१५ माघ, उदयपुर । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उदयपुर–१ मा राजनीतिक चहलपहल बढ्न थालेको छ । सबै दलका उम्मेदवारहरू मतदाता भेटघाट र छलफलमा व्यस्त हुन थालेका छन् ।
यो क्षेत्रमा लगातार नेपाली कांग्रेसले जित्दै आएको छ । यो क्षेत्रमा यसअघि कांग्रेस नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले जित्दै आएका थिए ।
यस पटक भने कांग्रेसले उदयपुर–१ मा उम्मेदवार परिवर्तन गरेको छ । कांग्रेसले डा. खड्कालाई परिवर्तन गरी पूर्वसभापति जिल्ला सभापति विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ । जसका कारण यो क्षेत्रको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा पनि जित निकालेका खड्काले यस पटक उम्मेदवार नबन्ने घोषणा गरेपछि कांग्रेसले विशेष महाधिवेशनको पक्षमा खुलेका बस्नेतलाई उम्मेदवार बनाएको हो ।
डा. खड्काले २०७९ को प्रतिनिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीको सहयोगमा जितेका थिए । तर यस पटक एकीकृत समाजवादी र माओवादी एउटै पार्टी बनेका छन् भने कांग्रेस र एमाले एकल प्रतिस्पर्धामा उत्रेका छन् ।
यता, नयाँ शक्तिको रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सशक्त दाबीसहित चुनावी मैदानमा छ । उदयपुर–१ मा १८ जनाले उम्मेदवारी दिएका छन् ।
यो क्षेत्रमा एमालेबाट बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापा, नेपाली कम्युनिस्ट पार्टीबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारशमणि गेलाल र श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई उम्मेदवार छन् ।
राप्रपाबाट सुवासचन्द्र खड्का, उज्यालो नेपाल पार्टीबाट अर्जुन तामाङ, एमालेबाट बागी देवराज रोकालगायतले उम्मेदवारी दिएका छन् । उदयपुर–१ मा यस पटक धेरैजसो दलका नयाँ अनुहार उम्मेदवार छन् ।
२०७९ को निर्वाचनमा कुन दलको मत कति ?
प्रत्यक्षतर्फ २०७९ सालमा खड्काले ३१ हजार २७० मत ल्याएर जितेका थिए । एमालेबाट पराजित मञ्जुकुमारी चौधरीले २८ हजार ८९१, राप्रपाका धुर्वकुमार रायमाझीले ३ हजार ९१५, राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले ३ हजार ४४४ मत पाएका थिए । त्यसमा खड्काको मत कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनको हो ।
समानुपातिक मतमा एमालेले २३ हजार ८३६, कांग्रेसले १९ हजार ४७६, माओवादी केन्द्र ९ हजार ७३९, राष्ट्रिय स्वतन्त्र पार्टी ७ हजार ३३७, एकीकृत समाजवादीले १ हजार ६२८ र राप्रपा४ हजार ३७५ मत पाएका छन् । यसमा श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी थपिएकाले प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ ।
कति छन् मतदाता ?
उदयपुर–१ मा तीन नगरपालिका पर्छन् । जसमा चौदण्डीगढी नगरपालिकामा पुरुष २० हजार ६६ र महिला २० हजार २८३ गरी जम्मा ४० हजार ३४९ मतदाता छन् ।
बेलका नगरपालिकामा पुरुष १७ हजार ५४० र महिला १६ हजार ६६० गरी ३४ हजार २०० मतदाता छन् भने त्रियुगा नगरपालिकामा ३३ हजार ८४६ पुरुष र ३४ हजार ४०७ महिला गरी ६८ हजार २५५ मतदाता छन् ।
यो क्षेत्रमा कुल मतदाता पुरुष ७१ हजार ४९२, महिला ७१ हजार ३५० र अन्य २ गरी जम्मा १ लाख ४२ हजार ८०४ छन् । यो क्षेत्रमा ५२ वटा मतदानस्थल र १६० मतदान केन्द्र तोकिएको छ ।
पुरानालाई सकस र नयाँलाई अवसर
उदयपुर–१ को पुरानो मतमा कांग्रेस एमाले नै बलिया छन् । तर अहिलेको लहर हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि कमजोर मान्न सकिँदैन । २०७९ को निर्वाचनमा रास्वपाको मत समानुपातिकतर्फ ७ हजारभन्दा बढी थियो ।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका चौधरी, कांग्रेसका बस्नेत, एमालेका थापा र रास्वपाका गेलालबीच प्रतिस्पर्धा हुने देखिन्छ । किरात र थारुको समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा श्रम संस्कृति पार्टीका राई र नेपाली कम्युनिस्ट पार्टीका चौधरी कांग्रेसका बस्नेत, एमालेका थापा र रास्वपाका गेलालको लागि चुनौती बन्न सक्छन् ।
प्रतिक्रिया 4