News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय फिल्म 'होमबाउन्ड' अस्कर अवार्डको 'बेस्ट इन्टरनेसनल फिचर फिल्म' अन्तिम मनोनयनमा पर्न सकेन।
- 'होमबाउन्ड' लाई भारतले अस्करमा अफिसियल इन्ट्रीका रूपमा पठाएको थियो र यो ८६ फिल्मबाट उत्कृष्ट १५ मा पर्यो।
- फिल्मलाई नीरज घेवानले निर्देशन गरेका थिए र यसले कान्स र टोरन्टो फिल्म फेस्टिवलमा प्रशंसा पाएको थियो।
मुम्बई । भारतका लागि यस पटकको अस्कर अवार्डबाट दुःखद खबर छ । सर्टलिस्टमा छनोट भएको भारतीय फिल्म ‘होमबाउन्ड’ ले मनोनयनमा स्थान बनाउन सकेन ।
यो नतिजापछि भारतीय फिल्मलाई धक्का लागेको छ । ‘होमबाउन्ड’ लाई यस वर्ष भारतको तर्फबाट अस्करमा ‘अफिसियल इन्ट्री’ का रूपमा पठाइएको थियो ।
यो फिल्म ‘बेस्ट इन्टरनेसनल फिचर फिल्म’ को विधामा उत्कृष्ट १५ सम्म पुग्न सफल भएको थियो । विश्वभरका ८६ फिल्ममध्येबाट छानिएर यो अन्तिम १५ सम्म पुगेको थियो, तर अन्तिम मनोनयनमा भने पर्न सकेन ।
सन् २००१ मा आमिर खानको फिल्म ‘लगान’ ले ‘बेस्ट इन्टरनेसनल फिचर फिल्म’ को विधामा मनोनयन पाएर इतिहास रचेको थियो । त्यसयता कुनै पनि भारतीय फिल्मले यस विधामा अस्कर जित्न वा अन्तिम मनोनयनसम्म पुग्न सकेका थिएनन् ।
यस पटक फिल्म ‘होमबाउन्ड’ बाट धेरै आशा गरिएको थियो, तर त्यो आशा अहिले टुटेको छ । ‘होमबाउन्ड’ लाई नीरज घेवानले निर्देशन गरेका हुन् । यसमा ईशान खट्टर, जान्हवी कपूर र विशाल जेठवा मुख्य भूमिकामा थिए ।
यसले विश्वभर निकै प्रशंसा र चर्चा बटुलेको थियो । ‘होमबाउन्ड’ अस्करबाट बाहिरिएपनि यसले अन्तर्राष्ट्रिय स्तरमा धेरै ठूला उपलब्धि हासिल गरेको छ । यो फिल्म सन् २०२५ को ‘पिपल्स च्वाइस अवाड्र्स’ मा तेस्रो भयो ।
कान्स फिल्म फेस्टिवलमा निकै प्रशंसा गरियो र समीक्षकले यसलाई खुल्ला हृदयले प्रशंसा गरे । टोरन्टो फिल्म फेस्टिवलमा पनि निकै चर्चा भयो र यसले दर्शकको मन जित्न सफल भयो । अस्कर २०२६ को अस्करमा सिनर्स सर्वाधिक १६ विधामा मनोनित भएको छ ।
प्रतिक्रिया 4