News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री नम्रता श्रेष्ठले सामाजिक सञ्जालमा सन् २०१६ देखि मानसिक स्वास्थ्यसँग जुधिरहेको र निको हुन समय लाग्ने कुरा उल्लेख गरिन्।
- उनले तीन वर्षसम्म औषधि सेवन गरी दैनिक संघर्ष गरेकी र हार नमान्ने अठोटले आफूलाई अघि बढ्न मद्दत गरेको बताइन्।
- नम्रताले नयाँ वर्ष २०२६ को शुभकामना दिँदै आत्म-खोजको यात्रा अझै जारी रहेको र आफू पहिलेभन्दा शान्त र दयालु भएको उल्लेख गरिन्।
काठमाडौं । सन् २०१९ मा रिलिज भएको फिल्म ‘जाइरा’ पछि अभिनेत्री नम्रता श्रेष्ठ सार्वजनिक जीवनमा देखिएकी छैनन् । त्यसबीच उनको जीवनमा धेरै उतारचढाव देखिए ।
बीच-बीचमा उनी फाट्टफुट्ट सामाजिक सञ्जाल स्टाटस पोस्ट गर्थिन् र प्रशंसकसँग धेरथोर अन्तक्रिया । मंगलबार राती उनले सामाजिक सञ्जालमा मर्मस्पर्शी र अर्थपूर्ण कुरा पोस्ट गरेकी छन् ।
सन् २०१६ ले आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याएपनि त्यसपछि आफ्नो जीवन मानसिक स्वास्थ्यसँग जुधिरहेको कुरा उनले उल्लेख गरेकी छन् । त्यो वर्षले आफूलाई सफलताले पीडबाट बचाउन सक्दैन र निको हुन समय लाग्छ भन्ने कुरा सिकाएको उल्लेख गरेकी छन् ।
त्यसको दशकपछि आफूमा शान्तपनको स्वभाव विकास भएको उल्लेख गर्दै उनले पछिल्ला वर्षमा जे भयो, नराम्रो भएन भनेर उल्लेख गरेकी छन् । सन् २०१६ आफ्नो आत्मखोजको सुरुवात भएको र त्यो कार्य अहिले पनि जारी रहेको उनले बताएकी छन् ।
उनले संकल्पसहित प्रशंसकलाई अंग्रेजी नयाँवर्ष २०२६ को शुभकामना समेत दिएकी छन् । उनले आफ्ना धारणासहित त्यो समयक्रमका फोटोहरू पनि सार्वजनिक गरेकी छन् ।

नम्रताले के लेखिन् ?
मेरो जीवन परिवर्तन भएको वर्ष : २०१६
बाहिरबाट हेर्दा सबै कुरा निकै राम्रो देखिन्थ्यो : अभिनेत्रीको रूपमा राष्ट्रिय पुरस्कारसहित थुप्रै सम्मानहरू… एउटा सफल रेस्टुरेन्ट, ओठमा मुस्कान र खुसी ।
तर भित्रभित्रै म डिप्रेसन र एन्जाइटी (चिन्ता) सँग लडिरहेकी थिएँ । त्यो वर्षले मलाई एउटा महत्वपूर्ण पाठ सिकायो– सफलताले तपाईँलाई पीडाबाट बचाउन सक्दैन, र निको हुन समय लाग्छ ।
मैले सबै प्रयास गरेँ : ध्यान, हाइकिङ, पदयात्रा, मन्दिर र गुम्बाहरू… सुरुमा केहीले पनि काम गरेन । कुनै दिन बाँच्नु नै ठूलो कुरा हुन्थ्यो, त कुनै दिन ममा सुधार आउँथ्यो ।
मैले बुझेँ कि कहिलेकाहीँ समस्या मान्छेमा होइन, आफ्नै मनमा हुँदो रहेछ । यो चोट निको हुन हप्ता वा महिना होइन, वर्षौँ लाग्यो ।
तीन वर्षसम्म औषधिको सेवन ।
हरेक दिनको संघर्ष ।
पुरानै अवस्थामा बल्झिने डर ।
तर, हार नमान्ने अठोट !!!
मेरो मनले मलाई हार मान्न बाध्य पार्दा पनि म रोकिएँ । मलाई के कुराले अगाडि बढ्न मद्दत गर्यो त ? यो सोचले कि, मेरो खुसी मेरो लागि मात्र होइन, अरूका लागि पनि उत्तिकै जरुरी छ ।
यस क्रममा मैले जीवनलाई फरक ढङ्गले जिउन सिकेँ :
धेरै घुमफिर गरेँ ।
“नाइँ’ भन्न सिकेँ ।
आफूलाई मन पर्ने कुरा खाएँ ।
कामबाट बिदा लिन थालेँ ।
फोन र सामाजिक सञ्जालमा कम समय बिताएँ ।
१० वर्षपछि, आज म पहिलेभन्दा शान्त छु । दयालु छु । अझै सिक्दै छु र अझै पनि आफूलाई सुधार्दै छु । अहिले पछाडि फर्केर हेर्दा लाग्छ- जे भयो, नराम्रो भएन।
त्यसैले, सबैप्रति दयालु बन्नुहोस् । आफूलाई माफ गर्न सिक्नुहोस् । तपाईँ मान्छे हो, गल्ती हुन्छ । तपाईँ असफल हुनुहुन्छ, सिक्नुहुन्छ र अगाडि बढ्नुहुन्छ ।
२०१६ मेरो आत्म-खोजको सुरुवात थियो र यो यात्रा अझै जारी छ ।
नयाँ वर्ष २०२६ को शुभकामना !
प्रतिक्रिया 4