाकारको ब्रस र रङहरू नै समाजलाई जीवित राख्ने कुरालाई पनि यी गतिविधिहरूले पुष्टि गरेको उनको भनाइ छ ।

फोटो क्रेडिट: रवीन्द्र श्रेष्ठ, जीवन भाइ, आर्ट्री नेपाल
प्रतिक्रिया 4