२ माघ, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादको सन्दर्भमा आयोगले विधिसम्मत निर्णय दिने बताएका छन् ।
आधिकारिकता दाबी गर्दै कागजात बुझाउन गएका देउवा पक्षका नेताहरुलाई प्रमुख निर्वाचन आयुक्त भण्डारीले विधिसम्मत निर्णय दिने बताएका हुन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कांग्रेसको वैधानिकतामा कुनै विवाद नरहेको र विशेष महाधिवेशन भनेर गरिएका गतिविधिलाई कांग्रेसले नचिन्ने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
जवाफमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर विश्लेषण गर्छ । विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन । निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।’
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा सहितको टोलीले निर्वाचन आयोग पुगेर विवरण अद्यावधिकका लागि निवेदन दिइसकेको छ । जसमा आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको हस्ताक्षर रहने लगायतका विषय समावेश छन् ।
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंमा पुस अन्तिम साता विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति नै चयन गरेर अगाडि बढेको छ । तर, देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भनेर आयोगको ध्यानाकर्षण गराएको हो ।
प्रतिक्रिया 4