+
+
Shares

बुढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

अध्यक्ष ढकालले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण तत्काल अगाडि बढाउन आग्रह गरे।
  • ढकालले निजी क्षेत्रले जलविद्युत् आयोजनामा लगानी गर्न तयार रहेको र नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरिएको बताए।
  • उनले निजी क्षेत्रले तोकिएको समयमा, गुणस्तर र बजेटमा आयोजना सम्पन्न गर्ने गरेको र मेलामहोत्सवले स्थानीय उत्पादन प्रवर्द्धनमा भूमिका खेल्ने उल्लेख गरे।

१५ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औं धादिङ महोत्सव उद्घाटनमा महासंघ अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिए ।

उनले नेपालभरिका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रका तर्फबाट यस कम्पनी मार्फत लगानी गर्न आफूहरू तयार रहेको बताए ।

नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले जलविद्युत् विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताए ।

उनले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्र जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत उल्लेख गरे ।

उनले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेको बताए ।

‘गत भदौको जेनजी आन्दोलन क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको अवस्था थियो तर निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसाय मर्मत र पुनर्निर्माण गर्दै सञ्चालनमा समेत ल्याइसकेका छन्,’ उनले भने, ‘निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेको छ ।’

उनले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको बताए ।

‘निजी क्षेत्रले उत्पादन गरेको छ, पूर्वाधार निर्माण गरेको छ, सेवा दिएको छ, रोजगारी सिर्जना गरेको छ, राजस्व तिरेको छ तर यो निजी क्षेत्र किन सधैं उपेक्षित भएको छ ?,’ उनले प्रश्न गरे ।

अध्यक्ष ढकालले स्थानीय रूपमा आयोजना गरिने मेलामहोत्सवले स्थानीय उत्पादन प्रवर्द्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै यस्ता मेलामहोत्सवलाई महासंघले सदैव प्राथमिकतामा राख्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?