१२ माघ, पोखरा ।
मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ,
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ ।
कवि हरिभक्त कटुवालको मुक्तकले भनेजस्तै गोमा घिमिरे ‘रुचि’लाई आफ्नै मन अचेल फलामकै भएजस्तो लाग्छ । नियतीको हम्मरले बारम्बार हिर्काइरहन्छ । तर, ऐया भनेर बस्ने र रुने पनि छुट छैन ।
तरबार बनेर सारा दु:खहरुलाई च्याट्टै छिनाइदिन मन नभएको कहाँ हो र ? त्यसैले त हतियार बोकेर युद्धमा होमिइन् । तर, आफ्नै खुट्टा गुमाइन् ।
संघर्षको मोर्चामा होमिएर प्राप्त हुने सपना र उज्यालो भविष्यका सामुन्ने उनी गर्वले उभिइन्, ‘हजारौंका बलिदानीले प्राप्त अधिकारको तुलनामा मेरो खुट्टा केही होइन ।’
कृत्रिम खुट्टा हालेर उनी समयको बेगसँगै बाँच्ने प्रतिस्पर्धामा दौडिरहिन् । तर, कहिले समयले किनारमा ल्याएर छाडिदिन्छ, कहिले जीवनमा बाँच्नका लागि सहारा लिएको ‘प्रेम’कै परीक्षा लिइदिन्छ ।
कहिले आफ्नै सपना चुँडाएर पनि बालबच्चाको भविष्य सजाउँछिन् र मुस्कुराउँछिन् । कहिले जीवन र मृत्युसँग जुधिरहेका श्रीमानलाई हौसला भर्छिन्, ‘युद्धको यातनाले मिर्गौला कमजोर गराइदिए पनि बाँच्ने हिम्मतलाई कमजोर नबनाउनू ।’
गोमा खास आइतबार हुनुपर्ने निर्वाचन कार्यालय गण्डकी प्रांगण पोखरामा थियो । जहाँ राष्ट्रिय सभामा छिर्नका लागि मतदान भइरहेको थियो । तर, उनी अस्पतालको शैय्यामा थिइन् ।
माओवादी युद्धमा खुट्टा गुमाएकी गोमा ‘मरे शहीद, बाँचे मुक्ति’ भनेर संघर्षको मैदानमा सँगै लडेका सहयोद्धा श्रीमान तीर्थ लुइँटेल ‘सागर’ लाई बँचाउन संघर्ष गर्दै थिइन् ।
माओवादीले जित्ने पक्का हुँदा आकांक्षा राखे पनि अवसर पाइनन् । माओवादी आन्दोलनमा लागेर व्यक्तिगत रुपमा धेरै गुमाएर पनि अवसर नपाएकी तिनै गोमालाई नेकपाले यसपटक गण्डकीमा राष्ट्रिय सभाको उम्मेदवार बनायो ।
गोमालाई राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवार बनाएको थियो । तर, उनी न मत माग्दै नमस्कार गर्न आइपुगिन्, न मत दिनेलाई प्रत्यक्ष धन्यवादै दिन सकिन् ।
श्रीमान तीर्थलाई बचाउन गोमा हौसला दिइरहेकी छन् । त्योभन्दा पनि ७५ वर्षीया आमा टीकाकुमारीले एउटा मिर्गौला नै दान दिएर छोराको जीवनका निम्ति बिस्ताराबाटै प्रार्थना गरिरहेकी छन् ।
२०५८ सालमा माओवादी सशस्त्र संघर्षमा होमिएकी लमजुङकी गोमाले खुट्टा गुमाइन् । शान्ति प्रक्रियामा आएपछि पनि विभिन्न मोर्चामा रहेर काम गरिन् । युद्धभूमिमै भेटिएका कास्की हेमजाका तीर्थसँग प्रेम भयो र प्रगतिशील विवाह गरिन् ।
जीवनका विभिन्न मोडहरुमा आरोह–अवरोह खेपिन् । परिवार र सम्बन्धहरुमा खटपट आए । समानता र अधिकारका निम्ति लडेका पार्टीका नेताहरुले बलिदानीको मूल्य गुमाउँदै जाँदा आन्दोलन पनि कमजोर हुन पुग्यो । माओवादीले जित्ने पक्का हुँदा आकांक्षा राखे पनि अवसर पाइनन् ।
माओवादी आन्दोलनमा लागेर व्यक्तिगत रुपमा धेरै गुमाएर पनि अवसर नपाएकी तिनै गोमालाई नेकपाले यसपटक गण्डकीमा राष्ट्रिय सभाको उम्मेदवार बनायो । जनप्रतिनिधिले मात्रै मत हाल्ने यो चुनावमा कमजोर अंकगणित रहेको नेकपाले नजित्ने निश्चित थियो । तर, गोमा पार्टीका निम्ति चुपचाप हार्न तयार भइन् ।
