News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशसभा सदस्य युवराज दुलालले सांसद पदबाट राजीनामा दिएर सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्।
- नेकपाले टिकट दिएपछि दुलालले माघ ६ गते मनोनयन दर्ता गर्नुअघि सभामुखसमक्ष राजीनामा बुझाएका हुन्।
- दुलालले २०७४ देखि २०७७ सम्म सामाजिक विकास मन्त्रालय र २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
५ माघ, काठमाडौं । बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले सांसद पदबाट राजीनामा दिएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।
पार्टीले टिकट दिएपछि उम्मेदवारी दर्ता गर्नुअघि उनले सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ ।
चौतारा साँगाचोकगढी स्थायी घर भएका दुलाल बागमती प्रदेशसभा सदस्य समेत हुन् । उनी सोही क्षेत्रबाट २ पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
२०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (क) बाट प्रतिस्पर्धा गरेका उनले जित निकालेका थिए । दुई कार्यकालको प्रदेशसभाको ८ वर्षे अवधिमा उनी अधिकांश समय सरकारमा रहेर काम गरेका थिए ।
२०७४ देखि २०७७ सम्म बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहेर उनले काम गरे ।
यो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेत प्रतिनिधि सभा सदस्य बनेका थिए । क्षेत्र नम्बर १ का बस्नेतले तत्कालीन माओवादीसँगको सहयोगमा चुनाव जितेका थिए ।
बस्नेतलाई नयाँ निर्वाचन क्षेत्रमा ल्याएर जिताएको र उनले विकासका काममा सक्रिय बन्न नसकेको भन्दै उनको आलोचना समेत भएको थियो ।
यो क्षेत्रमा एमालेले भने शेर बहादुर तामाङलाई उम्मेदवार बनाएको छ । तामाङ यसअघि बस्नेतसँगै हारेका थिए ।
प्रतिक्रिया 4