+
+
Shares

नेफ्स्कुनको वित्तीय विवरणमा फेरि जालझेल, २ अर्बको गैरबैंकिङ सम्पत्ति

संस्थाको वित्तीय अवस्था वास्तविकभन्दा राम्रो देखाउन खराब कर्जा, गैरबैंकिङ सम्पत्ति तथा कर्जा नोक्सानी व्यवस्था पालनामा जालझेल गरेको पुष्टि भएको हो ।

भुवन पौडेल भुवन पौडेल
२०८२ पुष ९ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले वित्तीय विवरणमा वास्तविकता लुकाएर खराब कर्जा र गैरबैंकिङ सम्पत्तिमा जालझेल गरेको छ।
  • लेखा परीक्षकलाई प्रभावमा पारेर संघले २०७८/७९ र २०७९/८० मा कर्जा नोक्सानी व्यवस्थामा कम छुट्याएर नक्कली नाफा देखाएको पाइएको छ।
  • संघको २०८१/८२ आर्थिक वर्षमा १ अर्ब ६४ करोड गैरबैंकिङ सम्पत्ति रहेको र ५० प्रतिशत मात्र नोक्सानी व्यवस्था गरिएको छ।

९ पुस, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले फेरि पनि वित्तीय विवरणमा वास्तविकता लुकाइ जालझेल गरेको छ ।

अघिल्ला वर्षहरूमा पनि खराब कर्जाबापत ‘प्रोभिजनिङ’ कम गरेर नक्कली नाफा देखाएको नेफ्स्कुनले यसपालि लेखा परीक्षकलाई नै प्रभावमा पारेर आफूअनुकूल प्रतिवेदन तयार गरेको भेटिएको हो ।

संस्थाको वित्तीय अवस्था वास्तविकभन्दा राम्रो देखाउन खराब कर्जा, गैरबैंकिङ सम्पत्ति तथा कर्जा नोक्सानी व्यवस्था पालनामा जालझेल गरेको पुष्टि भएको हो ।

विगत दुई वर्षसम्म कर्जा नेक्सानी व्यवस्था (एलएलपी) गर्नुपर्ने भन्दा कम गरेर नक्कली नाफा देखाएको नेफ्स्कुनले यसपालि भने यही कुरा लुकाउन गैरबैंकिङ सम्पत्ति सिधै सकार गरेको देखाएको छ ।

तर, त्यसरी गैरबैंकिङ सकार्दा नेपाल वित्तीय प्रतिवेदन मानले तोकेभन्दा आधा नोक्सानी व्यवस्था गरेको छ । साथै, सीमित मात्रामा भए पनि एलएलपी बुक गर्दा रिटेन अर्निङ ९० करोड रुपैयाँले ऋणात्मक छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा संघले १ अर्ब ६४ करोड रुपैयाँ बराबर धितो सकारी गैरबैंकिङ सम्पत्तिमा लेखांकन गरेको छ । साथै, संघले उक्त गैरबैंकिङ सम्पत्तिको ५० प्रतिशत मात्रै नोक्सानी व्यवस्था गरेको हो ।

संस्थाको लेखा परीक्षकले नै एनएफआरएसको ‘एक्सपेक्टेड क्रेडिट लस’ (ईसीएल) मोेडेल र सहकारी प्राधिकरणको निर्देशन अनुसार ‘इम्पेयरमेन्ट लस’ हेर्दा जुन धेरै हुन्छ, त्यसैलाई गणना गर्नुपर्ने उल्लेख गरेको छ ।

एनफआरएसमा सकार गरेको गैरबैंकिङ सम्पत्ति बापत शतप्रतिशत एलएलपी राख्नुपर्ने व्यवस्था छ । तर, राष्ट्रिय सहकारी प्राधिकरणको गत महिना मात्रै संशोधन गरेको निर्देशनका आधारमा नेफ्स्कुनले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणमै तलमाथि गरेको छ । यसरी संघको वित्तीय विवरण बनाउँदा नियम कानुनकै अपव्याख्या गरेको देखिन्छ ।

अघिल्लो आव २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन अनुसार संघले ४ अर्ब १७ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा नगरेको भन्दै लेखा परीक्षकले विपरीत राय दिएको थियो ।

यसबीच गत आव संघले कुनै पनि कर्जा अपलेखन गरेको छैन । कर्जा नोक्सानी व्यवस्थामा राखिएको कुनै रकम फिर्ता भए पनि विवरणमा देखिँदैन ।

संघले गत आव २०८१/८२ मा ५५ करोड ६८ लाख थप कर्जा नोक्सानी व्यवस्था गरेको छ । यस्तो अवस्थामा अझै पनि कर्जा नोक्सानी व्यवस्था बापत ३ अर्ब ६१ करोड रुपैयाँ राखेको देखिँदैन ।

तर, त्यो रकम प्रोभिजनिङ नै नगराइ लेखा परीक्षकले ‘शतप्रतिशत प्रोभिजनिङ भएको’ प्रतिवेदन तयार गरिदिएका छन् । यस सम्बन्धमा लेखा परीक्षक सीए राजन अधिकारीसँग कुरा गर्दा कर्जा असुली भएको र गैरबैंकिङ सम्पत्ति बढेकाले खराब कर्जा घटेको बताए ।  संघले अघिल्लो आवको तुलनामा कर्जा नोक्सानी गर्नुपर्ने अवस्था नभएको पनि उनले स्पष्ट पारे ।