‘यो चुनावमा जनताले मत हाल्ने होइन, जनताले मत हालेर जिताएका प्रतिनिधिले हाल्ने हो । त्यसैले हार्ने निश्चित थियो । तर, मेरा निम्ति गुमाउनु केही थिएन, पार्टीका निम्ति चुपचाप हार्न तयार भएकी हुँ,’ काठमाडौं मेडिकल कलेजबाट गोमाले जीवनको सुस्केरा सुसेलिन्, ‘हार्नका निम्ति पनि तयार हुनेहरुले नै बाँच्नका निम्ति अप्ठेरोहरुलाई पनि जित्छन्, पीडाहरुलाई पनि जित्छन् । म चुुनावमा हारें केही छैन, अहिले श्रीमानको हौसलालाई जिताउन लागिपरेकी छु ।’
पुस २३ गोमाले मनोनयन दर्ता गराएकी थिइन् । कांग्रेस–एमालेको गठबन्धन भएकाले उनीहरुको पक्षमै दुईतिहाइभन्दा बढी बहुमत थियो । कांग्रेसबाट टिकट पाएका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा सांसद हुने पक्का भएकाले उत्साही थिए । तर, गोमा भने खासै उत्साहित थिइनन्, पार्टीले हार्ने चुनाव उठाएको भएर होइन, श्रीमान तीर्थ अस्पतालको बेडमा थिए ।
मनोनयन दर्ता गराएलगत्तै गोमा काठमाडौं हानिएकी थिइन्, श्रीमान तीर्थको मिर्गौला प्रत्यारोपणका लागि ।
जित्ने चुनावमा टिकट पाइनन्, हार्ने चुनावमा पनि पछि हटिनन्
२०८० माघ ११ गते नै भएको राष्ट्रिय सभाको चुनावमा गोमाले आकांक्षा राखेकी थिइन् । तर, उनले टिकट पाइनन् ।
नेपाली कांग्रेस, माओवादीसहितको ५ दलीय गठबन्धन हुँदा राष्ट्रिय सभामा जित पक्का थियो । त्योबेला माओवादीबाट आकांक्षीको लर्को नै लागेको थियो । अहिले भने उम्मेदवार उठ्नै नचाहने धेरै थिए ।
अघिल्लो राष्ट्रिय सभाको निर्वाचनमा उनले आकांक्षा राखे पनि पर्वतकी मनरुपा शर्माले टिकट पाइन् । गठबन्धनको मतले मनरुपा अहिले राष्ट्रिय सभा सदस्य छन् ।
मनरुपाले पनि युद्धमा पति गुमाएकी थिइन् र पर्वतमा चुनावमा हारे बेहोरेर पनि हिम्मत हारेकी थिइनन् ।
पार्टीमा योगदान गर्ने शहीद पत्नीले टिकट पाउँदा गोमाले पनि चित्त बुझाइन् । अहिले जित्ने अवस्था नभए पनि गोमालाई मौका जुर्यो र एकपटक हार्नकै लागि चुनावी मैदानमा उत्रिइन् ।
‘राजनीतिमा हारको अर्थ हुन्छ भनेर पार्टीको निर्णयलाई स्वीकारेकी हुँ,‘ गोमाले सुनाइन् ।
युद्धको यातनाले घाइते तीर्थ, आमाको मिर्गाैलाले बाँच्न संघर्षरत
गोमाका श्रीमान् तीर्थको ३ वर्ष अगाडिमात्रै दुवै मिर्गौलाले काम गर्न छाड्यो । पोखरामा होटल व्यवसायदेखि विभिन्न क्षेत्रमा संघर्ष गरिरहेका तीर्थले सबै छाडे । उनी भारतमा गएर मिर्गौला प्रत्यारोपण गराए ।

त्यो बेला ५० लाखको वरिपरी खर्च भएको उनका मित्र तथा नेकपा माओवादीका नेता हेमबहादुर थापा पराजुली (आमोद) बताउँछन् । त्योबेला पार्टी र नेताहरुले केही सहयोग गरे पनि सागरलाई बचाउन ठूलो खर्च भएको आमोदले सुनाए ।
भरतको पियरलेस अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलामा फेरि समस्या देखिएको थियो । नियमित चिकित्सकको परामर्श लिइरहेका तीर्थको प्रत्यारोपण गरेको मिर्गौलाले पनि काम गर्न छाडेछ । फेरि अर्को तनाव तीर्थ परिवारमा थपियो ।
