News Summary
Generated by OK AI. Editorially reviewed.- के-पप समूह ब्ल्याकपिंकले १५ फागुन बिहान ९ बजेर ४५ मिनेटमा नयाँ एल्बम 'डेडलाइन' सार्वजनिक गर्ने घोषणा गरेको छ।
- ब्ल्याकपिंकको नयाँ एल्बम 'डेडलाइन' साढे तीन वर्षपछि आउने पहिलो सामूहिक प्रस्तुति हुनेछ।
- ब्याण्डले गत वर्ष नयाँ म्युजिक भिडियो छायाङ्कन र प्रचारका कामहरू सकिसकेको छ र विश्व भ्रमणमा व्यस्त छ।
सियोल । विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो ।
एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् ।
साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको हो । सन् २०२२ मा सार्वजनिक भएको उनीहरूको दोस्रो स्टुडियो एल्बम ‘बोर्न पिङ्क’ पछि ब्याण्डको यो पहिलो सामूहिक सांगीतिक प्रस्तुति हुनेछ ।
नयाँ एल्बमको घोषणासँगै सामाजिक सञ्जालमा एउटा टिजर भिडियो पनि सार्वजनिक गरिएको छ । उक्त टिजरले एल्बम रिलिजको मिति र समयलाई आधिकारिक रूपमा पुष्टि गरेको छ ।
जसअनुसार, २७ फेब्रुअरी (१५ फागुन) मा नेपाली समयानुसार बिहान ९ बजेर ४५ मिनेटमा ब्याण्डको एल्बम रिलिज हुनेछ । लामो समयदेखि व्यक्तिगत प्रोजेक्टमा व्यस्त रहेका चारैजना सदस्यहरू (जिसु, जेनी, रोजे र लिसा) पुनः एकसाथ देखिने भएपछि विश्वभरका प्रशंसकमा उत्साह छाएको छ ।
एल्बमको नामलाई लिएर धेरैमा कौतुहलता रहे पनि अन्ततः यो समूहले आफ्नो विश्व भ्रमण कै नाम ’डेडलाइन’ लाई एल्बमको शीर्षकको रूपमा रोजेको देखिएको छ ।
स्रोतका अनुसार, ब्याण्डले गत वर्षको अन्त्यतिर नै नयाँ म्युजिक भिडियोको छायाङ्कन सम्पन्न गरिसकेको छ । लगत्तै एल्बमको कभर फोटोसुट र अन्य प्रचारका कामहरू पनि सकिएको बताइएको छ ।
आगामी एल्बम ’डेडलाइन’ पछिल्लो चर्चित डिजिटल सिंगल ‘जम्प’ सार्वजनिक भएको करिब ७ महिनापछि आउन लागेको हो । ‘जम्प’ सन् २०२५, जुलाई ११ मा रिलिज भएको थियो, जसले विश्वव्यापी चार्टमा राम्रो सफलता पाएको थियो ।
एल्बम सार्वजनिक हुनुअघि ब्याण्ड अहिले आफ्नो भव्य विश्व भ्रमणमा व्यस्त छ । सन् २०२५ देखि सुरु भएको यो ‘डेडलाइन’ वल्र्ड टुर आगामी जनवरी २६, २०२६ मा हङकङको काइ ताक स्टेडियममा एक विशेष सांगीतिक समारोहका साथ समापन हुने तालिका छ ।
प्रतिक्रिया 4