संघमा राजनीतिक प्रभाव तथा सञ्चालकहरूको मनोमानीमा कारोबार गर्दा खराब कर्जा चुलिएको छ । आव २०७९/८० र २०८०/८१ मा लेखा परीक्षकले यही कारण ‘एडभर्स’ राय दिएका थिए ।

अझै अघिल्लो साल एडभर्स राय दिने लेखा परीक्षक त अधिकारी नै हुन् । तर, अवस्थामा खास सुधार नभए पनि २०८१/८२ मा सुधार भएको भन्दै कैफियत सहित प्रतिवेदन अहिले लेखा परीक्षकले दिएका छन् ।

यसरी लेखा परीक्षकलाई प्रभावमा पारेर कमजोरी लुकाउने प्रयास गर्दा संस्थामा रहेको २० अर्ब ६५ करोड रुपैयाँ बचत रकम नै जोखिममा पारेको स्पष्ट हुने नेफ्स्कुनका एक अधिकारीले बताए ।

‘अहिले तथ्यांक लुकाइ प्रतिवेदन तयार परेर बचतकर्तालाई भ्रममा राख्ने प्रयास गरिएको छ,’ ती अधिकारीले भने, ‘अनियमितता गर्ने अनि तथ्यांक लुकाउने समस्याले आगामी दिनमा झनै ठूलो समस्या आउने निश्चित छ ।’

आव २०७९/८० र २०८०/८१ मा संघको वित्तीय विवरण उपर लेखा परीक्षकले विपरीत अर्थात एडभर्स राय दिएको थियो । तर, गत आव केही सुधार देखिए पनि वित्तीय विवरणमा जालझेल देखिन्छ । गत आव पनि लेखा परीक्षकले संघको वित्तीय विवरणमा कैफियत देखाएको छ ।

आव २०७९/८० मा संघले सम्भावित कर्जा नोक्सानी व्यवस्थामा ५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ छुट्याउनु पर्ने भए पनि ४२ करोड ४२ लाख मात्रै छुट्याएको थियो ।

त्यसैगरी २०८०/८१ मा पनि संघले ४ अर्ब १७ करोड १० लाख ९० हजार कुल कर्जा नोक्सानी व्यवस्था आवश्यक भए पनि संघले जम्मा ५१ करोड ४० लाख १९ हजार मात्रै कर्जा नोक्सानी व्यवस्था गरेको थियो ।

२०८१/८२ मा संघले ५५ करोड ६८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ । हालसम्म संघको कर्जा नोक्सानी व्यवस्था बापत कुल रकम १ अर्ब ७ करोड पुगेको छ ।

संघले गत आव शतप्रतिशत कर्जा नोक्सानी छुट्याएको दाबी गरेको छ । संघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सुधार प्रयास गरिरहेको बताए । विगतको तुलनामा कर्जा असुली र धितो सकार बढेको तथा कर्जा नोक्सानी पनि तोकिए अनुसार नै गरिएको उनको दाबी छ ।

‘विगतका समस्या पूर्णरूपमा समाधान भएको भन्न मिल्ने अवस्था छैन, तर सुधार हुने क्रम जारी छ,’ ढकालले भने ।

आव २०८०/८१ अन्त्यमा ऋण असुली हुन नसकी विभिन्न संस्थाले दिएको धितो सकार गरी जम्मा ६६ करोड ६३ लाख ६० हजार रुपैयाँ बराबर गैरबैंकिङ सम्पत्ति थियो ।

आव २०८१/८२ मा १ अर्ब ६४ करोड ८० लाख थप भई २ अर्ब ३१ करोड ४३ लाख ६२ हजार बराबर कायम भएको छ । संघको गैरबैंकिङ सम्पत्ति कुल सम्पत्तिको ९.८८ प्रतिशत हो ।

चालु आवमा गैरबैंकिङ सम्पत्ति व्यवस्थापनलाई प्राथमिकता दिने छुट्टै इकाइ स्थापना गरेर काम गर्दै आएको संघले जनाएको छ ।

२०८२ कात्तिक मसान्तसम्म १८ करोड ८८ लाख बराबर गैरबैंकिङ सम्पत्ति बिक्री भइसकेको संघले जनाएको  छ । २०८१/८२ का लागि गैरबैंकिङ सम्पत्तिमा ५० प्रतिशत नोक्सानी व्यवस्था गरे हुने राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्देशन अनुसार १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ सोही शीर्षकमा छुट्याएको छ ।

गत आव संघ ९० करोड ५९ लाख रुपैयाँ नोक्सानीमा छ । अघिल्लो आव संघले १२ करोड ८७ लाख रुपैयाँ खुद नाफा देखाएको थियो । १ अर्ब ४३ करोड चुक्ता पूँजी रहेको संघको सञ्चिति कोषमा ५३ करोड रुपैयाँ छ । गत आवको नाफा बराबर संघको रिटेन अर्निङ ऋणात्मक छ ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?