चिकित्सकले भनेका थिए, ‘म्याच हुने मिर्गौला पाइने हो भने प्रत्यारोपण गरेर चलाउन सकिन्छ ।’ उनीहरुले धेरै सोधखोज गरे । परिवारका सदस्यहरुको पनि जाँच गर्दै जाँदा आमा टीकाकुमारी मिर्गाैला दिन मिल्ने चिकित्सकले बताए ।
आमा आफैं ७५ वर्षकी भइसकेकी थिइन् । छोरालाई धाप मार्दै आमाले भनिन्, ‘म त अब कति बाँचुला र बाबु, तँ चाहिँ यो संसारमा अझैं बाँच्नुपर्छ । म तलाइँ जीवन दिन्छु ।’
चिकिस्सकले आमाले मिर्गौला दिँदा दुबैको जीवन सहज रुपमा चल्न पनि सक्ने बताए । तर, पैसा त अघिल्लो पटक भारत पुगेर मिर्गौला प्रत्यारोपण गर्दा नै सकिइसकेको थियो । साथीभाइहरुले केही पैसा जुटाए, केही परिवारले जोडजाम गरे ।
चिकित्सकले आमाबाट तीर्थमा मिर्गाैला प्रत्यारोपण गर्न पुस २९ गतेको समय दिएका थिए । जन्म दिएकी आमाले मिर्गाैला प्रत्यारोपण केन्द्र भक्तपुरमा आफ्नो मिर्गौला पनि दिइन् र छोरा तीर्थको जीवनको कामना गरिन् । २/४ दिनपछि चिकित्सकले घरमै बसेर आराम गर्न भनेका थिए तर ४ दिन अगाडि तीर्थमा फेरि स्वास्थ्य समस्या देखियो ।
‘गुदद्वारबाट रगत बग्न थालेपछि भक्तपुरमै लगेका थियौं । तर, अस्पतालले बेड छैन भन्यो । अहिले काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचारकै लागि २ महिना अगाडि नै भक्तपुरमा २ वटा कोठामा भाडामा लिइएको हो,’ गोमाले सुनाइन् ।
७५ वर्षकी आमा टीका कुमारी कोठाकै बिस्तारामा छिन् । छोरालाई मिर्गौला दिँदा चिरिएको घाउका टाँका निकाल्नै छ । ‘उहाँको स्याहार पनि गर्न परिवारका अन्य सदस्य पनि हुनुहुन्छ र म पनि अस्पताल–कोठा गरिरहेकी छु,’ गोमाले भनिन्, ‘अझै कति दिन बस्नुपर्ने हो, पत्तो छैन ।’
उनका साथीहरु हेमबहादुर, राजु क्षेत्रीलगायतको नेतृत्वमा आर्थिक संकलनसमेत गरेर उनलाई सहयोग गरेका थिए ।
माओवादी युद्धमा होमिएका तीर्थ २०६१ सालमा कास्कीको भरतपोखरी डाँडागाउँबाट नेपाली सेनाको कब्जा परेका थिए । ‘त्यो रात तीर्थ र म एउटै खाटमा सुतेका थियौं । पालैपालो सेन्ट्री बसेका थियौं । एकाएक सेनाको घेरामा परेछौं, मसहित ४ जना घेरा तोडेर भाग्यौं । ४ जना गिरफ्तार परे । २ जना अहिले पनि बेपत्ता छन्,’ आमोदले भने, ‘गिरफ्तार पर्नेमध्ये एक जना तीर्थ पनि थिए र उनलाई फूलबारी ब्यारेक लगेर यातना दिइएको रहेछ ।’
पोखराबाट तीर्थलाई बुटवल लगिएको थियो । ‘तीर्थलाई यातना पनि यतिसम्म दिइएछ कि हिटरमा पिसाब फेर्न लगाएछ । त्यसैको असरले किड्नीमा हानेछ,’ थापाले भने, ‘पछि दुईवटै किड्नी फेल भए ।’
बेनी आक्रमणकी घाइते गोमा
२०५८ सालमा युद्धमा होमिँदा गोमा १६ वर्षकी थिइन् । घरबाट भागेर मुक्तिका लागि भन्दै माओवादी आन्दोलनमा लागेकी गोमाले जनमुक्ति सेनाको फर्मेसनमा प्लाटुन सहकमाण्डर हुँदै स्वास्थ्यकर्मीको भूमिकामा पाएकी थिइन् ।
स्वा

स्थ्यकर्मीको जिम्मेवारी सम्हाल्दै कम्पनी हेडक्वाटर अन्तर्गत २०६० चैत्र ७ गते बेनी आक्रमणको योजना बन्यो । बेनी आक्रमण नेतृत्व नन्दबहादुर पुन (पासाङ)ले गरेका थिए ।
बेनी आक्रमणमा १६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ जना विद्रोही पक्षका गरी ९६ जनाले ज्यान गुमाएका थिए । त्यो संख्या अझै बढी हुन सक्ने दाबी अहिलेसम्म पनि गरिन्छ ।
