+
+
Shares

खराब कर्जा थपिँदा पनि बैंकहरूको नाफामा सुधार, खुद ब्याज आय बढ्यो ९ प्रतिशत  

कर्जा लगानी सुस्त भएको अवस्थामा पनि ब्याज आम्दानीमा सुधार गरेर बैंकहरूले खुद नफा ११ प्रतिशत बढाएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते २१:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको खुद नाफा ११ प्रतिशतले वृद्धि भएको छ।
  • बैंकहरूको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ भने खराब कर्जा र कर्जा नोक्सानी व्यवस्थाको रकम पनि बढेको छ।
  • नबिल बैंकले सबैभन्दा बढी ४ अर्ब ७५ करोड खुद नाफा कमाएको छ भने लक्ष्मी सनराइज बैंक नोक्सानीमा रहेको छ।

१५ माघ, काठमाडौं । चालु आर्थिक वर्ष दास्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको वित्तीय अवस्थामा सुधार देखिएको छ ।

कर्जा लगानी सुस्त भएको अवस्थामा पनि ब्याज आम्दानीमा सुधार गरेर बैंकहरूले खुद नफा ११ प्रतिशत बढाएका हुन् ।

बैंकहरूको आम्दानीको मुख्य स्रोत भनेको ब्याज आम्दानी हो । उनीहरूले कर्जा प्रवाह गर्दा ब्याज आम्दानी गर्छन् भने निक्षेप लिँदा खर्च हुन्छ ।

अर्थतन्त्रमा देखिएको सुस्तताका कारण कर्जाको माग बढ्न सकेको छैन । त्यसले गर्दा वित्तीय प्रणालीमा निक्षेप थुप्रिएको छ । वित्तीय प्रणालीको अधिक निक्षेप घटाएर ब्याजदरको लाभ बैंकहरूले चालु पहिलो त्रैमासमा लिन सफल भएका छन् ।

बैंकहरूको ब्याज खर्च घट्दा तथा असुली बढ्दा नाफामा सुधार आएको एक बैंकरले बताए ।

व्यवसाय अपेक्षा गरे अनुसार विस्तार नभए पनि विगतको असुलीमा आएको सुधारले ब्याज आम्दानी बढेको उनको भनाइ छ । ्

‘बैंकहरूको अन्य क्षेत्रको आम्दानीमा पनि सुधार आएको छ, तर सबैभन्दा ठूलो योगदान बैंकिङ गतिविधिबाट नै छ,’ उनले भने, ‘त्यसको मुख्य कारण भनेको असुलीमा देखिएको सुधार हो ।’

चालु आव सुरुवातमा असुलीमा केही समस्या देखिएपछि दोस्रो त्रैमासमा सुधार भएको ती बैंकरको भनाइ छ । दोस्रो त्रैमासमा खराब कर्जा बढेकाले कर्जा नोक्सानी व्यवस्थाको रकम बढेको उनले बताए ।

खराब कर्जा गत वर्ष पुसको तुलनामा बढे पनि गत असार अन्तिमको तुलनामा खासै फरक छैन । त्यसले गर्दा नयाँ खराब कर्जा नबढ्नु र असुलीमा सुधार भएकाले समग्र नाफा बढेको उनको तर्क छ ।

दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ११ प्रतिशतले बढेको छ । त्यसमा खुद ब्याज आम्दानी ९ प्रतिशत बढेको छ । बैंकहरूको कर्जा नोक्सानी व्यवस्थाको रकम पनि ३८ प्रतिशत बढेको छ । यस्तो रकम गत आव दोस्रो त्रैमासको तुलनामा ८ अर्बले थप भएको छ ।

चालु आव पुसम्ममा २० वाणिज्य बैंकले ३० अर्ब ५९ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आव सोही अवधिको तुलनामा ११.५० प्रतिशतले धेरै हो । गत आव पुस मसान्तसम्म बैंकहरूले २७ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

त्यसैगरी चालु आव सोही अवधिमा खुद ब्याज आम्दानी ९६ अर्ब ५ करोड रुपैयाँ छ । यो आम्दानी गत आव सोही अवधिको तुलनामा ९.३८ प्रतिशत धेरै हो । गत आव सोही अवधिमा ८७ अर्ब ८० करोड खुद ब्याज आम्दानी गरेका थिए ।

चालु आव दोस्रो त्रैमासमा बैंकहरूले फि तथा कमिसन आम्दानी र ट्रेडिङ मार्फत हुने आयमा पनि सुधार गर्दा नाफामा सुधार आएको हो ।

दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा बढेको छ । खराब कर्जा बढेसँगै कर्जा नोक्सानी पनि बढेको वित्तीय विवरणले देखाउँछ । गत  पुससम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा प्रतिशत (ग्रस) ५.०७६५ प्रतिशत छ । गत आव सोही अवधिमा ४.४८२ प्रतिशतमा सीमित थियो ।

दोस्रो त्रैमासमा कर्जा नोक्सानी व्यवस्था बापत रकम २८ अर्ब ४६ करोड छुट्याएका छन् । गत आव सोही अवधिमा २० अर्ब ५३ करोड  छुट्याएका थिए ।

चालु आव दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा गर्ने बैंकमा नबिल छ । नबिलले उक्त अवधिमा ४ अर्ब ७५ करोड खुद नाफा गरेको छ भने ८ अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेको छ ।

खुद ब्याज आम्दानीमा पनि नबिल बैंक नै पहिलो हो । तर, चालु आव दोस्रो त्रैमासमा लक्ष्मी सनराइज बैंक मात्रै नोक्सानीमा देखिएको छ । उक्त अवधिमा उसको नाफा २७ करोड ३६ लाख ऋणात्मक छ ।

चालु आव सोही अवधिमा हिमालयन बैंकको खराब कर्जा सबैभन्दा धेरै छ । पुससम्ममा बैंकको खराब कर्जा ७.९६ प्रतिशत छ । न्यून खराब कर्जा हुनेमा एभरेस्ट बैंक छ । एभरेस्ट बैंकको कुल खराब कर्जा ०.६८ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?