+
+
Shares

गोरखा २ मा बाबुरामले गरे तालमेलको प्रस्ताव, लेखनाथले गरे अस्वीकार

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरिरहेका डा. भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट समेत गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १०:३७

९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा. बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँग तालमेलको प्रस्ताव गरेका छन् । तर न्यौपानेले भने आफू ‘धेरै अगाडि बढिसकेको’ भन्दै प्रस्ताव अस्वीकार गरेका छन् ।

गोरखा २ मा २०७४ सालमा भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए । २०७९ सालमा उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडिदिए । अहिलेको निर्वाचनमा भने प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बने र सो क्षेत्र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेलाई जिम्मा लगाए ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाबुराम र उनका कार्यकर्ता लेखनाथ अहिले सँगै प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् । उनीहरुका अलावा गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका चक्रे मिलन र रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।

काठमाडौं आएर प्रचण्डलाई भेटे बाबुरामले

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरिरहेका डा. भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट समेत गरेका छन् । शुक्रबार बिहान भएको भेटमा बाबुरामले आफूलाई सघाउन प्रचण्डलाई अनुरोध गरेको स्रोत बताउँछ ।

‘लेखनाथको उम्मेदवारी फिर्ता गराएर मलाई सघाउनुपर्‍यो भन्ने बाबुरामजीको कुरा थियो,’ स्रोतले भन्यो । प्रचण्डले बाबुरामसँग के भने भन्ने सार्वजनिक भएको छैन ।

तर निर्वाचन क्षेत्रमा चुनाव प्रचारमै व्यस्त नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथले भने आफू पछि नहट्ने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘चिज धेरै अगाडि बढिसक्यो, अब म पछि फर्किने कुरै हुँदैन ।’

‘अहिलेसम्म अवसर नपाएको उम्मेदवार भनेर साथीहरु मसँग केन्द्रित हुँदै जानु भएको छ, यो अवस्थामा ब्याक हुनु भनेको पार्टीलाई नै हानि हुने हो,’ न्यौपानेले भने, ‘त्यसैले म पछि हट्दिनँ ।’

मनोनयन दर्ताअघि नै छलफल भएको थियो बाबुराम र लेखनाथबीच

माघ ६ गते मनोनय दर्ता गराएका उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिने दिन हो । उम्मेदवारी फिर्ताको काम सकिएपछि आजै उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

न्यौपानेका अनुसार मनोनयन दर्ता गर्नुअघि नै बाबुरामसँग उनको छलफल भएको थियो । उनले आफूले अहिलेसम्म अवसर नपाएको भन्दै बाबुराको साथ खोजेका थिए । त्यसक्रममा बाबुरामले ‘अघि बढ्नुस्’ भनेपछि आफूले मनोनयन दर्ता गराएको लेखनाथ बताउँछन् ।

उनले भने, ‘मैले मनोनयन दर्ता भन्दा अघि नै बाबुराम दाइसँग छलफल गरेको थिएँ । म तपाईंकै कार्यकर्ता हुँ, तपाईंका एजेण्डासहित काम गर्न तयार छु, मलाई सघाउनुस् भनेको थिएँ, उहाँले अघि बढ्नुस् भनेपछि मनोनयन दर्ता गराइयो । अब फिर्ता हुने कुरा हुँदैन ।’

प्रलोपा नेता एवम् बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले बाबुरामलाई सर्वसम्मत उम्मेदवार बनाउन सबै उम्मेदवार र पक्षसँग छलफल भइरहेको बताइन् । उनले भनिन्, ‘उहाँजस्तो राष्ट्रिय व्यक्तित्व भएको उम्मेदवारलाई सर्वसम्मत बनाउनुपर्छ भनेर सबै पक्षसँग छलफल भइरहेको छ तर देखिने गरी प्रगति केही भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?