धादिङ, गोरखा, लमजुङ, कास्कीको डाँडडाँडै हुँदै म्याग्दीको मुना, ढोरपाटन हुँदै जनमुक्ति सेनाको टोलीले पूर्व रोल्पा, रुकुम पुगेर तालिमसँगै २ हप्ता बसेर योजना बनाएको गोमा सुनाउँछिन् । बरबाङ बेनी आइपुगेर राति सवा ११ बजे माओवादीले फायर सुरु गर्यो । सवा १२ बजे गोमालाई गोली लागिहाल्यो र उनी खोल्सामा खसिन् ।
माओवादी नेता हरि अधिकारी उनको नजिकै रहेछन् । उनैले ढुंगाको आड लगाएर गोमालाई राखिदिए । स्याङ्जाका पत्रकार अर्जुन काफ्लेले बोकेर उनलाई बेनी स्वास्थ्य चौकीमा उपचार गराए, उनलाई घुँडा मुनि गोली लागेर रगत बगिरहेको थियो ।
‘त्यसपछि एक महिनासम्म ढोरपाटनमा घाइते खुट्टा लिएर सेनासँग लुकामारी चल्यो । सिडिओसहित ५२ जना सुरक्षाकर्मी माओवादीले कब्जा गरेर ढोरपाटनको जंगल हुँदै ताराखोला निकालेको थियो । मलाई जुन दिनबाट गोली लाग्यो, सुरक्षाकर्मी र साथीहरुले बोकेर हिँडाएका थिए,’ गोमाले ती दिन सम्झिइन्, ‘खुट्टामा स्याउँ स्याउँ किरा परेका थिए, हिँड्दाहिँड्दै किरा झर्थे । अब मर्छिन् भनेर साथीहरुले खाल्डो खनेका थिए ।’
माओवादी नेता चक्रपाणि खनाल (बलदेव)ले सास हुँदासम्म छोड्न हुन्न भनेर पाल्पा हुँदै भैरहवा शिक्षण अस्पतालमा उपचार गर्न पठाएको गोमाले सुनाइन् । उपचारका क्रममा खुट्टा काट्नुपरेको र लगत्तै सेनाले गिरफ्तार गरेको उनले सुनाइन् ।
सेनाले कपिलबस्तु कारागारमा चलान गर्यो र शान्ति प्रक्रियासँगै उनी पनि रिहा भएकी थिइन् । शान्ति प्रक्रियाकै क्रममा उनलाई कृत्रिम खुट्टा प्रदान गरिएको थियो ।
‘खुट्टा गुमाए पनि ज्यान जोगाएँ, बाँच्ने हिम्मत जोगाइरहेकी छु’
माओवादी शान्ति प्रक्रियामा आएपछि गोमा अयोग्य लडाकुका रुपमा बर्हिगमित भइन् । सेनाको गोली लागेर ज्यान जोगियो तर एउटा खुट्टा नै काटेर फाल्नु परेपछि उनी अयोग्यतामा परिन् ।
शान्ति पक्रियामा आएपछि नै उनका जीवनमा धेरै उतारचढावहरु आए । माओवादी आन्दोलनसँग जोडिइरहिन् । त्यही आन्दोलनलाई सघाउन खुलेका मिडियामा आवद्ध भइन् । २०६३ सालमै स्वाभिमान दैनिकबाट पत्रकारिता थालेकी गोमाले २०६५ सालमा विवाह गरिन् । एक दशकभन्दा लामो समय पत्रकारितामार्फत नागरिकका आवाज बोलिन् । विशेषगरी माओवादी संघर्षका एजेण्डाहरु पत्रकारितामार्फत उठाइरहिन् । विभिन्न पुरस्कार पनि थापिन् ।
१० कक्षा पढ्दापढ्दै युद्धमा होमिएकी गोमाले समाजशास्त्रमा स्नातकोत्तर गरिन् । करारको सरकारी जागिर पनि खाइन् । परिवारमा आएका खटपट र अभावलाई सम्हालेर जोगाउँदै दुई सन्तानलाई हुर्काउँदै छिन् । अहिले वडामै स्वयंसेवा गरिरहेकी थिइन् ।
‘जीवनमा धेरै आरोह–अवरोह आए । मुक्तिका निम्ति हतियार उठाइयो । खुट्टा गुमाए पनि ज्यान जोगाएँ, बाँच्ने हिम्मत जोगाइरहेकी छु,’ गोमाले भनिन्, ‘दुई सन्तानको भविष्यका निम्ति संघर्षकै मैदानमा छु । सम्बन्धहरु प्नि अझै मजबुद बनाउनु छ । पद र अवसर भन्ने चित त अस्थायी न हुन्, कुन बेला आउँछ–जान्छ पत्तै हुँदैन, कहिले आफ्ना बसमा हुन्छन्, कहिले हुँदैनन् ।’
प्रतिक्रिया 4