
News Summary
Generated by OK AI. Editorially reviewed.- गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाको नाफा १३ प्रतिशतले बढेर ६९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
- बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ४.६२ प्रतिशत पुगेको छ जुन अघिल्लो आवको ३.८६ प्रतिशतभन्दा बढी हो।
- गत आव गैरबैंकिङ सम्पत्ति ५० अर्ब ५५ करोड र कर्जा अपलेखन ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो आवभन्दा धेरै हो।
६ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाको नाफामा सुधार देखिए पनि समस्या भने जस्ताको त्यस्तै रहेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढेसँगै समस्या समाधानको दिशामा नगएको देखिन्छ ।
गत आव बैंक तथा वित्तीय संस्थाको औसत खराब कर्जा ४.६२ प्रतिशत पुगेको छ । यस्तो दर अघिल्लो आवमा ३.८६ प्रतिशत थियो । त्यसैगरी गैरबैंकिङ सम्पत्ति करिब १५ अर्बले बढेको छ भने कर्जा अपलेखन दोब्बरभन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
वित्तीय क्षेत्रको खराब कर्जा, गैरबैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढेको हुँदा नाफामा सुधार आएकै आधारमा वित्तीय प्रणालीमा सुधार भएको भन्न नमिल्ने बैंकहरू बताउँछन् ।
‘वित्तीय प्रणालीको स्वास्थ्य थप बिग्रिने अवस्था देखिँदैन, तर विगतको तुलनामा सुधार आएको भन्ने अवस्था छैन,’ एक पुराना बैंकरले बताए ।
खराब कर्जा, गैरबैंकिङ सम्पत्ति र कर्जा अपलेखन झनै बढ्नु भनेको असुलीमा सुधार भएको नभई समस्या झनै थपिएको बुझिने उनको भनाइ छ । तर, पछिल्लो समय आर्थिक गतिविधिमा केही सुधार आएको हुनाले आगामी दिनमा सुधार हुने उनको तर्क छ ।
कर्जा लगानी तथा कमिसन आम्दानीमा आएको सुधारले आर्थिक गतिविधि वा बैंक तथा वित्तीय संस्थाको कारोबार बढेको स्पष्ट हुने उनको बुझाइ छ ।
बैंक तथा वित्तीय संस्थाले गत आव २०८१/८२ मा ६९ अर्ब ८६ करोड रुपैयाँ बराबर खुद नाफा गरेको केन्द्रीय बैंकले जनाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १३ प्रतिशत धेरै हो । अघिल्लो आव २०८०/८१ मा ६१ अर्ब ८२ करोड खुद नाफा गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाको यो नाफामा गैरबैंकिङ सम्पत्ति, कर्जा अपलेखन र नोक्सानी व्यवस्था फिर्ताबाट भएको आम्दानीको योगदान धेरै छ ।
गत आव बैंकहरूको नाफामा देखिएको सुधार जग्गा सकार गर्ने सीमा बैंक तथा वित्तीय संस्थालाई हटेपछि गैरबैंकिङ सम्पत्ति बढेको हो ।
त्यसैगरी, कर्जा नोक्सानी व्यवस्थामा केन्द्रीय बैंकले गरेको सहजीकरण र घरजग्गा सम्बन्धी व्यवस्थामा अपनाएको लचकताले बैंकहरूलाई कर्जा अपलेखन समेत सहज भएपछि नाफामा सकारात्मक प्रभाव परेको हो ।
अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढ्न अझै पनि सकेको छैन । कोरोना महामारी र अर्थतन्त्रमा आएको मन्दीले बिगारेको बैंकहरूको कर्जा आर्थिक गतिविधिमा सुधार आउन नसक्दा असुली हुन सकेन ।
त्यसपछि गत आव बैंकहरूले कर्जा लगानीभन्दा पनि पुरानो असुली गर्ने र खराब कर्जाको अनुपात घटाउन जोड दिएका थिए । तैपनि बैंकहरू त्यसमा सफल भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँदैन ।
गत आव बैंक तथा वित्तीय संस्थाको कुल गैरबैंकिङ सम्पत्ति ५० अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको तुलनामा करिब ४० प्रतिशतले धेरै हो । अघिल्लो आव गैरबैंकिङ सम्पत्ति ३५ अर्ब ५० करोड बराबर थियो ।
त्यसैगरी गत आव चैतसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा अपलेखन ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको तुलनामा १ सय १६ प्रतिशत धेरै हो । अघिल्लो आव ४ अर्ब २ करोड बराबर कर्जा अपलेखन गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाले कर्जा असुली नभए सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्छन् । संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभए आफैंले सकार गरी गैरबैंकिङ सम्पत्तिमा देखाउनुपर्छ ।
गैरबैंकिङ सम्पत्ति समेत बिक्री गर्न नसकेको अवस्थामा त्यसलाई अपलेखन गर्ने व्यवस्था छ । कर्जा सीधै अपलेखन गर्न पनि सकिन्छ । गैरबैंकिङ सम्पत्तिमा रूपान्तरण गरेर पनि अपलेखन गर्न सकिन्छ ।
कर्जा अपलेखन गर्दा बैंक तथा वित्तीय संस्थाले कर्जा खराब वर्गमा परी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था भइसकेको हुनुपर्ने व्यवस्था छ ।
कर्जा असुलीका लागि प्रचलित ऐन तथा नीति बमोजिम धितो सुरक्षणको लिलाम बिक्री प्रक्रिया सम्पन्न गरेको हुनुपर्छ । साथै, कर्जाको धितो सुरक्षण लिलाम बिक्री हुन नसकेको अवस्थामा अनिवार्य धितो सकार गरी कर्जा अपलेखन गर्न सक्ने व्यवस्था छ ।
प्रतिक्रिया 4